कला साहित्य उत्सव : ‘राजनीतिक संकटले निम्त्यायो पर्यावरणीय संकट’

फाल्गुन १६, २०८१

पर्वत पोर्तेल

Kala Sahitya Utsav: 'Political crisis led to environmental crisis'

झापा — झापामा जारी कला साहित्य उत्सवको बिहीबार सम्पन्न ‘राजनीतिको पर्यावरण’ सत्रका सहभागीले राजनीतिक संकटले पर्यावरणीय संकट निम्त्याएको टिप्पणी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ, एमाले नेता उषाकिरण तिमल्सेना र नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष मानुषी यमी भट्टराईले नेपालमा जलवायु नीति निर्माणको अवस्था, राजनीतिक हस्तक्षेप र दीर्घकालीन समाधानका सम्भाव्य विकल्पहरूबारे सत्रमा छलफल गरेका थिए।

उनीहरूले दलहरूको नीति निर्माण प्रक्रियाको आलोचना गर्दै जलवायु परिवर्तन, प्रदूषण, र प्राकृतिक स्रोतहरूको अनियमित दोहन रोक्न प्रभावकारी निर्णय लिनुपर्ने आवश्यकता औंल्याए । ‘नेपालको पर्यावरणीय संकटको प्रमुख कारण अपूरा राजनीतिक निर्णयहरू हुन् । दलहरूले प्रभावकारी नीति निर्माण गर्न नसक्दा समस्या जटिल बन्दै गएको छ,’ प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री श्रेष्ठले भनिन्, ‘गम्भीर र संवेदनशील विषयहरूलाई समाधान गर्न दलहरूले आफ्नो दायित्वबाट पन्छिन मिल्दैन तर उनीहरू नै जिम्मेवारीबाट पछि हटिरहेका छन् ।’

एमाले नेता तिमल्सेनाले वर्तमान दलसम्बन्धी व्यवस्थामा सुधार आवश्यक रहेको बताउँदै भनिन्, ‘नेताहरूले दीर्घकालीन सोच राख्नुभन्दा व्यक्तिगत र दलगत स्वार्थका आधारमा नीति बनाउने प्रवृत्ति रहँदा दिगो विकास सम्भव छैन ।’ उनले पार्टीका कार्यकर्ताहरूलाई खुला रूपमा आलोचनात्मक चेत राख्नुपर्ने आवश्यकता रहेको बताइन् ।

समाजवादीकी उपाध्यक्ष मानुषी यमी भट्टराईले वातावरणीय समस्या समाधानका लागि दलीय सहकार्य र दीर्घकालीन नीति आवश्यक रहेको बताइन् । उनले चेतावनी दिँदै भनिन्, ‘यदि अबका राजनीतिक निर्णयहरू दिगो विकास केन्द्रित भएनन् भने भविष्य झनै संकटग्रस्त बन्नेछ ।’

‘कृषि : खाना कस्तो ? नाफा कति ?’ सत्रमा कृषिविज्ञ कृष्णप्रसाद पौडेल, स्वास्थ्यकर्मी डा. अरुणा उप्रेती, पत्रकार आमोद प्याकुरेलसँगको छलफललाई पत्रकार केदार शर्माले सहजीकरण गरे । पौडेलले नेपालमा दिगो कृषि, खाद्य सुरक्षाका चुनौतीहरू तथा स्थानीय खाद्य प्रणालीलाई प्रवर्द्धन गर्ने उपायबारे धारणा राखे ।

डा. उप्रेतीले विषादीयुक्त खाद्य पदार्थका समाज नै विकृत भएको चर्चा गर्दै यसले सिंगो राजनीतिलाई नै चुनौती दिएको बताइन् । उनले स्वस्थ कृषि प्रणाली अपनाउनुपर्ने आवश्यकता औंल्याइन् । प्याकुरेलले खाद्य प्रणालीमा व्यापारिक लाभभन्दा पोषणलाई प्राथमिकता दिनुपर्ने तर्क राखे ।

मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेती, संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी, स्वतन्त्र पत्रकार चन्द्र किशोरबीच ‘स–साना प्रलयः सामना कसरी ?’ सत्रमा अन्तरसंवाद भयो । सविन निङ्लेखुले सहजीकरण गरेको यो सत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न स–साना विपत्तिहरूबाट नेपालले भोगिरहेको संकटबारे चर्चा भयो ।

डा. सुवेदीले बढ्दो वायु प्रदूषण स्वास्थ्यका लागि गम्भीर चुनौती भएको बताए । चन्द्र किशोरले पत्रकारिताले पर्यावरणीय मुद्दामा सशक्त भूमिका खेल्नुपर्ने धारणा राखे । त्यस्तै ‘विद्यालयको पर्यावरण’ सत्रमा ‘टिच फर नेपाल’ का सहसंस्थापक तथा पूर्वशिक्षामन्त्री शिशिर खनाल, शिक्षक नमुना निरौला दाहाल, ‘स्मार्ट माइन्ड्स’ का निर्देशक पर्शुराम निरौलाले बहस गरे ।

छलफलको सहजीकरण सन्दीपकुमार दाहालले गरे । खनालले विद्यालयहरूमा भौतिक पूर्वाधार मात्र सुधारेर पर्याप्त नहुने बताउँदै सिकाइ वातावरण सुधार्न आवश्यक रहेको औंल्याए । ‘विद्यालय बालबालिकाको समग्र विकासको थलो हो । खेल मैदान, स्वच्छ पिउने पानी, पोषणयुक्त खाना र प्रभावकारी सिकाइ विधिहरू सुनिश्चित गर्नु शिक्षाको गुणस्तर सुधारका आधारभूत पक्ष हुन्,’ उनले भने ।

शिक्षिका नमुना निरौलाले विद्यालयमा पर्यावरण शिक्षाको प्रभावबारे चर्चा गर्दै भनिन्, ‘शिक्षाका माध्यमबाट बालबालिकालाई वातावरण संरक्षणप्रति संवेदनशील बनाउनु आवश्यक रहेको छ ।’ स्मार्ट माइन्ड्सका निर्देशक पर्शुराम निरौलाले विद्यालय व्यवस्थापन, शिक्षक प्रशिक्षण, र पर्यावरण शिक्षासँग सम्बन्धित नीति निर्माणका चुनौतीबारे विचार राखे । ‘नेपालका अधिकांश विद्यालयमा वातावरणीय शिक्षा पाठ्यक्रममा त समावेश छ तर यसको प्रभावकारिता अझै कमजोर छ,’ उनले भने ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully