काठमाडौँ — जापानको राजधानी टोकियोमा कवि रवीन शर्माको कविता संग्रह ‘देउता बनाउने कारखाना’को लोकार्पण गरिएको छ । तीन सयभन्दा बढी नेपाली साहित्यप्रेमीहरुको उपस्थितिमा जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी क्षेत्रीलगायतले उक्त कृति लोकार्पण गरेका थिए ।
राजदूत क्षेत्रीले कवि शर्माको प्रशंसा गर्दै कृति प्रकाशन गरी नेपाली भाषा र साहित्यमा योगदान दिएकामा धन्यवाद दिए । 'यति ठूलो सङ्ख्याको उपस्थितिमा नेपाली साहित्यिक कार्यक्रममा सहभागी हुन पाउँदा निकै खुसी लागेको छ, यो उपस्थितिले नेपाली साहित्यप्रतिको मोह देखाउँछ, आगामी दिनमा पनि साहित्य लेखनलाई निरन्ता दिन म कवि शर्मालाई आग्रह गर्दछु,' उनले भने ।
कार्यक्रममा पूर्वसांसद सूर्य पाठक, पत्रकार राजु सुवेदी, साहित्यकार, समाजसेवी तथा जापानमा क्रियाशील प्रतिष्ठित नेपाली व्यक्तित्वहरुको उपस्थिति थियो । कवि शर्माले कवितावाचन गरेका थिए भने मूर्तिकार मञ्जुल मितेरीले पुस्तकमाथि चर्चा गरेका हुन् ।
