काठमाडौँ — डा. कमल लामिछानेद्वारा स्थापित ‘अन्तर्दृष्टि पुरस्कार’ २०८१ सालका लागि तीन विधामा घोषणा गरिएको छ ।
देशभरका समावेशी शिक्षा सञ्चालित विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने दृष्टिविहीन विद्यार्थीहरूको सर्वेक्षणका आधारमा अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार तथा अन्तर्दृष्टि हातेमालो पुरस्कारका लागि एक शिक्षक र एक विद्यार्थी छनोट गरिएको छ । अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार पाउने व्यक्तिको छनोट भने समितिका सदस्यहरू डा. कमल लामिछाने, होमनाथ अर्याल, सरिता लामिछाने र सुनिता थापाको निर्णयका आधारमा गरिएको बताइएको छ ।
अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार
अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार शिक्षकको शिक्षण सिकाइ क्रियाकलाप, उनीहरूको सामाजिक व्यवहार, अपाङ्गताप्रतिको सोच, दृष्टिकोणलगायतलाई आधार मानी विद्यार्थीले छनोट गरेअनुसार गण्डकी प्रदेशस्थित कास्की, पोखराको अमरसिंह उच्च माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक मुक्तिनाथ आचार्यलाई प्रदान गरिने छनोट समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी अन्तर्दृष्टि हातेमालो पुरस्कार
अन्तर्दृष्टि हातेमालो पुरस्कार दृष्टिविहीन विद्यार्थीहरूले आफूसँग हातेमालो गरेका अपाङ्गता नभएका विद्यार्थीहरूको सहयोगी भूमिका, व्यवहार, सिकाइको आदानप्रदानलगायतलाई आधार मानी छनोट गरेअनुसार गण्डकी प्रदेशस्थित कास्की, पोखराको अमरसिंह उच्च माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीद्वय गरिमा थापा र करिना काफ्लेलाई संयुक्त रूपमा प्रदान गरिने छनोट समितिले जनाएको छ ।
अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार डिजिटल अनलाइन पत्रिका ‘उकेरा डटकममा कार्यरत पत्रकार मोनिका वाइबालाई प्रदान गर्ने घोषणा गरिएको समितिको भनाइ छ । अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार
पत्रकारिताका माध्यमबाट अपाङ्गता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोणसहित खोज, अन्वेषण एवम् उनीहरूका असीमित सम्भावना र अवसरको पहिचान गरी समावेशी विकास र समतामूलक समाजको अंग बनाउन भूमिका खेल्ने पत्रकारलाई दिने गरिएको विज्ञप्तिमा उल्लेख छ । यस वर्षको
प्रमाणपत्रसहित अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कारको रकम २० हजार, अन्तर्दृष्टि हातेमालो पुरस्कारको रकम १० हजार र अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कारको रकम १५ हजार रुपैयाँ छ । अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कारको रकम यसपटकदेखि १० हजारबाट १५ हजार पुर्याइएको संरक्षक डा. कमल लामिछानेले जनाए ।
पुरस्कारहरू आउँदो वसन्तपञ्चमीका दिन प्रदान गरिने उनले बताए ।
