नेपथ्य ब्यान्डसँगको दुई दशक लामो संगत र अनुभवका आधारमा लेखक गिरीश गिरीले ‘नेपथ्य: लोकप्रिय यात्राको अन्तरंग’ तयार पारेका हुन् ।
काठमाडौँ — नेपथ्यको सांगीतिक यात्राका बारेमा पुस्तक आउने भएको छ । नेपाली श्रोता–दर्शकहरूले अत्यधिक मन पराएको सांगीतिक समूह नेपथ्यको जीवनीमा आधारित पुस्तक बजारमा आउन लागेको हो ।
पब्लिकेसन नेपालयले उक्त पुस्तक प्रकाशन गर्न लागेको हो । नेपालयका अनुसार पुस्तकको अग्रिम बुकिङ योजना अंग्रेजी नयाँ वर्ष २०२५ कै दिन सुरु हुँदैछ ।
पुस्तकमा नेपथ्यको जन्म, उतारचढाव तथा गीतहरूको खोजीमा गरिएका संघर्षहरूको अनुभव पढ्न सकिने नेपालयले जनाएको छ । संगीतबाट आर्जित लोकप्रियतालाई नेपाली समाजको समग्र हितमा कसरी उपयोग गर्न सकिन्छ भनेर गरिएका प्रयत्नहरूको जानकारी पनि यसले समेटेको छ।
‘हामीले आजसम्म अनेक जिज्ञासाहरूको जवाफ दिँदै आएका छौं,’ ब्यान्डका संस्थापक एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘तर, आजसम्म नसोधिएका थुप्रै प्रश्नहरूको उत्तर यो पुस्तकले प्रस्तुत गर्नेछ ।’
नेपथ्य ब्यान्डसँगको दुई दशक लामो संगत र अनुभवका आधारमा लेखक गिरीश गिरीले यो किताब तयार पारेका हुन् । गिरीको लेखन सहयोगमा आनी छोइङ डोल्माको जीवनी ‘फूलको आँखामा’ र कुलचन्द्र गौतमको ‘आत्मकथा’ प्रकाशित छन् । साथै उनी ‘वीरगन्ज: मेरो सहरको कथा’ र ‘सत्यमोहन’ पुस्तकका पनि लेखक हुन् ।
नेपथ्य ब्यान्डको वेबसाइटमार्फत परिचालन हुने यो योजनामा अग्रिम बुकिङका लागि १३ वटा फरकफरक स्किम उपलब्ध हुने नेपालयले जनाएको छ । योजनामा सरिक पाठकले केवल २५ रुपैयाँ तिरेर पनि पुस्तक हात पार्न सक्नेछन् । जबकि उही पुस्तक खरिद गर्नेले दुई हजार २५ रुपैयाँ पनि तिर्न सक्नेछन् । योजनामा सरिक पाठकहरूले घरमै बसेर पुस्तक सार्वजनिक हुने मिति अगावै आफ्नो प्रति प्राप्त गर्नेछन् ।
यो योजनाबाहेक मुलुकका प्रमुख पुस्तक पसलहरूमा पनि यो किताब सार्वजनिक भएपश्चात् उपलब्ध गराइनेछ । नेपथ्यको नेपथ्य कथा रहेको, ‘नेपथ्य: लोकप्रिय यात्राको अन्तरंग’ २०२५ को फेब्रुअरी महिनामा सार्वजनिक हुनेछ । ३५२ पृष्ठको पुस्तकको मूल्य ८१५ रुपैयाँ छ ।
