२५ वर्षमुनिका लेखक खोज्दै नेपालय

पुस १७, २०८१

कान्तिपुर संवाददाता

Looking for a writer under the age of 25 in Nepal

काठमाडौँ — प्रकाशन गृह नेपालयले ‘२०२५ मा २५ का २५’ मन्त्र सहित २५ वर्ष वा त्यसभन्दा कम उमेरका युवाहरूसँग कथा, कविता र निबन्ध आह्यवान गरेको छ । यसका लागि ‘एक्काइसौं शताब्दी के सोचिरहेको छ ? के लेखिरहेको छ ?’ भन्ने प्रश्नमा केन्द्रित रही कथा, कविता र निबन्धमध्ये एक पठाउन सकिनेछ ।

नेपालयका सम्पादक विमल आचार्यले सन् २००० लागेयता जन्मेका जोसुकै नेपाली, नेपाली मूल वा नेपालीभाषी युवा पुस्ताले तीनवटै विधामा आफूलाई सरिक गराउन सक्ने बताए । उनले भने, ‘लेखकहरूले नेपाली, नेपालभित्र बोलिने जुनसुकै भाषा वा अंग्रेजीमा आफ्ना सामग्री तयार पार्न सक्छन् ।’ उनले  लेखकहरू जुनसुकै शीर्षक, विषय, शैली वा लयमा लेख्न स्वतन्त्र रहने बताए ।

नेपालयका अनुसार हालसम्म कुनै पनि माध्यमबाट सार्वजनिक नभएका रचनाहरू बढीमा २५ सय शब्दको हुनुपर्ने जनाएको छ । प्राप्त लेख रचनामध्येबाट श्रवण मुकारुङ, भूषिता वशिष्ठ र नारायण वाग्ले सम्मिलित निर्णायक समितिले २५ वटाका दरले छनोट गर्ने र त्यसलाई विधागत हिसाबले तीनवटा फरक-फरक पुस्तकका रूपमा सन् २०२५ भित्रै  प्रकाशन गर्ने पनि नेपालयले जनाएको छ ।

कान्तिपुर

Link copied successfully