पोखरामा 'अर्हत्' परिचर्चा

मंसिर ३०, २०८१

कान्तिपुर संवाददाता

'Arhat' discussion in Pokhara

पोखरा — पोखरामा शैलेन्द्र अधिकारीको उपन्यास ‘अर्हत्’ माथि परिचर्चा गरिएको छ । शनिबार र्‍यान्डम रिडर्स सोसाइटीले आफ्नो १११ औँ शृङ्खलामा जीवन र शिक्षामा आधारित कृति 'अर्हत्'माथि विशेष परिचर्चा गरेको हो ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कवि, निबन्धकार तथा पत्रकार दीपक सापकोटाले यस उपन्यासलाई बुद्धको जीवनको अनगिन्ती पाटोलाई सरल र प्रभावकारी भाषामा प्रस्तुत गरेको बताए । उनले भने, 'बुद्धबारे लेखिएका पुस्तकहरूको संख्या अझै पनि सीमित छ ।

शैलेन्द्र अधिकारीजस्तो लेखकले भनेझैं, बुद्धलाई बुझ्ने र उनको जीवनलाई सही ढंगले प्रस्तुत गर्ने पुस्तकहरू अझै अन्वेषणको पर्खाइमा छन्।' सापकोटाले उपन्यासमा उठेका प्रश्नहरूलाई सम्वेदनशील र समकालीन रहेको बताउँदै अगाडि भने, 'के हामीले साँच्चै बुद्धलाई चिन्यौँ ? के हामीले बुद्धलाई हाम्रो जीवनका भागका रूपमा अँगालेका छौँ? यो पुस्तक बारम्बार यस्तै प्रश्नहरू उठाउँछ।'

‘अर्हत्’का प्रत्येक पृष्ठ प्रेम र विचारका लहर जस्तो बगेकाले यस उपन्यासले पाठकलाई बौद्धिक र मानसिक उचाइमा पुर्‍याउने उनको भनाइ थियो । 'यस कृतिले बुद्धको जीवनलाई प्रासंगिक र सरल भाषामा प्रस्तुत गरेको छ, जसले दुई हजार पाँच सय वर्षअघिको समाज र समयलाई आजको सोच र संवेदनासँग जोड्न सफल भएको छ,' उनले थपे।

उपन्यासमा सिद्धार्थ गौतमले कसरी ‘गौतम बुद्ध’ को रूप ग्रहण गरे भन्ने कथा प्रस्तुत प्रस्तुत गरिएको छ । कार्यक्रममा लेखक अधिकारीले आफ्नो पुस्तकलाई बुद्धको जीवनको ऐतिहासिक बोध र दर्शनको गहिराइमा डुब्दै लेखेको बताए । 'मैले बुद्ध दर्शनको अध्ययन गरेर प्राप्त ज्ञानलाई काव्यात्मक र पाठकमैत्री शैलीमा प्रस्तुत गरेको छु,' उनले भने। 

उपन्यासका कतिपय अंशहरूमा पाली भाषासम्बन्धी गहिराइका कारण केही शब्दहरू क्लिष्ट भएको उनले स्वीकारे । तर त्यो बुद्धको ऐतिहासिक कथाको गहिराइ र उत्थानसँग मेल खाने भनाइ उनको छ ।

कार्यक्रममा साहित्यकार सरुभक्तले बुद्ध नेपालमा जन्मिएको कुरा गर्वको विषय भए पनि, बुद्धत्वको स्थायित्व र बौद्ध दर्शनको विकासका लागि विशेष पहल आवश्यक रहेको बताए । उनले बौद्ध दर्शन र सम्पदा संरक्षणमा ध्यान पुर्याउनुपर्ने कुरामा जोड दिएका थिए । 'बुद्धलाई हामीले साँच्चै चिन्यौँ कि छैनौँ, यसबारे गहिरो चिन्तन र अन्वेषण गर्न जरुरी छ,' उनले भने।

कार्यक्रममा छवि सुवेदी, भरतमणि भट्टराई, त्रुपक र सम्राट् गुरुङलगायतले पनि कृतिमाथि टिप्पणी गरेका थिए । सोसाइटीका सहसचिवसमेत रहेका कार्यक्रम सञ्चालक दीपक पराजुलीले कार्यक्रमको सञ्चालन गर्दै, यस किसिमका साहित्यिक कार्यकमले पाठकहरूको चेतना र बौद्धिक क्षमतामा विस्तार गर्न महत्त्वपूर्ण भूमिका निभाएको बताएका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully