नेपाल र बंगलादेशका साहित्यकारबीच विमर्श

पुस २९, २०८१

कान्तिपुर संवाददाता

Discussion between writers of Nepal and Bangladesh

काठमाडौँ — बंगलादेशमा सम्पन्न अन्तर्राष्ट्रिय साहित्य सम्मेलन २०१५ मा नेपाल र बंगलादेशका साहित्यकारबीच विमर्श भएको छ ।

सम्मेलनमा नेपालबाट सात जना साहित्यकारहरूले सहभागिता जनाए । जनवरी १० र ११ मा  बङ्गलादेशको पबना जिल्लाको ईसर्दीमा दुई देशका साहित्यकारबीच विमर्श भएको सम्मेलनमा सहभागी टीकाराम उदासीले जानकारी दिए ।

साहित्य तथा सामाजिक संस्था नुङ्गरद्वारा आयोजित सो सम्मेलनमा नेपालसँगै भारत लगायतका विभिन्न देशका साहित्यकारहरू सहभागी भएका थिए । नेपाल प्रजा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदी र सम्मेलनका प्रमुख संयोजक प्रा. हसतनुजमानले संयुक्त रूपमा कार्यक्रम सुरु गरे ।

नेपालबाट सहभागी धनप्रसाद सुवेदी, टीकाराम उदासी, केशरी अम्गाईं, शान्ता दाहाल, इन्द्रबहादुर चौधरी, राजकुमारी कुँवर र विमला खनालले कविता वाचन गरेका थिए ।

सम्मेलनमा 'काव्य कल्पना : भाव र अनुभूति , विश्वको सांस्कृतिक अन्तर सम्बन्ध र अल्पस‌‌‌ङ्ख्यक समूहको भाषिक र सांस्कृतिक सङ्कट समाधानका लागि हाम्रो उत्तरदायित्व' विषयमा प्राज्ञिक विमर्श गरिएको थियो । सम्मेलनमा विभिन्न पुस्तकको विमोचन सहित विभिन्न कलाकारले आआफ्नो सांस्कृतिक कला प्रस्तुत गरेका थिए ।

कान्तिपुर

Link copied successfully