तुलसी दिवसको ‘नेपाली लोककथा’ बजारमा


काठमाडौँ — लोक साहित्य तथा संस्कृति अन्वेषक तुलसी दिवसको प्रसिद्ध लोककथा संग्रह ‘नेपाली लोककथा’ सार्वजनिक भएको छ ।

बुक–हिल पब्लिकेसनले ‘क्लासिक सिरिज’ अन्तर्गत प्रकाशन गरेको यस पुस्तकमा नेपालका विभिन्न भू–भागमा बसोबास गर्ने विविध जातिहरू तथा नेपालबाहिर बसोबास गर्ने नेपालभाषीका जनजीवनमा प्रचलित १२२ वटा लोककथा समेटिएको छ ।
पुस्तकबारे लेखक, संकलक तथा सम्पादक तुलसी दिवस भन्छन्, ‘पञ्चायतकालमा सत्ताको कहर खप्दै करिब एक दशकभन्दा लामो समय लगाएर संकलन र सम्पादन गरिएको यो पुस्तकमा लोककथाको स्थान, जाति, वर्ग, भाषा आदिको आधारमा विश्वप्रसिद्ध लेखक र चिन्तकका सिद्धान्तलाई आधार मान्दै वैज्ञानिक विश्लेषण र वर्गीकरण गर्ने कोसिस गरेको छु ।’
सांस्कृतिक, एतिहासिक, सामाजिक, अर्ती–उपदेश, ठगी–चलाखी, लोभी–कन्जुस्याइँ, विश्वासघात, पशुपक्षी, भूत, राक्षस, परी, जादु, दैवी, बहादुरीलगायतका विषयका लोककथाहरूमा स्थानीय भाषा, लवज र लोकजीवनको चित्रण गरिएको छ ।
बढ्दो आधुनिकी र यान्त्रीकरणको युगमा लोककथाको यो पुस्तकले पाठकलाई आफ्नो अतीततिर फर्काउन र आफ्नो आदि–इतिहास बुझ्न मद्दत गर्ने र सामान्य पाठकदेखि प्राज्ञिक वर्गका निम्ति पनि यो पुस्तक संग्रहणीय रहेको प्रकाशक बुक–हिल पब्लिकेसनले जनाएको छ ।
विभिन्न विश्वविधालयहरूमा लोकसाहित्य अध्ययनको स्रोत पुस्तकको रूपमासमेत रहेको करिब ६०० पृष्ठको सचित्र किताबको मूल्य ९९९ रुपैयाँ रहेको छ । २०३१ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले यो पुस्तकको पहिलो संस्करण प्रकाशन गरेको थियो ।
प्रकाशित : फाल्गुन ६, २०७७ १३:२९