काठमाडौँ — अधिकारकर्मी दयाराम परियारको स्मृतिमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा स्थापित 'दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार' वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रदान गरिएको छ ।
७६औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोगले मंगलबार आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री विष्णु पौडेलले वरिष्ठ अधिवक्ता भण्डारीलाई उक्त पुरस्कार प्रदान गरे । समारोहमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले वरिष्ठ अधिवक्ता भण्डारीलाई सम्मानसमेत गरेका थिए ।
मानव अधिकार, कानुनी शासन एवं सामाजिक न्यायको क्षेत्रमा भण्डारीले पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको आयोगले जनाएको छ । अधिकारकर्मी दयाराम परियारको मानव अधिकार आयोग जनकपुर कार्यालयमा कार्यरत रहँदा शाहीकालमै २०६२ चैत ११ मा प्रहरीको गोली लागि उपचारको क्रममा चैत १५ गते सहादत भएको थियो । अधिकारकर्मी परियारको सम्मानमा हरेक वर्ष 'दयाराम परियार मानव अधिकार स्मृति पुरस्कार' प्रदान गरिँदै आइएको हो ।
उक्त पुरस्कार यसअघि शिवमाया तुम्बाहाम्फे, श्यामसुन्दर शशी, दुर्गा घिमिरे, चन्द्रकिशोर झा, बलदेव राम, चरिमाया तामाङ, शारदा चन्द, टेकनाथ बराल, मातृका देवकोटा, नजवुल खान, विद्या राजभण्डारी, रामजी अधिकारी, प्रेमकुमारी पन्त, नारायणप्रसाद शर्मा, हरिहर वस्ती, रेणु अधिकारी लगायतले पाइसकेका छन् ।
