‘हिमालमाथि उभिएर’ बजारमा

पुस ८, २०८१

कान्तिपुर संवाददाता

भक्तपुर — कवि प्रद्युम्नप्रसाद पौडेलको कविता संग्रह ‘हिमालमाथि उभिएर’ बजारमा आएको छ । मध्यपुर थिमिनगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले उक्त कविता संग्रहको विमोचन गरेका हुन् । 

कवि पौडेलले संग्रहित कविताहरू सूक्ष्म अध्ययन र भोगाइको कवितात्मक शैलीमा गरिएको आफ्नो टिप्पणी भन्दै ‘जे देखियो, जे भोगियो त्यसको पृथक् पृथक् शब्दहरू सँगालेर लेखिएको’ बताए । ‘जीवनका उकाली ओराली, उल्झन, पीडा, सुख, दुःख, प्रेम, प्रकृति आदिलाई कविताको रूप दिएको हुँ,’ कवि पौडेलले थपे, ‘शीर्षकअनुसार, कुनै उच्च स्थानबाट हेर्दा मैले देखेको विकृति, विसंगति भ्रष्टाचार, अत्याचार, शोषण,

भेदभाव र कुरीतिलाई मैले शब्दद्वारा प्रहार गरेको हुँ ।’ साथै, उनले कवितामार्फत प्रेम, सद्भाव र आपसी एकताको सन्देश पनि दिन खोजेको बताएका छन् । 

संग्रहको पहिलोखण्ड मुक्तलयमा विभिन्न पक्षलाई मुक्तकण्ठले गाउने गरी गद्यमा लेखिएको छ । दोस्रो लय खण्डमा माया, प्रेम र सद्भावना पोखिएका छन् । उक्त कविता संग्रहलाई अनुशीलन नेपालले प्रकाशन गरेको हो ।

कान्तिपुर

Link copied successfully