पुस्तकमा दार्जिलिङको इतिहास

आश्विन २१, २०८०

कान्तिपुर संवाददाता

सिलिगुडी — दार्जिलिङ र सिक्किम हिमालयन क्षेत्रको इतिहासका विज्ञ मानिन्छन्, सोनम बी वाङ्गेल । त्यस भेगको इतिहासलाई समेटेर वाङ्गेलले लेखेको अंग्रेजी भाषाको अनुसन्धानमूलक पुस्तक ‘दार्जिलिङ : प्लेस नेम्स्’ शनिबार सिलिगुडीमा लोकार्पण भयो ।

करिब दुई दशकभन्दा लामो अनुसन्धानपछि उक्त पुस्तक लेखिएको वाङ्गेलले जनाए । शिक्षाविद् जेता सांकृत्यायन, नाटककार पी अर्जन, लेखक सत्यदीप क्षेत्री र कृतिकार वाङ्गेलले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका थिए । विमोचनपछि आयोजना गरेको छलफलका वक्ताहरूले भने, ‘यो किताब मात्रै नभएर एक बौद्धिक यात्रा हो ।’

‘हामी हाम्रो जन्मस्थानको औपनिवेशिक इतिहास पढेर हुर्कियौं । यो पुस्तक भावी पुस्ताका लागि महत्त्वपूर्ण दस्ताबेज हो,’ प्राध्यापक सांकृत्यायनले टिप्पणी गरे, ‘यहाँ स्वदेशी इतिहासकारको दृष्टिकोण पाउन सकिनेछ ।’ पी अर्जुनले वाङ्गेलको पुस्तकमा दार्जिलिङ र सिक्किमको हिमाली क्षेत्रको अप्रत्याशित इतिहास पढ्न पाइने जनाए । सत्यदीप छेत्रीले औपनिवेशिक ह्याङओभरको बादलमुनि भौंतारिने समय गएको बताउँदै आफ्ना कथाहरू पुनः दाबी गर्दै आफ्नै शैलीमा सुनाउने समय आएको जनाए ।

पत्रकार अनुराधा शर्माले यति सानो भूगोलको अद्भुत विविधताको मनोरम संकलन पुस्तकको सबैभन्दा राम्रो पक्ष रहेको टिप्पणी गरिन् । उनले भनिन्, ‘पुस्तकमा पौराणिक कथा, भाषाविज्ञान, लोककथा, ज्ञानविज्ञानलाई एकसाथ बुन्दै दार्जिलिङको वास्तविक कथा भनिएको छ ।’ लेखक वाङ्गेलले लामो मिहिनेतको फलका रूपमा पुस्तकलाई पाठकको हात सुम्पिएको जनाउँदै भने, ‘आशा छ, त्यो समय आउनेछ जब हाम्रो आफ्नै इतिहासलाई सम्पूर्ण विश्वले तर्कसंगत मौलिक परिप्रेक्ष्यमा मान्यता दिनेछ ।’

बुकएन्टका निर्देशक राजा पुनियानीले भारतीय गोर्खा पहिचानको गलत व्याख्यालाई वाङ्गेलजस्ता इतिहासकारले वैज्ञानिक दृष्टिकोणबाट सम्बोधन र समाधान गर्न थालिसकेको बताउँदै भने, ‘यो पुस्तक लेखकको अटल समर्पण र बौद्धिक लगनशीलताको परिणाम हो ।’

सन् १९५० मा दार्जिलिङको घुममा जन्मिएका लेखक दार्जिलिङ र सिक्किमको हिमाली क्षेत्रको इतिहासमाथि आधारित पुस्तकहरू ‘सिक्किम एन्ड दार्जिलिङ ः डिभिजन एन्ड डिसेप्सन’, ‘फुटप्रिन्ट्स इन द हिमालय’, ‘डुअर्स भिज–ए–विज गोर्खाल्यान्ड’, ‘नेभर एन्डिङ वेट फर गोर्खाल्यान्ड’, ‘दार्जिलिङ स्टोरिज’ र ‘दार्जिलिङ स्टोरिज, साहिब्स, नेटिभ्स एन्ड अडबल्स’ लगायतका पुस्तक प्रकाशित छन् ।

कान्तिपुर

Link copied successfully