हिमवत‍्खण्ड कला–साहित्य–संस्कृति सम्मिलनको तयारी तीव्र !

माघ २४, २०८१

कान्तिपुर संवाददाता

Preparations for Himawatkhand Art-Literature-Culture conference are fast!

काठमाडौँ — हिमवत‍्खण्डका नेपाली भाषीको भाषा, साहित्य, कला तथा संस्कृतिका बारेमा विचार–मन्थन गर्ने उद्देश्यले ‘हिमवत‍्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ आयोजना हुने भएको छ । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानको आयोजनामा चैत १ गतेदेखि ३ गते (१४–१६ मार्च २०२५) सम्म काठमाडौँमा सम्मिलन आयोजना हुने भएको हो ।

सो सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष तथा सम्मिलन संयोजक डा. विजय सुब्बाले हिमवत‍्खण्डमा उद्भव भएका मानव सभ्यता र सांस्कृतिक वैभवहरूका साथै यस भू–खण्डमा बसोबास गर्ने विभिन्न भाषा–भाषीका विभिन्न संस्कृति, सभ्यता र ज्ञानपरम्परालाई आत्मसात् गर्दै यहाँका विविध जातजाति तथा समुदायबीच सांस्कृतिक आदान–प्रदान गर्ने उद्देश्य रहेको बताए ।

संस्कृति, सभ्यता र ज्ञानपरम्पराका सम्बन्धमा प्राज्ञिक विमर्श गर्ने, तिनको खोज–अन्वेषण, अध्ययन–अनुसन्धान, संरक्षण, संवद्र्धन र प्रवर्द्धन गर्ने, बहुभाषिक एवं बहुसांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाई हिमवत‍्खण्डका संस्कृति र सभ्यताप्रति गौरवको भावना जगाउने, सामाजिक एकता र सद्भावलाई भावनात्मक र व्यावहारिक रूपमै सुदृढ तुल्याउँदै जाने उद्देश्यले ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन–२८१’ आयोजना गर्न लागिएको  संयोजक सुब्बाले बताए ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा समुद्घाटन हुने सम्मिलनमा मुलुकका सातवटै प्रदेशका साथै भारत (सिक्किम, पश्चिम बंगाल, असम, मणिपुर, मेघालय, उत्तराञ्चल आदि), चीन, बंगलादेश, म्यानमार, भुटान, थाइल्यान्डबाट नेपाली लोकसंस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुत गरिनेछ ।

यसका साथै प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा ‘हिमवत‍्खण्ड यसको महिमा र लोकसंस्कृति’का सम्बन्धमा, नेपालऋषि प्राज्ञ डा. जगमान गुरुङद्वारा ‘हिमवत‍्खण्डको सांस्कृतिक वैशिष्ट्य’का सम्बन्धमा र सिक्किमका पूर्वमुख्यमन्त्री तथा वरिष्ठ साहित्यकार पवन चाम्लिङद्वारा ‘हिमवत‍्खण्डमा नेपाली भाषा तथा नेपाली लोकसंस्कृतिको अवस्था’का बारेमा विशेष प्रवचन दिने कार्यक्रम रहको छ । डा. सुब्बाले भने, 'यसका साथै प्रा.डा. चूडामणि बन्धुद्वारा हिमवत‍्खण्डमा नेपाली भाषाको अवस्था, डा. रमेश ढुंगेलद्वारा हिमवत‍्खण्डको संस्कृति र विश्वव्यापीकरण एवं डा. भेषराज अधिकारीद्वारा हिमवत‍्खण्डको नेपाली खानपान संस्कृतिसम्बन्धी कार्यपत्रहरू प्रस्तुत हुनेछन् ।'

नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आयोजित पत्रकार सम्मेलनमा हिमवत‍्खण्ड कला–साहित्य–संस्कृति सम्मिलनमा नेपाली चलचित्रमा भाषा, सञ्चारमाध्यममा नेपाली भाषाका सम्बन्धमा समेत समूह विमर्श हुने पनि डा. सुब्बाले बताए । उनले थपे, 'सम्मिलनमा विभिन्न जातजातिका लोकसंस्कृति झल्किने सांस्कृतिक झाँकीसहित समुद्घाटन समारोह, प्राज्ञिक विमर्श, समूह विमर्श, हिमवत‍्खण्ड कन्सर्ट, हिमवत‍्खण्डका संस्कृति झल्किने नेपाली चलचित्रको प्रदर्शनी, लोककला,  वेशभूषा तथा लोकबाजाहरूको प्रदर्शनी र कविता उत्सवलगायतका कार्यक्रमसमेत हुने जानकारी दिए । यसअघि २०७५ सालमा भानु जयन्तीका अवसरमा हिमवत‍्खण्ड कला–साहित्य सम्मिलन आयोजना गरिएको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully