पुस्तक बिक्रीबाट विपन्न विद्यार्थीलाई २० लाख रुपैयाँबराबरको छात्रवृत्ति

माघ १६, २०८१

कान्तिपुर संवाददाता

Scholarship worth Rs 20 lakh to underprivileged students from book sale

काठमाडौँ — वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले आफ्नो पुस्तक ‘जीवन्त सम्बन्ध’ को बिक्रीबाट प्राप्त रकमले विपन्न विद्यार्थीका निम्ति २० लाख रुपैयाँबराबरको छात्रवृत्ति प्रदान गर्ने भएका छन् । उनले डा. ओम फाउन्डेसनमार्फत ६ देखि ९ कक्षासम्म पढिरहेका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताए ।

छात्रवृत्तिका लागि विद्यार्थी आफैंले, अभिभावकले वा विद्यालयले समेत आवेदन दिन सक्नेछन् । अन्य कुनै प्रकारको छात्रवृत्ति प्राप्त नगरेका विद्यार्थीहरूले अघिल्लो कक्षाको मार्कसिट, चालु शैक्षिक सत्रका दुई त्रैमासिकका मार्कसिटसहित आवेदन दिन सक्नेछन् । उनले यसका लागि माघ १७ देखि फागुन ५ गतेसम्म आवेदन मागिने बताए ।

स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापित डा. ओम फाउन्डेसनले यसअघि सातवटा निःशुल्क मुटु स्वास्थ्य शिविर सञ्चालन गरी १६ सय जनाभन्दा बढीको स्वास्थ्य जाँच, विपन्न तथा सीमान्तकृत समुदायका ३ सय ५० घर परिवारलाई कम्बल वितरणजस्ता काम गरिसकेको छ । डा. अनिलले भने, ‘यो विशुद्ध रुपमा खुसी बाँड्ने एउटा प्रक्रिया हो ।’

कान्तिपुर

Link copied successfully