काठमाडौँ — वानीरा फाउन्डेसनले नेपाली भाषासाहित्यको सिर्जनामा साढे ६ दशकदेखि निरन्तर साधनारत एवं नेपालको उच्च शिक्षाको श्रीवृद्धिका लागि समेत समर्पित प्रा.रामकुमार पाँडेलाई ‘वानीरा प्रज्ञापुरस्कार’ र चित्रकलाको आराधनामा विगत सात दशकदेखि अनवरत साधनारत रही अन्तर्राष्ट्रिय जगत्मा समेत नेपालको गौरव बढाएबापत शशि शाहलाई ‘वानीरा शङ्कर पुरस्कार’ दिने निर्णय गरेको छ ।
वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा शनिबार बसेको फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको वानीरा फाउन्डेसनका सदस्य-सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।
कविता सिर्जनाका माध्यमबाट सदैव समर्पित रही नेपाली भाषासाहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत कविवर कृष्ण बाउसेलाई ‘वानीरा पुरस्कार’ दिने पनि निर्णय गरेको छ ।
नेपाली साहित्यकी विश्व नारी रत्न डा.वानीरा गिरीका सम्मानमा स्थापित दुवै पुरस्कारको राशि जनही एक/एक लाख रुपियाँ रहेको छ भने बाउसेलाई दिइएको पुरस्कार राशि पचास हजार रुपियाँ रहेको छ ।
