सर्लाही — लालबन्दी नगर वाङ्मय परिषद्ले 'भाषा तथा साहित्य,स्थानीय प्रतिभा र सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार-२०८१'बाट शनिबार तीनजनालाई सम्मान गरेको छ ।
परिषद्ले पत्रकार अखण्ड भण्डारीद्वारा लिखित उपन्यास 'बोरा' लाई 'लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०८१' बाट सम्मान गरेको हो । उपन्यास बोरालाई छनोट समितिलेले तयार गरेको दशवटा कृतिमध्ये उत्कष्टमा परेको थियो । यो पुरस्कार ५० हजार रूपैयाँ राशिको हो । त्यस्तै 'लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार -२०८१' बाट लामो समयदेखि पत्रकारिता गर्दै आएका शंकर श्रेष्ठले पाएका छन् । उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ छ ।
परिषद्ले साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार-२०८१ बाट भने पत्रकार रोचक घिमिरेलाई प्रदान गरेको हो । साहित्यका माध्यमबाट क्रुर जहानियाँ राणा शासनको अन्त्यका लागि होमिँदा होमिँदै सहिद बन्न पुगेका 'मकै' पुस्तकका लेखक कृष्णलाल अधिकारीको स्मृतिमा पुरस्कार कोषको स्थापना गरिएको हो । कोषको ब्याजको रकमबाट उक्त पुरस्कार प्रदान गर्न प्रारम्भ गरिएको परिषद्ले जनाएको छ। पुरस्कारको राशि ५० हजार रुपैयाँ र सम्मान पत्र छ। तीनैजनालाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले प्रदान गरेका हुन् ।
