खण्ड–खण्डमा नेपाली साहित्यको इतिहास

माघ २९, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालभित्र तथा बाहिर बिस्तारित नेपाली साहित्यको बृहत् इतिहास तयार गर्ने क्रममा जगदम्बा प्रकाशनले ‘नेपाल बाहिरको नेपाली साहित्य’को विस्तृत खण्ड प्रकाशित गरेको छ ।

चार वर्षअघि ‘नेपाली भाषा, व्याकरण र अभिलेखीय व्याकरणको इतिहास’ बाट नेपाली साहित्यको बृहत् इतिहास लेखन सुरु गरेकोमा भाषाविद् डा. माधवप्रसाद पोखरेल प्रधान सम्पादक र डा. चुडामणि बन्धु तथा डा. दयाराम श्रेष्ठ कार्यकारी सम्पादक रहेको विज्ञ टोलीले ‘नेपाल बाहिरको नेपाली साहित्य’को खण्ड तयार गरेको हो ।

बृहत् इतिहासको दोस्रो खण्डका रुपमा ‘नेपाली लोक साहित्य’ पनि प्रकाशनमा आइसकेको छ । ‘नेपाली भाषा, संस्कृति र लोकसाहित्यले एकीकरण गरेका नेपाल बाहिरका नेपालीहरुको व्यथाको स्वरुप र मात्रा एकनासको छैन भन्ने कुरो उनीहरुको साहित्यले देखाउँछ,’ ग्रन्थको सम्पादकीयमा प्रधान सम्पादक डा. पोखरेलले भनेका छन्– ‘नेपाली परम्परामा बाहिरै जन्मिने र नेपाल नफर्कने गरी विदेशमा बस्नेहरुलाई ‘प्रवासी नेपाली’ भन्ने चलन छ भने, नेपाल फर्कने गरी केही समयका लागि विदेसिएका नेपालीलाई ‘परदेशी नेपाली’ भन्ने चलन छ । यी दुई थरी नेपालीहरुको नेपाल बाहिर हुँदाको पीर धेरैजसो मिल्दैन । अंग्रेजीमा प्रचलित ‘डायास्पोरा’ शब्द प्रवासी नेपालीका लागि बढ्ता मिल्ने मेरो अड्कल छ ।’

संसारभर छरिएका रहेका नेपालीभाषीको भाषा–साहित्यको चेतना र तहलाई सम्बोधन गर्ने गरी निकालिएको  संग्रहमा भुटानी नेपाली साहित्यको इतिहास तथा बर्मेली नेपाली भाषा–साहित्यको विवरण पनि समेटिएको छ । ७ सय पृष्ठभन्दा ठूलो संग्रहमा सबैभन्दा बढी भारतीय नेपाली साहित्यको विवरणले स्थान पाएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य(डायस्पोरिक) खण्डमा भुटान, म्यान्मा(बर्मा), मलेसिया, हङकङ, दक्षिण कोरिया, इजराइल, रुस, युरोपेली १० देश, अस्ट्रिया, बेलायत, अष्ट्रेलिया, उत्तर अमेरिकासहितका देश समेटिएका छन् । यो खण्डको सम्पादक डा . गोविन्दराज भट्टराई रहेका छन् । अन्तर्राष्ट्रिय साहित्यका सन्दर्भमा खाडीका कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र फ्रान्स, जर्मनी, सिंगापुर, जापान, ताइवानको नेपालीभाषी साहित्यिक चर्चा भने अर्को संस्करणमा थपिने सम्पादकले जनाएका छन् । 

यस्तै, भारतीय नेपाली साहित्य खण्डमा दार्जीलिङ, डुवर्स, सिक्किम तथा, उत्तर भारत, पूर्वोत्तर भारतससहितको साहित्यिक इतिवृत्तिमा सम्पादक डा. कविता लामा, डा. खगेन शर्मा र डा. अलका आत्रेय चुडाल रहेका छन् । नेपाली साहित्यको बृहत इतिहासका अघिल्ला दुई ठेली कमलमणि (दीक्षित) प्रकाशनबाट प्रकाशित भएका थिए भने तेस्रो ठेलीदेखिको प्रकाशन जिम्मा जगदम्बाले लिएको छ । ५ भागसम्म तयार गर्ने योजना राखिएको बृहत् इतिहासमा अब आधुनिक साहित्यको विविध पक्षमा नयाँ खण्ड निकाल्ने तयारी रहेको प्रकाशन गृहले जनाएको छ । 

ग्रन्थमा प्रधान सम्पादक डा. पोखरेलले ‘डायस्पोरा’ लाई नयाँ तवरमा व्याख्या गरेका छन् जहाँ भुटानबाट लखेटिएर आएका शरणार्थी आज बाहिरी विश्वमा पुनर्बासोबासमा पुगिसकेको उदाहरण दिँदै भनेका छन्ने– 'नेपाल बाहिरका नेपालीहरु कोही बाध्यताले ‘विदेशी’ भएका छन् भने कोही स्वेच्छाले विदेशिएका छन् । बाध्यताले विदेसिनेहरु नै सक्कली डायस्पोरा हुन्, तर बाध्यता र परिबन्दले नै विदेशी बनाइएका भारतीय नेपाली आफ्नो जन्मभूमिमैं आफूलाई ‘डायस्पोरा’ भनेको मन पराउँदैनन् ।'

पारसमणि जयन्तीका अवसरमा प्रकाशित ‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’ (नेपाल बाहिरको नेपाली साहित्य)को मूल्य १५ सय रुपैयाँ छ । 

कान्तिपुर

Link copied successfully