नयनराज पाण्डेको ‘जियरा’ बजारमा- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयनराज पाण्डेको ‘जियरा’ बजारमा

कान्तिपुर संवाददाता

काठमाडौँ — लेखक नयनराज पाण्डेको नयाँ कृति ‘जियरा’ सोमबारबाट बजारमा आएको छ । गत चैतमै पुस्तक बजारमा पठाउने तयारी गरिए पनि कोरोना महामारीका कारण ढिला भएको थियो ।

निषेधाज्ञाकै कारण कुनै सार्वजनिक कार्यक्रम नगरी पुस्तक बजार पठाइएको प्रकाशकले जनाएको छ । असार १ गतेदेखि काठमाडौं उपत्यकामा बिहान ११ बजेसम्म पुस्तक पसल खुल्ने भएका छन् ।

‘जियरा’ मा पाण्डेले पछिल्लो समयमा लेखेका १३ ओटा लामा कथा समावेश छन् । ‘जति किताब लेखिसकेँ पनि आफ्नो नयाँ पुस्तक प्रकाशन हुँदा लेखक उत्साहित नै हुन्छ, म पनि उत्साहित छु,’ लेखक पाण्डेले भने, ‘यो उत्साहमा पाठकको प्रतिक्रिया बुझ्ने मेरो हुटहुटी पनि मिश्रित छ । मैले एउटै पात्रका बहुल रूप, एउटै कथामा बहुल कथानक र बहुल परिवेश अनि कथामा यथार्थ र मिथकको सम्मिश्रणले आख्यानको एउटा बेग्लै आभामण्डल निर्माण गर्ने प्रयास गरेको छु । त्यसमा म कति सफल भएँ, त्यो जान्न म व्यग्र प्रतीक्षामा छु ।’

मधेसको पृष्ठभूमिमा लेखिएका कथाहरूको सङ्ग्र्रह ‘जियरा’मा आफूले आफ्नै पूर्ववर्ती लेखन पद्धति भत्काउँदै कथावाचनको पृथक् र प्रयोगमूलक शिल्प अनि शैलीसित पाठकलाई परिचित गराउन खोजेको पाण्डेको भनाइ छ । । मुख्य कथाभित्र विभिन्न उपकथा बुन्ने बेजोड कलासँग साक्षात्कार गराउँछन् ।

जादुयी यथार्थवादी कथाहरूको मानक बनेर आएको पाण्डेको सङ्ग्रह पुँजीवाद, भ्रष्ट राजनीति र राजनीतिक संस्थापन, लोभ अनि पितृसत्ताको बलियो आलोचना रहेको प्रकाशन गृह फाइनप्रिन्टका अजित बरालले बताए । ‘मलाई लाग्छ, पाण्डेका पूर्वप्रकाशित कृति ‘उलार’ र ‘लू’ले जसरी ‘जियरा’ले पनि नेपाली आख्यानमा दरिलो उपस्थिति जनाउनेछ,’ उनले भने ।

पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो । यसको मूल्य ४७५ रुँपैयाँ तोकिएको छ ।

प्रकाशित : जेष्ठ ३१, २०७८ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्

नेता खनाल अस्पताल भर्ना

रासस

काठमाडौं — नेकपा (एमाले) का नेता झलनाथ खनाल थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल भर्ना भएका छन् । नियमित उपचारका लागि अस्पताल पुगेका खनाललाई चिकित्सकको सल्लाहअनुसार नै भर्ना गरिएको हो ।

कमजोरी महसुस गरेपछि उपचारका लागि पुगेका खनाल चिकित्सकको सल्लाहमै आराम गर्न अस्पताल भर्ना भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

‘केही कमजोर महसुस भएपछि उहाँलाई आज अस्पताल ल्याइएको थियो,’ उनले भने, ‘घरमा भन्दा चिकित्सकको निगरानीमा अस्पतालमा आराम गर्न सजिलो हुने भएकाले भर्ना गरिएको हो ।’

उनले नेता खनाललाई जटिल समस्या नरहेको र दुई–तीन दिनपछि घर फर्किने बताए । पूर्वप्रधानमन्त्री खनाललाई यसअघि कोभिड संक्रमण देखिएपछि नर्भिक अस्पताल भर्ना गरी उपचार गरिएको थियो ।

प्रकाशित : जेष्ठ ३१, २०७८ १३:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×