चितवन — नवीन सागर उपाध्याय सुवेदी नवलपरासी (बर्दघाट सुस्ता पुर्व)को तत्कालिन गैंडाकोट गाउँ विकास समितिका संस्थापक अध्यक्ष हुन् । उनी पञ्चायतकालमै जन्मभूमि बागलुङको तत्कालीन सर्कुवा गाउँ पञ्चायतको प्रधानपञ्च र बागलुङ जिल्ला पञ्चायतको सदस्य पनि भएका थिए ।
उनै नवीन सागर उपाध्याय सुवेदीको बारेमा लेखिएको पुस्तक ‘नवीन सागर, आत्मसृष्टी र जनदृष्टी’ आइतबार विमोचन भएको छ ।
गैंडाकोटमा आयोजित कार्यक्रममा संघीय कृषिमन्त्री रामनाथ अधिकारीले उक्त पुस्तक विमोचन गरे । नवीन सागरले २०५३ सालमा कान्छा छोरा करुणासागरलाई अगाडि लगाएर दुईवटा घारबाट सुरु गरेको मौरीपालन व्यवसाय अहिले यस क्षेत्रकै प्रख्यात उद्यम बनेको छ । सागर महले देशभर नै ख्याती पाएको छ । हाल पाँच सय घार माहुरीबाट वर्षमा १५ टन जति मह उत्पादन हुने गरेको छ ।
पुस्तक विमोचन कार्यक्रममा कृषिमन्त्री अधिकारीले मौरीपालन व्यवसायमा लागेका चितवन रत्ननगरकी गीता देवकोटा र कैलालीका मोहनराज खनाललाई ‘नवीन सागर स्मृति मौरी उद्यम पुरस्कार’ प्रदान गरे । उत्कृष्ट मौरी किसानलाई दिने पुरस्कारको राशि जनही १५ हजार पाँच सय रुपैयाँ र सम्मानपत्र रहेको छ । वि.सं. १९९२ सालमा बागलुङमा जन्मेका नवीन सागरको २०७१ सालको भदौ ११ मा गैंडाकोटमा निधन भएको थियो ।
नवीन सागर २०३५ सालतिर बागलुङबाट गैंडाकोट झरेका थिए । किताबको आत्मसृष्टी खण्डमा नवीन सागर आफैले लेखेका ४४ वटा संस्मरणात्मक र जनदृष्टी खण्डमा उनका बारेमा अरुले लेखेका ५९ वटा रचनाहरु समावेश छन् । रचनाहरुमा नवीन सागरको राजनैतिक र सामाजिक तथा उद्यमशील जीवनका पाटाहरु उजागार भएको समीक्षक केशवप्रसाद चालिसेले बताए ।
नवीन सागरले वामपन्थी राजनीति गरे पनि पछि नेपाली कांग्रेसमा सक्रिय भएको र गैंडाकोट गाविसको संस्थापक अध्यक्ष कांग्रेसबाटै विजयी भएको पुस्तकमा विवरण छ । पुस्तकमा ‘भत्काइदिएँ झाँक्रीको थान’ भन्ने लेखमा नवीन सागरले बिरामी बुबाका लागि झाँक्रीको दोष देखाएर एउटा लामाले सेता भेँडाको दुईवटा साँढ र अर्को लामाले ३/४ वटा पाठा काट्न लगाएको उल्लेख गरेका छन् ।
तर ६ महिनासम्म बिरामी भएका बुबालाई बागलुङ पाँगाका हरिनारायण वैद्यले मकरध्वज नामक आर्युवेदिक औषधि आधा तोला खुवाएपछि बुबालाई निको भएको सो लेखमा विवरण छ । ‘त्यसपछि धामी झाँक्रीदेखि वितृष्णा भएर मैले झाँक्रीको थान भत्काइदिएँ । यो देखेर बाले अत्यन्त रमाउँदै भन्नुभयो–स्याब्बास छोरा, ठीक गरेछस्’ सो लेखमा उल्लेख छ । तर बुबाले आफूलाई आध्यात्मपथमा लाग्न अभिप्रेरित पनि गरेको जानकारी लेखमा छ ।
पुस्तकमा शुभकामना दिँदै पूर्वप्रधानमन्त्री झलनाथ खनालले २०२६ सालमा आफू सर्कुवा जाँदा नवीन सागरको घरमा खाना खाएको र त्यो बेला नवीन सागर ३४ वर्षको युवा जोशको क्रान्तिकारी विचार बोक्ने व्यक्ति भएको भनेर स्मरण गरेका छन् । पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले नवीन सागर २०२३ सालदेखि नै कम्युनिष्ट संगठनमा लागेको र २०१६ सालमा सर्कुवामा जनता मावि स्थापना गर्न पनि सक्रिय भएको सो पुस्तकमा लेखेका छन् ।
