नेपालीभाषीको कृतिलाई भारतको प्रतिष्ठित गोल्डेन बुक पुरस्कार

माघ १९, २०८१

कान्तिपुर संवाददाता

India's prestigious Golden Book Award for works in Nepali language

सिलिगुडी — सिलिगुडीको सालबारीस्थित प्रकाशन संस्था बुक-आण्टद्वारा प्रकाशित डा. विशाल गोलेको अङ्ग्रेजी कथा सङ्ग्रह 'द नाइन'लाई सशक्तीकरण फिक्सन श्रेणीमा प्रतिष्ठित गोल्डेन बुक अवार्ड २०२५ प्रदान गरिएको छ।

'द नाइन' मिर्गौला रोगका बिरामीहरूका कथाहरूको सङ्कलन हो । चिकित्सा ज्ञान र कथा वाचनलाई मिलाएर पुस्तकले मानवीय सहनशीलता र जीवन-मृत्युको सङ्घर्षलाई अन्वेषण गर्छ।

नेफ्रोलोजिस्ट डा. गोले एक असाधारण कथाकार पनि हुन्। उनको मानवीय संवेदनशीलता र चिकित्सकीय अनुभवको प्रस्तुतिले पाठक र समीक्षकहरूको मन जितेका छन्।

प्रकाशक राजा पुनियानीले डेब्यु कृतिमै राष्ट्रियस्तरको पुरस्कार हासिल कथाकारका लागि मात्रै नभएर दार्जिलिङ भेगकै लागि ठूलो उपलब्धि रहेको बताए।  'क्षेत्रीय साहित्यले कसरी मूलधारको लेखनसँग समान उचाइ हासिल गर्न सक्छ भन्ने प्रमाण पनि हो यो', पुनियानीले भने ।

यो कृति अमेजनमा बेस्टसेलर समेत रहिसकेको छ। 

गोल्डेन बुक अवार्ड्स भारत

भारतको  एक प्रतिष्ठित साहित्यिक सम्मानको रूपमा रहेको  यो पुरस्कार विभिन्न विधाका उत्कृष्ट पुस्तकहरूलाई प्रदान गरिन्छ।  लेखकहरूको मेहनत, सृजनशीलता र तिनका कृतिहरूले पाठकहरूमा पार्ने प्रभावलाई आधार मानेर पुरस्कार प्रदान गरिन्छ। सन् २०२४ मा अभिनेता अनुपम खेरको  'लेसन लाइफ थ्रोड मि, अननोइंग्लि', अभिनेत्री ट्विङकल खन्नाको 'वेल कम टु प्याराडाइस', सल्मान रुस्दीको 'भिक्टोरी सिटी', बी.के. शिवानीको 'द पावर खफ वान थ्रोड: मास्टर योर माइन्ड, मास्टर योर लाइफ'  र राखी कपुरको 'ब्रेकिङ फ्रि इम्व्रासिङ मिले गोल्डे न पुरस्कार जितेका थिए। 

कान्तिपुर

Link copied successfully