डा. शर्माको 'सिंहदरबारको घुम्‍ने मेच' सार्वजनिक

कार्तिक २, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. सुधा शर्माको संस्मरणात्मक कृति ‘सिंहदरबारको घुम्ने मेच’ सार्वजनिक भएको छ ।

पूर्व राष्ट्रपति रामवरण यादवले प्रतिक्रिया दिँदै पुस्तकले आउने पुस्तालाई केही सिक्ने मौका दिने बताए ।  डा. शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पूर्व सचिव पनि हुन् ।

नेपाल पब्लिकेसनले बजारमा ल्याएको यो पुस्तकमा शर्माको निजी साहस र सरकारी सेवामा रहेका सिमित महिला सचिवहरूले सामना गरेका ऐतिहासिक असहजताको वर्णन गरिएको छ । ‘नयाँ नेपाल’को समायोजनका क्रममा ब्यूरोक्रेसी भित्रको उबडखाबड बाटो हिंड्दाको अन्तरकथा पुस्तकमा उल्लेख छ । 

‘डा. शर्माको पुस्तक एक महिलाको कथा हो, जसले पितृसत्ताको असक्षम संरचनामाथि उभिएको ऐनाको महललाई प्रहार गर्ने आँटको कथा बोकेको छ,’ नेपालय पब्लिकेसन्सका सम्पादक भूषिता वशिष्ठ भन्छिन्, 'यस पुस्तकले नेपालमा पहिचान र लिङ्गमाथि चल्ने छलफलबीच अर्थपूर्ण आयाम थप्नेछ ।'

शर्मा २०६५ असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिवको कार्यभार सम्हालेकी थिइन् ।

कान्तिपुर

Link copied successfully