भोजपुरी व्याकरण सार्वजनिक- साहित्य/विविध - कान्तिपुर समाचार

भोजपुरी व्याकरण सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — भाषाविज्ञ एवं राजनीतिज्ञ डा. गोपाल ठाकुरद्वारा लिखित ‘भोजपुरी व्याकरण (जीवंत मजबुन का साथे)’ पुस्तक सार्वजनिक भएको छ । बबरमहलमा लेखक ठाकुरसहित माओवादी केन्द्रका उपमहासचिव मातृका यादव, भाषाशास्त्री प्राडा. माधवप्रसाद पोखरेल, दानराज रेग्मी, जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष तथा भाषा आयोगका सदस्य मातृका पोखरेललगायतले पुस्तकको संयुक्त रूपमा सार्वजनिक गरे ।

ठाकुरले एक दशक लामो खोज अनुसन्धानपछि कृति प्रकाशनमा ल्याएका हुन् । उनले भोजपुरी व्याकरण प्रकाशनपछि यसले भाषा संरक्षणसँगै यसको महत्त्वलाई अझै बढाउने विश्वास व्यक्त गरे ।

पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव यादवले कृतिका बारे बोल्दै कृतिमार्फत भाषा र संस्कृतिको उठान गरेको बताए । ‘आफ्नो मातृभाषालाई जगेर्ना गर्ने लक्ष्य कृतिकार डा. ठाकुरले राख्नुभएको छ,’ उनले भने, ‘भोजपुरी व्याकरणले यसको संरक्षण, प्रवद्र्धन तथा विकासमा योगदान दिने आशा राख्न सकिन्छ ।’ भाषाशास्त्री पोखरेलले भाषाशास्त्रीय कोणबाट उक्त कृतिको चर्चा गर्दै कृति अन्तर्राष्ट्रिय प्रकाशन ‘लिंकन युरोपा’ को मोडेलमा प्रकाशित नेपालकै पहिलो ग्रन्थ भएको जिकिर गरे । उनले अझै पनि भाषालाई मात्र सञ्चारमाध्यमका रूपमा व्याख्या गरिने जनाउँदै लेखक ठाकुरले व्याकरणलाई समेत सञ्चारमाध्यमका रूपमा व्याख्या गरेको ठहर गरे ।

प्रकाशित : आश्विन १४, २०७९ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्

त्रिशूली-गल्छी सडकको पहिरो हटाउन केही दिन लाग्ने 

अप्टिकल फाइबर चुँडिएर फोन सेवा अवरुद्ध 
कृष्ण थापा

नुवाकोट — त्रिशूली-गल्छी सडक खण्डको बुधसिङघाट थालडाँडामा झरेको सुख्खा पहिरो हटाउन अझै केही दिन लाग्नु भएको छ । जिल्लाको बेलकोटगढी नगरपालिका ७ बुधसिङघाटमा बिहीबार अपराह्न ५ बजे सुख्खा पहिरो झरेपछि सडक अवरुद्ध छ ।

पहिरो हटाएर सडक खुलाउने प्रयास जारी रहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए । उनले पहिरो स्थल अवलोकन गर्दै भने,‘चाडबाडको बेला छ । छिट्टै खुलाउने प्रयासमा छौं ।’

पहिरो अवरोध भएको स्थानमा थप क्षति हुन नदिन र सुरक्षाकर्मीसमेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी रमेश पण्डितले बताए । यात्रु तथा सवारीका लागि वैकल्पिक मार्ग छहरे–टोखा र पासाङ ल्हामुमार्गको सडकखण्ड प्रयोग गर्न भनिएको छ ।

काठमाडौं-गल्छी, हेटौंडा, नारायणगढ हुँदै नुवाकोट र रसुवा प्रवेश गर्ने सवारी भारवहन गाडी महादेवफाँटदेखि पहिरो नजिकसम्म रोकिएका छन् । नुवाकोट र रसुवा हुँदै गल्छीतर्फ जाने गाडी काशीटारतर्फ दर्जनौं गाडी रोकिएका छन् । रसुवागढी नाकाबाट सामान लिएर छुटेका कन्टेरनसमेत पार गर्न मुस्किल परिरहेको छ ।

पहिरोमा पन्छाउन ४ वटा एक्स्काभेटर

पहिरो पन्छाउन गल्छी–त्रिशूली–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजनाले ४ वटा एक्स्काभेटरले काम गरिरहेको छ । आयोजनाले सिफ्ट मिलाएर अपरेटरलाई पहिरो पन्छाउन खटाइएको जनाएको छ ।

बिजुली पोल जोखिममा

पहिरो गएको स्थानमा बिजुलीका २ वटा पोल ढलेका छन् भने थप पोल ढल्ने अवस्थामा छ । समयमा विद्युत् लाइनसमेत छुटाएकाले दुर्घटना हुनबाट जोगिएको स्थानीयले बताए । त्यसैगरी पहिरो झरेको स्थानभन्दा माथि बारी र बस्ती छ । त्यहाँ ९ घर छन् । उनीहरुमा पठाइएको विद्युत् प्रवाह काटेर दिइएको छ । बेलामा सबै जना मिलेर बिजुली लाइन काटिएकाले मानवीय क्षति हुन नपाएको स्थानीय राजेन्द्र भण्डारीले बताए ।

अप्टिकल फाइबर चुँडियो

धादिङको गल्छी हुँदै नुवाकोट र रसुवाका लागि संचालन गरिएको फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । अप्टिकल फाइबर पहिरोले चुँडालिदिएपछि दुई दिनदेखि मोवाबाइल सेवा प्रभावित भएको छ । त्यसैगरी इन्टरनेट सेवासमेत अवरुद्ध भएको छ ।

प्रकाशित : आश्विन १४, २०७९ २१:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×