१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

साहित्यकला मन्दिरद्वारा चार स्रष्टा सम्मानित

कान्तिपुर संवाददाता

काठमाडौँ — लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरले विभिन्न विधाका चार जनालाई सम्मान गरेको छ । तन्त्रविद्याका  विद्वान् प्रा.विद्यानाथ भट्ट‚ कवि विष्णुविभु घिमिरे‚ लक्ष्मण नेवटिया र गायिका झुमा लिम्बुलाई सम्मान गरेको हो ।

साहित्यकला मन्दिरद्वारा चार स्रष्टा सम्मानित

राजधानीमा आइतबार आयोजित समारोहमा जनही १ लाख ५१ हजार नगद राशिसहितको सम्मान साहित्यकला मन्दिरका अध्यक्ष मेघा चौधरी र अभिनेत्री मनीषा कोइरालाले संयुक्तरूपमा हस्तान्तरण गरे ।

भट्टलाई इतिहास शिरोमणि बाबुराम आचार्य सम्मान, वरिष्ठ कवि घिमिरे र नेवटियालाई संयुक्तरूपमा सरस्वती सम्मान तथा गायिका लिम्बुलाई नारायण गोपाल संगीत सम्मान दिइएको हो । समाजका विभिन्न क्षेत्रका व्यक्तित्वलाई साहित्यकला मन्दिरले २९ वर्षदेखि यी सम्मान प्रदान गर्दै आएको जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि अभिनेत्री कोइरालाले ‘सिनेमा र साहित्यबीच गहिरो सम्बन्ध रहेको’ बताउदै साहित्यले देश, समाज र आफ्नो मान्यतालाई समेट्ने र मार्गचित्र प्रस्तुत गर्ने बताइन् । कलामन्दिरका अध्यक्ष चौधरीले अध्यक्षको नयाँ जिम्मेवारी आफूले पाएकोमा पिता तथा मन्दिरका संरक्षक वसन्त चौधरीप्रति आभार व्यक्त गर्दै गतिविधिलाई अझ सक्रियता साथ अगाडि बढाउने प्रतिबद्धता जनाइन ।

कार्यक्रममा साहित्यकला मन्दिरका संरक्षक वरिष्ठ कवि वसन्त चौधरीले संस्था ३० वर्षमा प्रवेश गरेकमा खुसी व्यक्त गरे । कार्यक्रममा प्राडा. उषा ठाकुरद्वारा लिखित ‘विचार र विश्लेषण’ तथा व्यंग्यकार एवम् सम्मानित स्रष्टा लक्ष्मण नेवटियाको कविता संग्रह ‘व्यङ्ग्यधाम’ लोकार्पण गरिएको थियो । लोकार्पित कृतिमाथि कवि रमण घिमिरेले टिप्पणी गरेका थिए ।

प्रकाशित : आश्विन २९, २०८० १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?