काठमाडौँ — कवि तथा लेखिका ऋतम्भरा ढुंगानाले पहिलो कविताकृति ‘टिनएजर्स डेलिमा एन्ड अदर पोयम्स’ ल्याएकी छन् ।
ढुंगानाको उक्त कृति शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रसिद्ध स्रष्टाहरुले विमोचन गरे । कार्यक्रममा सहभागीहरुले ऋतम्भराका कविता तथा साहित्य सृजनाको दिल खोलेर प्रशंसा गरेका थिए ।
साहित्यकार तथा प्राध्यापक गोविन्दराज भट्टराईले ऋतम्भराको प्रतिभाबाट प्रभावित हुँदै समारोहमा सहभागी अभिभावकलाई आफ्ना सन्तानलाई साहित्यमा रुची जगाउन र प्रोत्साहन गर्न आग्रह गरे । यस्तै साहित्यकार महेश पौडेलले पनि ऋतम्भराका कविताहरूको खुलेरै प्रशंसा गरे ।
लेखिका ऋतम्भराले आफ्नो पुस्तकमा किशोरावस्थाका विचार, भावना र सपनाबारे चित्रण गरिएको बताइन् । कवितामार्फत समाजमा विद्यमान अन्धविश्वास चिर्न चेतनामूलक सन्देश दिने प्रयास गरेकी समेत उनले उल्लेख गरिन् । उनी पाठशाला नेपाल फाउन्डेसनमा कक्षा १० मा अध्ययनरत छिन् ।
शिखा बुक्सद्वारा प्रकाशित ६० पृष्ठको उक्त पुस्तकमा ३६ वटा कविता संग्रहित छन् ।
पुस्तक विमोचन सामारोहमा साहित्यकारहरु रामजीप्रसाद उपाध्याय पोखरेल, रामप्रसाद ज्ञवाली, पवन आलोक, देविका तिम्सिना, कृष्ण खतिवडालगायतको सहभागिता थियो ।
