कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

दास मुक्तिको ओडिसी

सत्यदेवको अगुवाइमा मोक्षनगरका निम्ति जमिन खोज्न हिँडेको यात्रा पढ्दा कतै लेखकले कवि होमरले झैं नयाँ ओडिसी सिर्जना गरेको हो कि भन्ने भान पर्छ । यसर्थ नेपाली उपन्यासको नक्सामा मोक्षभूमिको ठाउँ स्पष्ट र जब्बर छ भन्नेमा मेरो दृढ मत छ ।
नारायण ढकाल

नेपाली राजनीतिको पुनर्गठन विषयमा अलग्गै किसिमले अभिमत राख्दै आएका केशव दाहाल अब आख्यानकारको नयाँ अवतारमा प्रकट भएका छन् । उनको उपन्यास ‘मोक्षभूमि’ किताब पब्लिसर्सले असोज २०७७ मा प्रकाशित गरेको छ । यो किताबमा देखिएको उनको छवि राजनीतिक टिप्पणीकारको भन्दा धेरै भिन्न छ । राजनीतिक चिन्तनमा उनी समसामयिक समस्यामा एकाग्र छन् भने मोक्षभूमिमा उनले सुदूर अतीतको कथा बुनेका छन् ।

दास मुक्तिको ओडिसी

कोरोना भाइरसले आतङ्कित पारेको यो समयको एक दिन, लगभग एक महिना जति अघि, लेखक केशव दाहालसँग मेरो छोटो भेट भएको थियो । मैले सोधेको थिएँ, ‘के ’मोक्षभूमि’ ऐतिहासिक उपन्यास हो ?’ उनले भनेका थिए, ‘होइन, यो विशुद्ध कथा हो ।’ जब मैले उपन्यास पढ्न थालेँ तब मलाई एकपछि अर्को गरी तथ्य र आख्यानका दुइटै पहाडले किच्न थाले । कतै तथ्यको नजिकनजिकजस्तो र अनि आख्यान त आफैंमा भइहाल्यो ।

उपन्यासको सुरुको वाक्य यसप्रकार छ– ‘संवत् १२९०, भदौ महिनाको तेस्रो शुक्रबार ।’ यस्तै मिति जनाउने अर्को वाक्य पनि छ अध्याय ३ को सुरुमा– ‘संवत् १२८०, शरद ऋतुको पहिलो दिन ।’ यी दिन शाके, नेपाल, इस्वी वा विक्रम कुन संवत्का हुन् स्पष्ट नभए पनि यिनले पाठकका निम्ति सुदूर इतिहासको समय बुझाउने विम्ब र अवधारणा निर्माण गर्छन् । यस्तै इतिहासमा उल्लिखित सिंजा, त्यहाँका राजा क्राचल्ल र उपन्यासमा वर्णित क्राचल्लदेवको विशेषतामा मेल हुने केही सन्दर्भ छन् । क्राचल्ल बौद्धमार्गी र धार्मिक सहिष्णुताका पक्षधर हुन् । उनले आफ्नो शासनकालमा कुमाउँ आक्रमण गरेर त्यहाँ आधिपत्य स्थापना गरेका थिए । उनले विक्रम संवत् १२६४ देखि १२८० सम्म राजपाठ चलाएको इतिहास छ । यस्तै उपन्यासको प्रधान पात्र क्राचल्लदेव पनि बौद्धमार्गी भएको र उनले आफ्नी कान्छी रानी अप्सराका निम्ति प्रेम उपहार दिन कुमाउँमाथि आक्रमण गरेर कब्जामा लिएको कथा छ । उपन्यासमा इतिहासको झल्को दिने केही छाया पात्रहरू पनि छन्, जस्तै ः मधुमालती, छ्वानदेन र भय मल्ल । तिनले क्रमशः हाम्रो इतिहास र वंशावलीमा वर्णित भृकुटी, स्रङ्चन गम्पो र अभय मल्लको झझल्को दिन्छन् ।

यति हुँदाहुँदै पनि लेखक आफैंले भनेझैं यो ऐतिहासिक उपन्यास होइन । यो सामाजिक किताब हो, तथापि यसको स्थापत्य इतिहासबोधको जगमा चाहिँ बनेको छैन । त्यो विशेष समयमा (संवत् जेसुकै होस्) क्राचल्लदेवको सिंजा दरबारले कसरी दस हजार दासहरूलाई मुक्त गर्‍यो र मुक्ति पाएका दासहरूमध्ये नौ हजारका अगुवा सत्यदेवको नेतृत्वमा कसरी मोक्षनगरको निर्माण भयो भन्ने जिज्ञासाको उत्तर नै यो किताबको मेरुदण्ड हो । मोक्षनगरको निर्माणपछि गरिमामय मानवीय सभ्यता निर्माणहेतु उदात्त मूल्यहरूको स्थापनार्थ लेखकले राखेका आग्रह नै उपन्यासका अन्तरवस्तु हुन् । पुस्तकको गाताको पछाडि पनि स्पष्ट लेखिएको छ– ‘कष्टको पिँजडाबाहिर आउन मान्छेहरूको तीव्र छटपटी र तिनै कष्टहरूको जन्जिरबाट फुत्किएका दासहरूको सयौं वर्षअगाडिको कथा हो यो ।’

लेखक दाहालले इतिहासबाट बहिर्गमन गर्ने र कथा लेख्ने विषयमा उपन्यासको पहिलो र दोस्रो अध्यायमा रोचक घटना प्रस्तुत गरेका छन् । मोक्षनगर बनेपछि नगरसभाले स्वरदेव नाम गरेका लेखकलाई दासहरूको इतिहास लेख्ने जिम्मा दियो । तर, जब स्वरदेव लेख्न बस्यो उसले इतिहास होइन कथा लेख्ने निर्णय गर्‍यो । स्वरदेवमार्फत लेखकले पुस्तकको पृष्ठ आठमा भनेका छन्, ‘यो इतिहास होइन, इतिहास र कथाबीच सानो सिमाना हुन्छ ।’

एक साताभित्र पढिसिध्याउने लक्ष्य राखेर पढ्न बसको थिएँ तर किताब समातेपछि प्रस्तावित लक्ष्य भत्कियो । पढ्न थालेपछि अरू काम गर्नै मन लागेन । फलस्वरूप ः दुई दिनका लामा दुई बसाइमा पढिभ्याइयो । किताब पढेपछिको मेरा केही संक्षिप्त निष्कर्ष छन्– पहिलो, लेख्नुअघि लेखकले सामग्रीहरूको संग्रहमा धेरै मिहिनेत गरेको देखिन्छ । मूलतः एउटा लेखकले उपन्यास लेखनलाई लहडको सतही विषय नबनाएर एउटा प्राज्ञिक चेष्टाको विषय बनाउन खोजेको स्पष्ट बुझिन्छ । दोस्रो, उपन्यासको मूल स्वभाव पौराणिक वा दार्शनिक नभए पनि तत्ससम्बन्धी सामग्रीको प्रचुरता पाइन्छ । यसैले उपन्यास पढ्दा कतै पुराण, कतै स्वतन्त्रताको जयगान र कतै दर्शनको उत्तेजक स्पर्शबोध हुन्छ । अभयनाथ, ब्रह्मानन्द, राजगुरुजस्ता पात्रहरूको अद्वैत, शून्य र मोक्ष विषयक बहस निकै रोचक छ । तेस्रो, सत्यदेवको अगुवाइमा मोक्षनगरका निम्ति जमिन खोज्न हिँडेको यात्रा पढ्दा कतै लेखकले कवि होमरले झैं नयाँ ओडिसी सृजना गरेको हो कि भन्ने भान पर्छ । यसर्थ नेपाली उपन्यासको नक्सामा मोक्षभूमिको ठाउँ स्पष्ट र जब्बर छ भन्नेमा मेरो दृढ मत रहेको छ ।

लेखकले भनेझैं इतिहासमा कथा नरहे पनि कथामा इतिहास रहन्छ । हिन्दीका समीक्षक मैनेजर पाण्डेय पनि भन्छन्, ‘आख्यानमा चित्रण गरिएको मानिस ऐतिहासिक व्यक्ति हुन्छ । ऊ इतिहासबाट बन्छ र इतिहासलाई बनाउँछ ।’ ‘पहल–७७’ नामक पत्रिकामा प्रकाशित ‘उपन्यास र लोकतन्त्र’ शीर्षकको लेखमा उनले प्राज्ञ मिसेल जेरेफाको एउटा भनाइ उद्धृत गरेका छन् । मिसेल भन्छन्, ‘उपन्यासको पाठमा चित्रित मानिस एक्लै बाँच्न सक्दैन । उसको एउटा अतीत, एउटा वर्तमान र एउटा भविष्य हुन्छ । इतिहासले प्रमाणित गर्छ– इतिहास नभई समाज हुँदैन र समाजबिना पनि इतिहास हुँदैन । उपन्यास यस्तो कला हो जसले ऐतिहासिक र सामाजिक रूपले परिभाषित मानिसलाई पुनर्प्रस्तुति गर्छ ।’

यही आलोकमा मोक्षभूमि पढ्दा उपन्यासकार दाहालले अपनाएका केही विषयले भने मेरो मथिङ्गल हल्लायो । विशेषगरी विषयवस्तु, संरचना, पात्रहरूको विकास, कथाको मार्गचित्र र परिवेशको विश्वसनीयताको सवालमा म धेरै दिन अलमलिएँ । जब लेखक भन्छन, ‘कथा इतिहास पनि हो’ भने ‘मोक्षभूमि’ को कथामा हाम्रो कुन इतिहास आयो ? कुन समयका पात्रहरू आए ? कुन समयको सामाजिक द्वन्द्वको चित्रण गरियो ? यी प्रश्न अहिले पनि मेरो टाउकोबाट बाहिरिन सकेका छैनन् ।

दास व्यवस्था मानव इतिहासको एउटा दुःखान्त कलंक हो । यो कलंक विश्वका सबै समाजमा विभिन्न रूपमा घटेको थियो । तर, चीन र दक्षिण एसियामा प्राचीन रोम वा ग्रीसको जस्तो दास व्यवस्था थिएन भनेर धेरै इतिहासकारहरूको अभिमत छ । यस्तो भन्नेमा जवाहरलाल नेहरू एक हुन् । उनको इतिहासको किताब ‘विश्व इतिहासको झलक’ मा यो विषय छ । त्यस्तै रोम वा ग्रीसको दास व्यवस्थाको सापेक्षतामा आर्यावर्त भनिएको भारतीय उपमहाद्वीपले दासहरूमाथि धेरै उदार र मानवीय व्यवहार गरेको देखेर युनानी दूत मेगस्थनिजले छक्क पर्दै भनेका थिए, ‘भारतीय उपमहाद्वीपमा एक जना पनि दास छैनन् ।’ मेगस्थनिज इपू ३०२ मा चन्द्रगुप्त मौर्यको समयमा पाटलीपुत्र आएका थिए । उनले लेखेको यात्रा वर्णनको पुस्तक ‘इन्डिका’ मा यो भनाइ छ भनी युनानी इतिहासकारहरू भन्छन् ।

दास शब्दको प्रयोग वैदिक साहित्यमा आर्यहरूका विरोधी मूल निवासीहरूका लागि भएको छ । यसबाट बुझिन्छ, आर्यसित युद्धमा हारेका बन्दीलाई पछि सेवा–काममा लगाइएको हो । दासलाई दानमा लिने पनि उल्लेख पाइन्छ । पछि गएर केही आर्यहरूको अवस्था पनि दासको जस्तै भयो । बौद्ध साहित्यमा पनि दासहरूको उल्लेख पाइन्छ । त्यहाँ तीन किसिमका दासको वर्णन छ । स्वामीको घरमा जन्मिएको, धनले किनिएका र युद्धमा जितिएका । अझ मनुले सात किसिमका र नारद स्मृतिले पन्ध्र प्रकारका दास रहेको वर्णन गरेका छन् (भारतीय संस्कृति कोश ः लीलाधर शर्मा पर्वतीय) ।

यस्तै अठारौं शताब्दीमा युरोपका केही देश र अमेरिकाले अपनाएको जस्तो क्रूर र मानवद्वेषी दासप्रथा दक्षिण एसिया र नेपालमा थिएन । बरु यहाँ त्यत्तिकै स्तरको अमानवीय र प्रतिगामी वर्णव्यवस्था थियो, जसका कुरूप झाँकीहरू अहिलेसम्म पनि हाम्रो समाजमा विद्यमान छन् र तिनले हामीलाई हरदिन कोतरिरहेका छन् ।

नेपालमा दासप्रथाको जन्म र अवसानबारे त्यति विस्तृत खोज र अनुसन्धान भएको छैन । दासमोक्षका पछिल्ला केही घटना इतिहासमा लिपिबद्ध छन् । एउटा विसं १९८१ मार्ग १४ गते श्री ३ चन्द्रशमशेरले गरेको दासप्रथा उन्मूलन र अर्को विसं २०५७ र २०७० मा क्रमशः भएका कमैया र कमलरी प्रथाको अन्त्यको घोषणा । यीबाहेक काठमाडौं उपत्यकामा शंखधर साःख्वाले बालुवालाई सुन बनाएर जनताको ऋण तिरेको आहान इतिहासजत्तिकै बलवान छ । यो वंशावलीमा आधारित किंवदन्तीमा शंखधरले दासको ऋण तिरे/नतिरेको विषय भने स्पष्ट छैन । चन्द्रशमशेरले चाहिँ ६० हजार दासलाई मुक्त गरेका थिए । यसबापत ३६ लाख ७० हजार रुपैयाँ खर्च भएको थियो । त्यो पैसा पशुपतिनाथको गुठीबाट झिकिएको थियो । मुक्तहरूलाई भिक्षाखोरी अर्थात् हालको अमलेखगन्जमा पुनःस्थापना गरियो ।

क्राचल्लदेवले दासहरूलाई मुक्त त गरे तर उनीहरूको पुनःस्थापनाचाहिँ किन गरेनन् ? खट्किने प्रश्न छ । विपुल उदारवादी सोचका धनी र प्रेमका उद्भट उपासक क्राचल्लदेव के राणा चन्द्रशमशेर जत्ति पनि अग्रगामी थिएनन् ? कान्छी रानीलाई उपहार दिन कुमाउँ आक्रमण गरेर जित हासिल गरेको लगत्तै युद्धप्रति प्रदर्शित उनको विरक्तिले दासमोचनतिर उनको अग्रसरता बढाएको छ । युद्ध र विजयमा गौरवान्वित रहँदै बाँचेको एउटा राजालाई मन पर्ने कान्छी रानीको पहिलो प्रतिक्रियाले एकाएक युद्धविरोधी खेमामा पुर्‍याउनु स्वाभाविक नभएर थोपरिएको जस्तो लाग्छ । यस्तै सिंजा दरबारको शक्तिसित जोडिएको राजा र युवराजमाझको कलह दरबारको कलहजस्तो नभएर सामान्य मानिसको घरझगडाजस्तो देखिन्छ । यी कार्यव्यापारमा क्राचल्लदेव र उनका विपक्षीहरूका शिथिल भूमिकाले उनलाई प्रखर र विश्वसनीय पात्र बन्न दिएको छैन । बरु राजाको तुलनामा दासविमोचनको विरोधमा रहेका राजगुरु आर्यदेव जीवन्त लाग्छन् । उनको चरित्रचित्रणमा भने स्वाभाविक गति पाइन्छ ।

उपन्यासका अन्य महत्त्वपूर्ण पात्रहरू जस्तै राधा, ताम्रा, सत्यदेव, कृष्णदेव, भार्गदेव आदिहरू पनि उनीहरूको आफ्नो कार्यव्यापारले भन्दा अधिक वर्णनको चापमा थिचिएर राम्ररी हिँड्नसमेत नसकेका जस्ता लाग्छन् । उदाहरणका लागि के–के गुण भएर सत्यदेव मुक्त दासहरूको नायक भए उनको व्यवहारले बताउँदैन । यस्तै राधा–कृष्णदेव र दमयन्ती–भार्गदेवको प्रेमलाई किन गहिराइमा पुर्‍याउन लेखकले कञ्जुस्याइँ गरे, मैले पहिल्याउन नसकेको अर्को पहेली हो । भार्गदेव र कृष्णदेवको कूटनीतिक यात्राको अभिधार्थ र प्रयोजन पनि केका लागि ? त्यसको प्रतिफल खोइ ? यसप्रकारका अरू प्रश्न पनि छन् । अब यसपछि मेरो खुलदली अरू बढ्छ र सबाल बन्छ– के कलासाधकले पुरानो समयको कथा लेखे पनि कलात्मक प्रतीक, ध्वनि र विम्बद्वारा अहिलेको नेपाली समाजको संकट र छटपटीबाट पुनर्गठनतिर जानुपर्ने यात्रा र गन्तव्यलाई संकेत गर्नु पर्दैन ? यस्ता प्रश्नले प्राज्ञिक र सौन्दर्यशास्त्रीय बहसको माग गर्छन् ।

उपन्यास निकै जोखिम र चुनौती भएको साहित्यिक विधा हो । साहित्यिक अनुशासनका अन्य विभागको तुलनामा उपन्यासभित्र कला र सामाजिक विज्ञानका धेरै सङ्काय समेट्न सकिने सम्भावना रहन्छ । यही कारणले पनि उपन्यासलाई मानव सभ्यताको पछिल्लो युगको गद्य महाकाव्य भनिएको हो । यो विधामा कथा भन्नुभन्दा कथा देखाउनु ठीक हुन्छ भन्ने स्थापित मान्यता छ । यस विषयमा अर्को मान्यता पनि छ– जीवनको गूढ र गम्भीरतम दर्शनलाई समेत सजिलो तरिकाले भन्न सक्नु । तर, लेखकको बौद्धिक पहलमानीको उचाइ निकै अग्लो भएर पनि यो मान्यताको प्रयोग ‘मोक्षभूमि’ मा धेरै कम मात्रामा भएको छ । सायद यो विशेषता उपन्यासकार दाहालको मात्र एकल समस्या नभएर हाम्रो समग्र औपन्यासिक इतिहासको पनि सीमा हो कि ?

प्रकाशित : मंसिर २०, २०७७ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?