काठमाडौँ — प्रेमका स्वरुपहरु कति होलान् ? किशोरकालको प्रेम, वयस्क हुँदा हुर्किने प्रेम अनि मानविय भावना सहितको प्रेम । प्रेमका यस्तै अनेक स्वरुपको कथा हो- सेतो सिउँदो । जहाँ मानवीय प्रेमका अतिरिक्त प्रकृति र जीवनजन्तुसँगको प्रेमलाई पनि सजीव ढंगले देखाइएको छ ।
सुन्दरीजलको प्राकृतिक मनोरम दृश्यलाई मुग्ध हुनेगरी सुरु भएको उपन्यासको केन्द्रमा छिन्, सन्ध्या । उपन्यासकार संगीता स्वेछाले सुन्दर किसिमले उपन्यासका प्रत्येक पात्रलाई प्रेमको मालामा उनिदिएकी छन् । सायद उनले प्रेमबिना जीवनको अर्थ छैन भन्ने भाव प्रकट गरेको जस्तो देखिन्छ ।
उपन्यासकी प्रमुख पात्र सन्ध्याले खरायोसँग देखाएको प्रेमलाई बडो बेजोड ढंगले देखाइएको छ । यसले जनावरसँग पनि मान्छेको अटुट प्रेम हुन्छ, त्यसकारण प्रेमले न जनावर भन्छ न त वस्तु भन्ने झल्काएको छ । प्रेम अज्ञात, अबुझ अनुभूति हो, कहिले कहाँ अवतरण हुन्छ, कहिले कहाँ हराउँछ ।
प्रेममा पूर्ण सम्पर्णको भाव हुन्छ । प्रेम निसर्त दान हो, जहाँ सन्ध्याले खरायोसँग त्यस्तै भाव देखाएकी छिन् । खरायोप्रतिको उनको अनुरागले प्रेम भनेको सर्मपण नै हो भन्ने झल्को मिल्छ ।
उपन्यासको सुरुवातमा सन्ध्या र विकासबीचको गहिरो प्रेमलाई पनि देखाइएको छ । मानिसको जीवनमा रोग, भोग, शोक र मृत्यु समयका विभिन्न कुइनेटामा झेल्नैपर्ने शाश्वत सत्य हुन् । यही कुइनेटाबाट गुज्रिरहेका विकासलाई एक दिन थाहा हुन्छ, ब्लड क्यान्सर भएको । यही रोगसँग जुध्दाजुध्दै उनको २१ वर्षको उमेरमा मृत्यु हुन्छ ।
त्यसपछि सुरु हुन्छ सन्ध्याको अँध्यारो संसारको यात्रा । विक्षिप्त उनले आफूले सँगालेका सपना ऐनासरि फुटेको अनुभव गर्छिन् ।
अनेक अप्ठ्याराबीच भीरमा फुलेको फूलजस्तो थियो, सन्ध्या र विकासको प्रेम । तर निष्ठुर समयले त्यो फूल चुँडिदियो । त्यसपछि सुरु भयो सन्ध्याको असन्तुलित जीवन यात्रा ।
उपन्यासले प्रेम आकर्षणको कुरा मात्रै नभएर मानिसको जीवनको भरोसा र आशाको दियो हो भनेर बुझाउन खोजेको छ । अनि सन्ध्याको प्रेमकथामार्फत प्रेम टुटेपछि मानिसको जीवनमा केसम्म हुन सक्छ भनेर देखाउन खोजिएको छ ।
विकासको मृत्युपछि सन्ध्याको जीवनमा आइपरेका अनेक नौवत पढ्दा कमलो मन हुने पाठकको हृदय पक्कै पनि पग्लिन्छ । अकस्मात् आएको समयको हुरीले निभेको प्रेमको उज्यालो सम्झेर दुःखपूर्ण समय बाँचरहेकी सन्ध्याको जीवनलाई उपन्यासले पछ्याएको छ । उनको जीवनमा दुःखको घाउ बिर्संदै आएका नयाँ गोरेटो उपन्यासमा देखाइएको छ ।
आफूलाई सम्हाल्दै अघि बढिरहेका बेला सन्ध्याको जीवनमा फेरि अर्को तुफान आउँछ । सन्ध्याकी काकीले जीवनसँग उनको बिहे गरिदिएपछि नयाँ परिस्थितिमा निर्माण हुन्छ । मनले नरोजेको तर परिवारले रोजेको मान्छेसँग के सन्ध्या खुसी हुन सक्छिन् ? बीचमै खोसिएको प्रेमको चोट निको पार्दै गरेकी सन्ध्याले यस्तो समयमा कसरी आफूलाई अघि बढाउँछिन् ? उपन्यासमा मसिनोसँग केलाउने कोसिस गरिएको छ ।
अन्जान जीवनले के सन्ध्यालाई पत्नीको रुपमा स्वीकार्छन् ? के उनको उद्देश्य एउटा नारीलाई माया गर्नु थियो ? उपन्यासमा एकपछि अर्को मोड आइपुग्छन् । यस्तो मोडमा आइपुग्छ, जीवनले सन्ध्यालाई मुम्बईको कोठीमा लगेर बिक्री गरिदिएको कथा ।
एउटी नारी पात्रको जीवनमा आइपरेका अनेकन हन्डर र तीसँग जुध्न उनले गरेका प्रयत्नको कथा नै यो उपन्यास हो । उपन्यासको प्लट ठूलो भएकाले पाठहरुलाई बेलाबेला अत्यास त लाग्न सक्छ तर कथामा आउने एकपछि अर्को घुम्तीले खुलदुली भने बनाइराख्छ ।
नारकीय कोठीबाट सन्ध्याले निस्कन गरेको कोसिस र त्यसपछि उनको जीवनमा आएका नयाँ मोड एकपछि अर्को दृश्यझैं आइरहन्छन् । बम्बईको कोठीबाट मृत्युलाई जितेर एक दिन सन्ध्या उम्किन सफल पनि हुन्छिन् ।
