एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा लिखित संस्मरणात्मक कृति विमोचन

पुस १९, २०८१

कान्तिपुर संवाददाता

Releasing a memoir written by UML Senior Vice President Pokharel

काठमाडौँ — नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा लिखित ‘आमा, सपना र  ताराहरू’ संस्मरणात्मक कृति विमोचन गरिएको छ । 

शुक्रबार आयोजित एक समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उक्त कृति सार्वजनिक गरेकी हुन्  । पुस्तकमा माइती र घरमा आमा, पीडादायी घरायसी अवस्था, बाबुको निधन र त्यसपछिका चुनौती, आमासित छुट्टिन पर्दा, विद्यार्थी जीवन र राजनीतिमा प्रवेश, मैले घर छोडेपछि आमाको अवस्था, भूमिगत अवस्थामा आमासित भेट, मलाई बचाउने औतारी लामा, आँखा दान गर्ने आमा र आमाको स्वभाव शीर्षकमा विभिन्न विषयवस्तु समावेश छन् । कृतिमा पति र पुत्रवियोगमा, आर्थिक अभावमा पनि समाज र सन्तानलाई देश र जनताका पक्ष अटल रहन प्रेरणा दिएका घटना समेटिएका छन् । 

कार्यक्रममा सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले साहित्य लेखनलाई राजनीति, आर्थिक र सामाजिक परिवर्तनसँग जोडेर लैजानुपर्ने आवश्यकता औँल्याइन् । उनले भनिन्, 'सर्जक पोखरेलले विभिन्न पत्रपत्रिकामा सैद्धान्तिक, वैचारिक लेख तथा साहित्य संस्मरणमार्फत मुलुकको राजनीतिक परिवर्तन, पार्टी एकता, संगठन सुदृढीकरण र वैचारिक धार प्रवल बनाउन महत्त्वपूर्ण योगदान दिनुभएको छ ।'

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपतिहरूलाई बाँकी जीवन राजनीतिमा पुनरागमन गर्नुभन्दा सामाजिक परिवर्तनको नेतृत्व गर्न आग्रह गरे । 

एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले कृतिमा एक सय वर्षको बदलिँदो नेपाली समाज, पारिवारिक संगठन र विघटन, जलवायु परिवर्तनका कारणले भएका बसाइँसराइलगायत समसामयिक र वास्तविक पक्षलाई समेटिएको बताए । 

समालोचक उपप्राध्यापक विन्दु शर्माले शब्द चयनमा समेत निकै सजगता र सचेतना अपनाई नेपाली आमाहरूको त्याग, समर्पण र बलिदानीबारे इमान्दारीपूर्ण संस्मरणात्मक रूपमा प्रस्तुत गरिएको कृतिमा भावुक पार्ने क्षण र विषयवस्तु प्रशस्त रहेको धारणा राखिन् ।

कृतिका लेखक पोखरेलले आफ्नी आमालाई परिवर्तन र रुपान्तरणको पात्रका रूपमा प्रस्तुत गर्दै समाज परिवर्तनको आन्दोलनका सिलसिलामा नेपाली आमाहरूलाई कसरी र कुन ठाउँमा पाइयो भन्ने विषयवस्तु जस्ताको त्यस्तै उतार्न कोसिस गरेको बताए । यसअघि वरिष्ठ उपाध्यक्ष पोखरेलका ‘पूर्वको रातो तारा’, ‘माघ १९’ लगायत कृति प्रकाशित छन् ।

कान्तिपुर

Link copied successfully