साहित्यसुधा नेपालको वार्षिकोत्सव : पोखरेल र पौडेल सम्मानित

फाल्गुन १०, २०८१

कान्तिपुर संवाददाता

Sahitya Sudha Nepal Anniversary: ​​Pokharel and Poudel honored

काठमाडौँ — साहित्यसुधा नेपालको छैटौँ वार्षिकोत्सवको अवसरमा दुई स्रष्टा सम्मानित भएका छन् । नेपाल प्रज्ञाप्रतिष्ठान कमलादी काठमाडौँमा शनिबार आयोजित कार्यक्रममा यस वर्षको 'हरिभक्त साहित्यसुधा सम्मान- २०८१,' कवि दिव्यलक्ष्मी पोखरेल र 'केवलपुरे किसान साहित्यसुधा सम्मान तथा पुरस्कार-२०८१' बाट पोषराज पौडेल सम्मानित भएका हुन् ।

उनीहरुलाई कवि नवराज लम्सालले नगद र प्रमाणपत्र हस्तान्तरण गरे । पोखरेलले औपचारिक शिक्षाबिना नै छन्दमा कविता सिर्जना गरेर कृति प्रकाशन गरेका छन् भने पौडेलका दर्जनौं कृति प्रकाशित छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कवि लम्सालले समाज र देशलाई केही दिन सक्ने साहित्यको सिर्जना गर्न साधनामा निरन्तर लाग्नुपर्नेमा जोड दिए । उनले जस्तो बोलिन्छ त्यस्तै जीवन बाँच्न सकियो भने सार्थक हुने भन्दै सम्मानित स्रष्टाहरुलाई बधाई दिए । 

कार्यक्रममा संस्थाकी अध्यक्ष कल्पना काफ्ले, प्रा. रामप्रसाद ज्ञवाली, प्रा.देवी नेपाल, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, अध्यात्म चिन्तक वरिष्ठ  साहित्यकार हरिभक्त सिग्देल, प्रा.गोविन्दमानसिंह कार्की, वरिष्ठ साहित्यकार गीता त्रिपाठी, सामालोचक अशोक थापा, लिलाध्वज साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, पत्रकार लक्ष्मण वियोगी, जरा फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाईं, साहित्यकार राधेश्याम लेकाली, महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने, नारी महाकाव्यकार सीता भट्टराई, साहित्यकार ज्योति जंगल,चाँगुनारायण साहित्य समाजका अध्यक्ष लालबहादुर भुजेल, गजलकार सुरेश सुवेदीलगायत उपस्थित थिए । 

कान्तिपुर

Link copied successfully