‘ज्ञान निर्माणमा रैथाने ज्ञान समावेश गरिनुपर्छ’

फाल्गुन १५, २०८१

कान्तिपुर संवाददाता

”Knowledge should be included in knowledge creation”

पोखरा — अन्तर्राष्ट्रिय व्यापार बजारमा नेपालको उपस्थिति निकै कमजोर छ । देश व्यापार घाटामा जानुमा कमजोरी के भइरहेको छ ? प्रयास कता असफल भइरहेको छ ? नेपाली रैथाने वस्तुले अन्तर्राष्ट्रिय बजारमा स्थान नपाउँदा पनि असर गरेको संयुक्त राष्ट्र संघका आर्थिक तथा दिगो विकास सल्लाहकार सुभाष नेपाली बताउँछन् । 

बिहीबारदेखि पोखरामा सुरू भएको १२औं नेपाल लिटरेचर फेस्टिभलको ‘रैथाने ज्ञानको विज्ञान’ सत्रमा बोल्दै उनले भने, ‘अहिले व्यापारको घाटा छ । यसमा हेर्दा किन त्यस्तो भएर हेरौं भने आयात गर्ने वस्तु र निर्यात गर्ने वस्तु हेरौं भने हाम्रो रैथाने ज्ञानले अन्तर्राष्ट्रिय बजारमा कुनै पनि किसिमको ज्ञान पाएको देख्दैनौं ।’

अन्तर्राष्ट्रिय बजारमा मात्र नभई नेपाली बजारमा पनि रैथाने ज्ञान र विषयवस्तुले बजारको पाएको छ वा छैन भन्ने पनि प्रश्नको विषय रहेको उनले सुनाए । कतिपय अवस्थामा नेपालमा उत्पादित वस्तुले अन्तर्राष्ट्रिय बजारमा स्थान पाए पनि त्यसबाट नेपाली जानकार नभएको सुनाए । अस्ट्रेलियामा निर्यात हुने ‘काइँलीको अचार’को उदाहरण दिँदै नेपालको उत्पादनले बजारमा पहिचान र स्थान पाएको छ छैन यसबाट थाहा हुने उनले सुनाए । 

त्रिभुवन विश्वविद्यालयको मानवविज्ञान विषयका प्राध्यापक सुरेश ढकालले आफनो ज्ञानभन्दा आयातित ज्ञानमा बढी विश्वास गर्ने समस्या भएको सुनाए । प्रतिकुल अवस्थामा बालीमा किरा लाग्ने वा नलाग्ने थाहा हुनु पनि रैथाने ज्ञान रहेको बताउँदै यसको सम्मान गर्दै प्रवर्द्धनमा जोड दिनुपर्ने उनले बताए । ‘रैथाने ज्ञान भनेको लोकलको कुरा भयो । लोकल भनेको मान्छेको ज्ञानको कुरा भयो । त्यो ज्ञानलाई सम्मान गर भनेको हो,’ उनले भने, ‘प्रतिकूल अवस्थामा कसरी धान उत्पादन गर्न सकिन्छ । बालीहरुमा किरा लाग्दैन भनेर थाहा पाउने पनि रैथाने ज्ञान हो । त्यो महत्त्वपूर्ण कुरा हो । केन्द्रमा रैथानेलाई सम्मान गर्ने कुरा प्रवर्द्धन गर्नुपर्छ ।’ यस्तै उनले समावेशिताको कुरा गरिरहँदा रैथाने ज्ञानको विषयमा पनि समावेशिता जोड्नुपर्ने बताए । 

रैथाने ज्ञानलाई बचाउन विश्वविद्यालय नै खोल्नुपर्छ भन्ने मत राख्ने गीता चौधरी सरकारले प्रत्येक वर्ष विभिन्न कार्यक्रम र योजना अगाडि ल्याए पनि सिप ज्ञान पुस्तान्तरण गर्ने विषयमा ध्यान नभएको बताउँछिन् । ‘प्रत्येक साल सरकारले विभिन्न योजनाहरु ल्याउँछ । कुनै कार्यक्रममा जाँदा तपाईंहरु आफनो वेंशभूषा लगाएर आउनुस् भन्छ । तर मैले लगाएर बसेको कपडा गहनाहरु ९९ प्रतिशत नयाँ पुस्ताले त्यो कुरा सिलाउन जान्दैनन्,’ उनले भनिन् । पोशाक लगाए पनि पोशाक बारेको ज्ञान र सिपको जानकारी हुनुपर्ने अभियन्ता चौधरीको भनाइ छ । फेस्टिभलको पहिलो दिन अलिमियाँ कक्षमा भएको ‘रैथाने ज्ञानको विज्ञान’ सत्रमा सहजकर्ता सीता मादेम्बा थिइन् । 

कान्तिपुर

Link copied successfully