पद्मश्री साहित्य पुरस्कार केशवराज ज्ञवालीको 'अर्को भोर'लाई

पद्मश्री साधना सम्मान कथाकार माया ठकुरी र पद्मश्री गौरव पुरस्कार डा. सन्दुक रुइतलाई

काठमाडौँ — यस वर्षको पद्मश्री साहित्य पुरस्कार केशवराज ज्ञवालीको 'अर्को भोर' कथासंग्रहलाई दिइने भएको छ । खेमकला हरिकला समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै २०७८ सालको पद्मश्री साहित्य पुरस्कार 'अर्को भोर' लाई दिने निर्णय भएको जानकारी दिएका हुन् । 

पद्मश्री साहित्य पुरस्कार केशवराज ज्ञवालीको 'अर्को भोर'लाई

अर्को भोर कथासंग्रहका कथाहरूको शैलीमा नवीनता भएको प्रतिष्ठानले जनाएको छ । प्राप्त १४४ पुस्तकबाट पहिलो चरणमा पन्ध्र ओटा र दोस्रो चरणमा पाँच ओटा संक्षिप्त सूची यसअघि प्रकाशन गरिएको थियो। यस वर्ष पद्मश्री साहित्य पुरस्कारको निर्णायक समितिका संयोजक राम लोहनी र निर्णायक सदस्यहरु नयनराज पाण्डे र कुमारी लामा थिए ।

यसैगरी पद्मश्री साधना सम्मान तीसको दशकदेखि नेपाली आधुनिक कथाका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने कथाकार माया ठकुरीलाई अर्पण गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । उनका कथाहरु समाजका सूक्ष्म संवेदना र मनवीय भावनाले ओतप्रोत भएको पनि प्रतिष्ठानले जनाएका छन् । ठकुरीका सात ओटा कथासंग्रह, एउटा गीतिसंग्रह र एउटा बालकथासंग्रह प्रकाशित छन् ।

यसै वर्षबाट सुरु गरिएको पद्मश्री गौरव पुरस्कार लाखौं मानिसलाई आँखाको ज्याति प्रदान गर्ने नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई अर्पण गर्ने निर्णय गरिएको छ। दुर्गम हिमाली गाउँमा जन्मिएर कठिन संघर्ष गर्दै नेत्र चिकित्सकीय क्षेत्रको सगरमाथा बन्न सफल रुइत अँध्यारोमा रुमलियका लाखौं जीवनलाई उज्यालो दिने मानवतावादी डाक्टर हुन् । 'सन्दुक रुइत' नामक उहाँको जीवनी अली ग्रिपरले अङ्ग्रेजीमा लेखका छन् भने नेपालीमा खगेन्द्र संग्रौलाले अनुवाद गरेका छन् ।

वि.स. २०६३ देखि खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निणार्यक मण्डलले उत्कृष्ट ठहत्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।

त्यस्तै २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ । यसै वर्षदेखि प्रतिष्ठानले समाजलाई गौरवपूर्ण योगदान दिनुहुने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई पद्मश्री गौरव पुरस्कार द्वारा सम्मान गर्ने भएको हो । पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीन ओटैको राशि तीन लाख रुपैयाँ रहेको छ । तीन ओटै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन प्रदान गरिन्छ ।

प्रकाशित : भाद्र १६, २०७९ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?