इलाम चौथो साहित्य महोत्सव आउँदो चैत १ र २ गते

माघ ११, २०८१

कान्तिपुर संवाददाता

Ilam 4th Literary Festival on 1st and 2nd Chait

इलाम — इलाम चौथो साहित्य महोत्सव आउँदो चैत १ र २ गते हुने भएको छ । साहित्यको क्षेत्रबाट इलामको पर्यटन प्रवर्द्धन गर्दै इलामको साहित्यलाई देश विदेशमा चिनाउने उद्देश्यका साथ साहित्य महोत्सवको आयोजना गर्न लागिएको बिहीबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ ।

साथै कार्यक्रममा आयोजकले लोगोसमेत सार्वजानिक गरेको छ । 'पर्यटनका लागि साहित्य' भन्ने नाराका साथ हुन लागेको महोत्सवमा नेपाल र भारत, भियतनामलगायत युरोपियन देशका चर्चित साहित्यकारहरूको उपस्थिति रहने आयोजक इलाम साहित्य कला संगीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थामसुहाङले बताए  ।

साहित्यिक क्षेत्रमा अग्रपंतिमा रहेको इलाम पछिल्ला दिनमा खस्कँदै गएको भन्दै त्यसको पुनर्जागरणका लागि चौथो संस्करणको महोत्सव हुन लागेको हो । यसअघि २०७६ सालमा प्रथम इलाम साहित्य महोत्सव सञ्चालन भएको थियो ।

इलाम साहित्य समाज र इलाम नगर साहित्य कला प्रतिष्ठानको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा हुन लागेको इलाम साहित्य समाजका सचिव रोशन राईले जानकारी दिए । महोत्सवमा नेपाली सिने जगतका चर्चित कलाकारहरू, चर्चित राजनीतिज्ञहरुको पनि उपस्थिति रहनेछ । महोत्सवमा बिभीन्न विषयमा छलफल र बहस हुनेछ । यस्तै सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङसँगको राजनीतिक बहस समेत रहनेछ ।

करिब साढे २२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको साहित्य महोत्सवको माध्यमबाट इलामको पर्यटन क्षेत्रमा प्रत्यक्ष फाइदा पुग्ने विश्वास आयोजकले लिएको अध्यक्ष थाम्सुहाङले बताए । 

महोत्सवमा साहित्यसँगै पर्यटन, राजनीति र इलामको चिनारीबारे बहस हुनेछ ।

कान्तिपुर

Link copied successfully