१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

डोल्पाबाट चोरिएका मूर्तिको पटकथा

काठमाडौँ — उपल्लो डाल्पा, धो–तरपस्थित गाकार गुम्बाबाट ६ वर्षअघि चोरिएको पुरातात्विक शाक्यमुनि बुद्धको कास्यमूर्ति बेइजिङको एक निजी ग्यालरीले लिलामीमा राखेपछि यस बारेमा सरोकार राख्दै समाचार आएको धेरै भएको छैन ।

डोल्पाबाट चोरिएका मूर्तिको पटकथा

यो पुरातात्विक सम्पदाझैं डोल्पा, मुस्ताङ, हुम्लासहितका हिमाली जिल्लामा रहेका दर्जनौं बौद्ध सम्पदा चोरिँदै गएको बारे समाचार आएपनि त्यसको संरक्षण–संवर्द्धन तथा जनचेतनामा त्यति प्रभावकारी काम हुन सकेको देखिन्न । शनिबार अपराह्न तारागाउँ म्युजियममा आयोजित एक समारोहमा भने डोल्पाली सम्पदा र पुरातात्विक सृजनाका बारेमा एक प्रतीकात्मक पुस्तकमार्फत चेतना बढाउने आह्वानको शुभारम्भ गरियो । ‘पेमा र डोल्पाबाट चोरिएका मूर्ति’ शीर्षकमा आएको बालचित्र पुस्तकमा डोल्पाबाट हराउँदै गएका सांस्कृतिक सम्पदाकाबारेमा ध्यान आकृष्ट गरिएको छ ।

नेपाली सम्पदाबारेको सोधमा लागेकी युनिभर्सिटी अफ ग्लास्गोमा अध्यापनरत डा. एमिलिन स्मिथले उपल्लो डोल्पामा भ्रमण गरेपछि र त्यहाँको सांस्कृतिक/धार्मिक सम्पदामा सोध गर्न थालेपछि ती भेगबाट हराएका/चोरिएका मूर्ति–सम्पदाबारेमा केन्द्रित रहेर सचेतनाका लागि पुस्तक तयार गरेको बताइन् ।

समारोहमा से–फोक्सुन्डोअन्तर्गत ये–सेर जाङचुव–लिङ गुम्बाका रनग रिम्पोचेले उपल्लो डोल्पासहितका हिमाली जिल्लामा बौद्ध धर्मका सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षणमा निकै चनाखो भएर कार्ययोजना तयार गर्नुपर्ने बताएका थिए । ‘पेमा र डोल्पाबाट चोरिएका मूर्ति’ पुस्तक डा. एमिलिन स्मिथ र चित्रकार कृषा ताम्राकारले तयार गरेका हुन् ।

यही अवसरमा तारागाउँस्थित आर्ट ग्यालरीमा डोल्पाली कलाकारहरु तेन्जिङ नुडुप लामा, तेन्जिङ नोर्वु, छिरिङ ग्याल्पो गुरुङ र पासाङ डोल्पोको डोल्पाली जीवन, थाङ्का कला र आध्यात्मिक सम्पदा झल्काउने चित्रकलाको प्रदर्शनीसमेत गरिएको छ । यो प्रर्दशनी एक साता चल्नेछ ।

प्रकाशित : मंसिर १८, २०७९ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?