चार अग्रणी महिलाको जीवनी बालकथाका रूपमा सार्वजनिक

भाद्र १७, २०८१

कान्तिपुर संवाददाता

Biographies of four leading ladies published as children's stories

काठमाडौँ — राष्ट्रिय जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका चार अग्रणी महिलाहरूको जीवनी सचित्र बालकथाका रूपमा सार्वजनिक भएको छ ।

पर्यटन उद्यमी अम्बिका श्रेष्ठको निधन भएको ४५ दिनकै बखत आइतबार लोकार्पण गरिएका उक्त चार पुस्तकको संग्रहभित्र श्रेष्ठबाहेक न्यायाधीश सपना प्रधान मल्ल, प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पा र बौद्ध भिक्षुणी गायिका आनी छोइङ ड्रोल्माका जीवन भोगाइहरू समेटिएका छन् ।

लुज माथेमाका शब्दहरूमा उभिएको यो संग्रह पब्लिकेशन नेपालयले तयार पारेको हो ।

पुस्तकको बत्तीसपुतलीस्थित द्वारिकाज होटलमा विमोचन गरियो ।विमोचन कार्यक्रममा पुस्तक लेखिका माथेमाकी पुत्री समाइराले पुस्तक हस्तान्तरण गरेपछि चारैजना पात्र तथा तिनका प्रतिनिधिले पुस्तक सार्वजनिक गरेका थिए । दिवंगत अम्बिका र पासाङ ल्हामुका तर्फबाट उनीहरूका सुपुत्रीहरू क्रमशः संगीता एवं दावाको प्रतिनिधित्व थियो ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा लैङ्गिक विकास अध्ययन गरेकी लेखिका लुज माथेमाले ‘अदम्य महिलाहरू’ शीर्षकमा शृंखलाबद्ध कथात्मक बालजीवनी लेखन थालनी गरेकी हुन् । त्यसैको पहिलो चरणमा चार नेपाली अग्रणी महिलाहरूको यो संग्रह तयार भएको हो ।

‘हामी केटाकेटी हुँदा हजुरबुवाले आफ्ना अनुभवहरू अनि ठूला मानिसहरूको जीवनबारे कथा सुनेजस्तै गरी चाखलाग्दो ढंगमा भन्नुहुन्थ्यो,’ लेखिका लुजले भनिन्, ‘उहाँबाटै मिलेको प्रेरणाबाट मैले नेपाली महिलाहरूको गाथा लेख्ने क्रम थालेकी हुँ ।’

कान्तिपुर

Link copied successfully