न्यूयोर्कमा राष्ट्रकवि घिमिरेको सम्झना

आश्विन १३, २०७७

कान्तिपुर संवाददाता

न्यूयोर्क — राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्मृतिमा अमेरिकाको न्यूयोर्कमा आयोजित बृहत कविता संगोष्ठीमा २ दर्जनभन्दा बढी कविले रचना पाठ गरेका छन् ।

न्यूयोर्क, न्यूजर्सी, बोस्टन आसपासका कवि–कवयीत्रिले हालै दिवंगत कवि घिमिरेको भाषिक र साहित्यिक योगदानमाथि चर्चा गर्दै नेपालको भाषा–साहित्यमा यो युगलाई ‘माधव घिमिरे युग’ भन्नु उपयुक्त हुने सुझाएका थिए । आदिकवि भानुभक्त आचार्यपछि जनजनमा भिजेका र लेखिएका गीत–कविताकै भरमा कालजी बनेका कविवर घिमिरे जीवित छँदै एउटा किंवदन्तीझैं बनेको स्रष्टाहरुले बताए ।

तारा किशन फाउण्डेशनले आयोजना गरेको समारोहमा कवि किसनसिंह धामीले कोरोना कहरमाझ पनि कवि–लेखकहरु सुस्ताएका छैनन् भन्ने जनाउन र सृजनशिलताको सकारात्मक पक्ष सार्वजनिक गर्न कविता वाचन कार्यक्रम आयोजना गरिएको बताएका थिए ।

समारोहमा संचारकर्मी शैलेश श्रेष्ठ, सामाजिक अभियन्ता राजेश भट्ट, नवराज केसी, विराज रिजालले कविवर माधव घिमिरेकै कारण संसारभर बस्ने नेपालीले नेपाली भाषा–साहित्यको आफ्नोपना बोध गर्न पाएको बताएका थिए ।

समारोहमा कविहरु गोवर्धन पूजा, गीता खत्री, आनन्द श्रेष्ठ, महेश्वर पन्त, किसनसिंह धामी, गीता पन्थ, दीपा राई पुन, नदिया लिबाङ, जसकुमार राई, विकास विष्ट, मणि बाग्देल, जानुका बस्ती ढकाल, संगिता उप्रेती रिजाल, विजया सिम्खडा, ज्योतिकुमार श्रेष्ठ, कुमार न्यौपाने, शान्ता घिमिरे, नवराज खडका, हंसराज जोशी, विष्णुहरी भण्डारी, अर्जुन मैनाली, आरती धामीलगायतले रचना वाचन गरेका थिए ।

कान्तिपुर

Link copied successfully