भारतीय चार स्रष्टालाई नइ पुरस्कार

माघ १, २०८१

कान्तिपुर संवाददाता

New awards for four Indian artists

काठमाडौँ — नइ प्रकाशनले भारतका चार स्रष्टालाई पुरस्कृत गर्ने भएको छ । नइ प्रकाशनकी कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा मंगलबार बसेको विशेष बैठकले सो निर्णय गरेको हो ।

नइ प्रकाशनले दुई लाख रुपियाँ राशिको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ भारत असमका  केबी नेपालीलाई दिने निर्णय गरेको छ । साहित्य सिर्जना र बिन्दु त्रैमासिकको सम्पादनका माध्यमबाट नेपाली वाङ्‍‍मयको श्रीवृद्धिका लागि विगत साढे ६ दशकदेखि निरन्तर समर्पित रहँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत उनलाई सो पुरस्कार दिइने भएको हो । यो पुरस्कार नेपाली–गोर्खाली मूलका विदेशी नागरिकलाई मात्र प्रदान गरिन्छ । 

विशेष गरेर नेपाली गीतको गायनका लागि उच्चस्तरीय सङ्गीत निर्माण गरी देशदेशान्तरमा नेपाली भाषालाई जनप्रिय बनाउन क्रियाशील सङ्गीतकार मुम्बई निवासी रञ्जित गजमेरलाई ‘नइ कोइलीदेवी पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । यसै गरी नेपाली भाषासाहित्यको समालोचना तथा अन्वेषणमा समर्पित रही उत्कृष्टता हासिल गरेबापत दार्जिलिङका डा.जीवन नामदुङलाई ‘नइ ईश्वर बराल पुरस्कार’ दिने निर्णय भएको छ ।

साथै नेपाली साहित्यमा कविता, निबन्ध, कथा  र समालोचना लेखनबाट आफ्नै आकाश निर्माण गरी प्रसिद्धि कमाएकी सिक्किम निवासी साहित्यकार डा.शान्ति क्षेत्रीलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ दिने निर्णय भएको छ । यी तीनवटै पुरस्कारको राशि जनही एक-एक लाख रुपैयाँको नइ प्रकाशनका सदस्य-सचिव  नरेन्द्रराज प्रसाईले बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully