‘देउता बनाउने कारखाना’ सार्वजनिक

मंसिर २४, २०८१

कान्तिपुर संवाददाता

'Deutah making factory' public

काठमाडौँ — कवि रविन शर्माको ‘देउता बनाउने कारखाना’को शनिबार पर्वतको चुवाको मंगलोदय माविमा लोकार्पण गरिएको छ । संविधानसभा सदस्य तथा गण्डकी प्रदेशका सांसद चम्पादेवी खड्काले उक्त कविता कृतिको लोकार्पण गरेकी हुन् ।

कृति लोकार्पण पछि बोल्दै सांसद खड्काले साहित्य समाजको आँखा भएकोले समाजमा भएका यथार्थ घटना परिघटनालाई कविले कविताका माध्यमबाट प्रस्तुत गर्ने गरेको बताइन् । 

सासंद खड्काले पछिल्लो समय समाजमा नकारात्मक टिप्पणी गर्ने समूहको हाबी भएको भन्दै साहित्यको माध्यमबाट समाजलाई सकरात्मक र रचनात्मक बनाउन कवि लेखकहरूले भूमिका खेल्नुपर्ने सुझाव दिइन् ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानका संरक्षक वेलुकाजी थापा, प्रध्यापक तथा समालोचक दीपक पराजुली, कुश्मा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेल, कांग्रेसका उपसभापति शिवप्रसाद सुवेदी, कुश्मा नगरपालिका वडा नम्बर-८ का वडाध्यक्ष सुरेन्द्र केसी, विद्यालयका प्रधानाध्यापक नागेश्वर उपाध्याय, कविन रविन शर्माका सहपाठी दिनेश पौडेल, साहित्यकार सरस्वती शर्मा जिज्ञासु लगायतले रविन शर्माको व्यक्तित्व तथा कृतित्वको चर्चा गरेका थिए ।

मंगलोदय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कांग्रेसका क्षेत्रीय सभापति राजकुमार क्षेत्रीको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक तारानाथ शर्माले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य कवि शर्माका पिता केशव उपाध्यायले गरेका थिए । कार्यक्रममा कवि रविन शर्माले आफ्नै कविता कृतिबाट संगीतको साथमा आधा दर्जन कविताहरू सुनाएका थिए । 

कान्तिपुर

Link copied successfully