निमेष अविरलको ‘नदीको यात्रा’ सार्वजनिक

फाल्गुन ७, २०८१

आनन्द गौतम

Nimesh Aviral's 'Journey to the River' released

ताप्लेजुङ — सिरिजङ्गा गाउँपालिका-४ तेल्लोकका कवि निमेष अविरल (रुकमान थेबे) को ‘नदीको यात्रा’ कविता सङ्ग्रह लोकार्पण भएको छ । दुई खण्डमा लेखिएको १७० पृष्ठको पुस्तकको कञ्चनजङ्गा साहित्यिक प्रतिष्ठानले बुधबार लोकार्पण गरेको हो ।

सदरमुकाम फुङ्लिङमा आयोजित कार्यक्रममा साहित्यकारहरूले लोकार्पणसँगै कविता वाचन गरेका थिए । दुई खण्डको पुस्तकको पहिलो खण्डमा ५४ वटा गद्य कविता र दोस्रोमा ३२ वटा गीति गरी ८६ वटा कविता छन् । मातापिताको नाममा अविरलले प्रकाशन गरेको यो पहिलो कृति हो । 

कविता संग्रह अग्रज साहित्यकार तथा सङ्गीतकार भरत गुरुङलगायतले लोकार्पण गरेका थिएभनें पाँचथरका कवि दुःखी महल तिम्सिना र ताप्लेजुङका लेकाली कान्छा मुक्कुमले समिक्षा गरेका थिए ।

संग्रहमा देशभक्ति, राजनीतिक परिवेश, सामाजिक परिस्थितिजस्ता भावलाई चित्रित गरिएको छ । धरानका मेयर हर्क साङपाङदेखि गाउँमा टाँगिने दलका झण्डाका विषयमा व्यङ्ग्य गरिएको छ ।  

शिक्षक पेशामा आबद्ध अविरलले विद्यालय र घर व्यवहारबाट बचेको समयलाई साहित्य सिर्जनामा लगाएको उल्लेख गरे । पहिलो कृति मार्फत जिल्लाको साहित्य क्षेत्रमा जोडिएको उनले बताए । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully