३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

चर्चामा चन्द्रप्रकाश

मदन पुरस्कार पाएपछि चर्चामा आएका २०४८ सालका सांसद ७० वर्षीय चन्द्रप्रकाश बानियाँ भन्छन्, ‘पुरस्कार पाउँदा म खुसीभन्दा पनि छक्क परें ।’ 
दीपक परियार

पोखरा — मदन पुरस्कारको मनोनयनमा परेपछि पनि ‘महारानी’का लेखक चन्द्रप्रकाश बानियाँको खासै खोजबिन भएन । उपन्यासकी केन्द्रीय पात्र ‘महारानी’ गुमनाम भएजस्तै राजनीतिबाट अलप भएका यी लेखकको पहिलो आख्यानले नेपाली साहित्यको सबभन्दा ठूलो मानिने ४ लाख रुपैयाँको मदन पुरस्कार जितेपछि भने उनका बारे खोजी सुरु भयो । 

चर्चामा चन्द्रप्रकाश

पोखराको सिमलचौरको डेराबाट टेलिफोनमा भेटिएका बानियाँले मदन पुरस्कार गुठीले २०७६ सालको पुरस्कार आफ्नो पुस्तकलाई देला भन्ने एकरति पनि नसोचेको बताए । गुठीलाई हेर्ने उनको जुन दृष्टिकोण थियो, पुरस्कार पाउने अपेक्षा नराख्नुमा त्यसले काम गरेको थियो । ‘यसअघि इतिहाससँग सम्बन्धित तीन कृतिले लगातार पुरस्कार पाएकाले पनि मैले नपाउनेमा निश्चिन्त थिएँ,’ उनले भने, ‘यो संस्थाको जस्तोखालको प्रवृत्ति थियो त्यो हेर्दा मलाई पुरस्कार दिन्न भन्ने लाग्थ्यो ।’ आफूले नपाउनेमा ढुक्क भएका बानियाँ पुुुुुरस्कार पाउँदा खुसी त पक्कै भए होलान् । ‘म खुसीभन्दा पनि छक्क परें,’ उनले भने ।

असोज ४ गते बिहानै गुठीका अध्यक्ष कुन्द दीक्षितले फोन गरेपछि उनलाई लाग्यो संस्थाले आफूलाई पुरस्कार नदिनुपर्थ्यो । आफूभन्दा स्थापित लेखक मनोनयनमा भएकाले उनीहरु नै दाबेदार भएको उनी ठान्थे । पुस्तकमार्फत् दिन चाहेको विषयबस्तु समाजमा गइसकेकोले पुरस्कार पाउनु र नपाउनुमा कुनै भिन्नता देख्दैनथे उनी । ‘यसअघि नै मेरैजस्ता ३ कृतिले लगातार पुरस्कार पाइसकेका छन्,’ उनले भने, ‘मै निर्णायक समितिमा भएको भए पनि पुरस्कार दिने थिइनँ ।’

‘महारानी’मा विक्रम संवत् १७७० को दशकको पर्वत राज्यको इतिहास, तत्कालीन समाज रीतिथिति, भाषा र राज्यव्यवस्थाको गठजोड छ । उनकै भाषामा भन्ने हो भने ‘यो इतिहास मात्रै पनि होइन, उपन्यास वा सामान्य साहित्य मात्रै होइन । प्रगतिवादी चिन्तन पनि छ त्यसभित्र ।’ प्रगतिवादी धारबाट किंवदन्तीहरुको खण्डन गरेर तथ्यमा टेक्ने कोसिस गरेका छन् उनले । उपन्यासमा छुवाछूतको समस्या देखाइएको छ । विश्वकर्मालाई सम्मानित पात्र बनाएका छन् । महिलालाई वस्तुको रुपमा नभएर ठूलो निर्णय गर्दा उनीहरुको राय लिनुपर्ने विषय उठान गरेका छन् । यी प्रगतिवादी धारका लेखकले पात्रको मुखबाट आफ्नो भावना पोखेका छन् । एकजना पात्रबाट उनले पूजाआजा गरेर रोग निको हुन्छ भन्नेमा प्रश्न उठाएका छन् । ‘देवताको बोलीले होइन नीति नियम समाजले बनाउने हो,’ उनी भन्छन्, ‘इमान्दारीपूर्वक तटस्थ भएर लेख्ने कोसिस गरेको छु । परम्परामाथि प्रश्नचिह्न छ ।’

अनि सहर पसे चन्द्रप्रकाश

म्याग्दीको बेनी नजिकै पुलाचौरमा विक्रम संवत् २००७ सालमा जन्मिएका मध्यम वर्गीयका बानियाँले गाउँमै पढे । निमावी बेनीमा पढे, बागलुङको विद्यामन्दिर माविबाट एसएलसी र काठमाडौंको सरस्वती क्याम्पसबाट बीए पास गरे । ३० वर्षको उमेरमा उनले गाउँकै पौलस्त्य प्रावीमा अंग्रेजी पढाउन सुरु गरे । राखुको मुक्तिधाम माविमा पढाउने क्रममा ०३६/०३७ सालमा शिक्षक आन्दोलन भयो । आन्दोलनमा उनी पनि होमिए । त्यतिबेलैदेखि उनी कम्युनिस्ट राजनीतिमा आकर्षित भए ।

शिक्षक आन्दोलनलाई पञ्चायती व्यवस्थाले आफ्नोविरुद्धमा भएको आन्दोलन ठान्यो । उनी बर्खास्तीमा परे । माफी मागेर पञ्चायती व्यवस्थालाई साथ दिए पुनर्बहाली गरिदिने प्रलोभनलाई उनले अस्विकार गरे । उनलाई १० वर्षसम्म तारेख बोकाइयो । राखुबाट फर्किएर उनी गाउँमै बसे । पौलस्त्य निमाविलाई हाईस्कुल बनाए । व्यवस्था परिवर्तन भयो । २०४७ भदौमा उनी पुनर्बहाली भए । बाबियाचौरको मंगला माविमा पढाउन थाले ।

तत्कालीन मालेले उनलाई पार्टी सदस्यता लिन प्रस्ताव गर्‍यो । सोही वर्षको माघमा उनले शिक्षकबाट राजीनामा दिएर पार्टी सदस्यता लिए । सदस्यता लिएलगत्तै २०४८ सालमा संसदीय निर्वाचन भयो । निर्वाचनमा एमालेले उनलाई म्याग्दीको क्षेत्र नम्बर २ बाट चुनाव लड्न टिकट दियो । चुनाव उनले जिते, निर्वाचित सांसद भएर काठमाडौं प्रवेश गरे ।

विद्रोही स्वभावका भएकोले संसदमा उनको प्रस्तुति निकै ‘अराजक’ हुन्थ्यो । इमान्दार, कर्तव्यनिष्ठ कार्यकर्ताको रुपमा उनको छवि बनेको थियो । जनमोर्चाबाट निर्वाचित कृष्णबहादुर महरा, लिलामणि पोखरेलले उनलाई ‘एमाले नै होइन कि जस्तो लाग्ने’ प्रतिक्रिया दिन्थे ।

२०५० सालमा उनलाई ‘ब्रेन ट्युमर’ देखियो । डा.उपेन्द्र देवकोटाले ट्युमर सानो भएकोले तत्काल शल्यक्रिया गर्नु नपर्ने बताए । बरु धेरै धपेडी नगरी धेरै समय आराम गर्न सल्लाह दिए । सबैखाले तनावबाट मुक्त भएर बस्न भने । २०५१ मा मध्यावधि निर्वाचन भयो । उनले पार्टीसँग पाँच वर्ष बिदा मागेर आराम गरे । २०५४ मा पार्टी टुक्रियो । सहाना प्रधान, वामदेव गौतमलगायतले नेकपा (माले) गठन गरे । राजनीतिबाट बिरक्तिएका उनले त्यसयता पार्टी सदस्यता नै नवीकरण गरेनन् । ५ वर्षका लागि मागेको बिदा सधैंका लागि जस्तै भयो ।

त्यसपछि हो उनको सक्रिय लेखन यात्रा सुरु भएको । लेख्न त उनी बच्चैदेखि के–के लेखिरहन्थे । किताब नपढी उनलाई निद्रै लाग्दैन्थ्यो । उनी बेनीमा बसेर सामाजिक, बौद्धिक गतिविधिमा सक्रिय भए । बागलुङमा माले र माओवादीनिकटकाले २०५५ साततिर धौलागिरी साप्ताहिक प्रकाशन गरे । उनले त्यसैमा स्तम्भ लेख्न थाले । तत्कालीन राज्यव्यवस्थाको विरोधमा लेख लेख्न थालेपछि उनी प्रशासनको तारोमा परे । माओवादीलाई सहयोग पुग्ने लेख लेखेको भन्दै प्रशासनले उनलाई दुःख दिन थाल्यो । २०५९ मा प्रशासनले पत्रिका बन्द गर्दियो । पत्रिकामा आवद्ध शुभशंकर कँडेल, कृष्ण केसीहरु काठमाडौं हान्निए । उनले बेनीमै म्याग्दी सन्देश साप्ताहिक चलाएर बसे । लेख्न छोडेनन् ।

उनले पढाएका विद्यार्थी माओवादी आन्दोलनमा थिए । माओवादी नेता कृष्णबहादर महरासँग उनको सम्पर्क भइरहन्थ्यो । माओवादीसँग हिमचिम भएको प्रशासनले थाहा पायो । २०५९ मा राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेबित्तिकै उनी पक्राउ परे । कारागारमा ९० दिन बसे । २०६१ माघ १९ मा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिने बेला उनी फेरि पक्राउ परे । हिरासत र कारागारमा उनले ४ महिना बिताए ।

उनलाई पक्राउ गर्दा प्रहरीले उनलाई मात्रै लगेन, कोठामा भेटिएका जति किताब छानीछानी लग्यो । त्यसैमध्ये थिए, उनका तीन कृतिका पाण्डुलिपि । दुई उपन्यास र अर्को गीताको अनुवाद । विशेष समयसन्दर्भलाई लिएर समालोचनात्मक ढंगले गीताको अनुवाद गरेका थिए उनले । कम्प्युटर आइसकेको थिएन । हस्तलिखित पाण्डुलिपि संकटकालको बेला पुलिसले लगेर मास्दियो । मार्क्सको ‘पूँजी’ भने प्रहरीले नचिनेर नलगेको सम्झना उनलाई अझै छ ।

उनी ती कृति गुमाउँदा सन्तान गुमाएजत्तिकै पीडा भएको महसुस गर्छन् । ‘मदन पुरस्कारको खुसीमा पनि ती गुमाएका कृति सम्झिरहेको छु । त्यसैले पनि मन त्यति रमाएको छैन ।’

२०६१ मा सर्वोच्चको आदेशले उनी छुटे । म्याग्दीका सीडीओले बेनीमा खतरा भएकोले काठमाडौं जान सल्लाह दिए । उनीसामू दुई विकल्प थिए, जंगल पस्ने कि सहर ? जंगल पस्न उनको स्वास्थ्यले साथ दिँदैनथ्यो । एक छोरा, एक छोरी र श्रीमतीसहित झिटीगुण्टा कसे । अनि चन्द्रप्रकाश काठमाडौं पसे ।

बेनीबाट काठमाडौं जाँदा बसभरि सोचेको कथा हो, मदन पुरस्कार विजेता उपन्यास ‘महारानी’ ।

'साझाले दियो अपमान'

काठमाडौं पसेपछि उनी लेखनमा उतिसारो सक्रिय हुन पाएनन् । बेनी बस्दा नै लेखेको ‘ऐतिहासिक पर्वत राज्य’ प्रकाशन गर्ने सोच बनाए । राजाको जीवनीलाई केन्द्रमा राखेर नभई घटना र स्थान विशेषलाई प्राथमिकता दिएर पुस्तक लेखिएको उनी बताउँछन् ।

पुस्तक लिएर उनले केही चल्तीका प्रकाशकको नाडी छामे । कसैले पनि जोखिम मोल्न चाहेनन् । उनीसँग किताब छाप्न सक्ने अवस्था थिएन । साझा प्रकाशनमा पाण्डुलिपि लिएर गए । ११८ नम्बरमा दर्ता पनि भयो । लामो समयसम्म न उसले प्रकाशन गर्‍यो, न लेखकलाई नै प्रकाशन गर्न दियो । धेरैपछि साझाका अध्यक्षले पाण्डुलिपि लैजान भने । त्यतिबेला उनलाई आफू अपमानित भएको महसुस भयो । स्थापित प्रकाशककहाँ जाँदा नमिठो अनुभव भयो नै साझासँग पनि मन मर्‍यो । ‘आफ्नो लगानी गरेर प्रकाशन गर्नै सकिँदैन । किताब छापेर घरघरै बाँडेर केही अर्थ छैन । एक त, लगानी उठ्दैन । अर्को, त्यसरी जबरजस्ती भिडाएको किताब मान्छेले पढ्दा पनि पढ्दैन,’ उनी भन्छन्, ‘आफ्नो मिहिनेत न समाजमा जान्छ, न त त्यसले प्रतिफल दिन्छ ।’

२०६५ मा उक्त किताब बेनी पुस्तकालयले छाप्यो । २०६८ मा ‘खस जाति र कुल पूजा’ पुस्तक प्रकाशन गरे । छोरा प्रविण बानियाँ रुसबाट अध्ययन गरेर फर्किएपछि छोराकै इच्छा अनुसार उनी ११ वर्षको काठमाडौं बसाइ टुंग्याएर ६ वर्षअघि पोखरा आए । पोखरामा उनको साथीसंगतको घेरो निकै साँघुरियो । न उनी कतै साहित्यिक कार्यक्रममा देखिए । न त राजनीतिक सभासम्मेलनमा नै । यतिसम्म कि पोखरामै रहेका साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठसँग उनको दोहोरो चिनजान छैन ।

चिकित्सक छोरा प्रविण दीपमा बस्छन् । उनी छोरी प्रमिला र श्रीमती मित्रकुमारीसँग छोराले नै खोजिदिएको डेरामा बस्छन् । उसो त काठमाडौंमै हुँदा खगेन्द्र संग्रौला, हरि रोका र नारायण ढकालसँग उनको दोस्ती थियो । ‘उनीहरु बेलुका भएपछि रमाउनुपर्ने, मेरो स्वास्थ्यले साथ नदिने,’ उनले सम्झिए, ‘धेरै दोस्ती जमेन । खगेन्द्रले बधाइ पनि दिएनन् । बिर्सिए होलान् ।’

पोखरा आएपछि उनले अर्को पुस्तक ‘मृत्यु संस्कार मन्थन’ को तयारी थाले । एक वर्ष पूरै अध्ययन गरे । दुई वर्ष किताब लेख्नमा लगाए । ‘जुन विषय लेखें त्यसमा गहिरो अध्ययन गरी लेखें । विषयको गहिरो ज्ञान लिनुपर्छ । सम्प्रेषण गर्ने आआफ्नो शैली हो,’ उनी भन्छन्, ‘जति सरल भाषामा लेख्न सक्यो, त्यति नै त्यो पठनयोग्य हुन्छ । नयाँ पुस्ताले सिक्नुपर्ने यही हो ।’

लेखनमा उनको मन्त्र हो– भाषा सरल बनाउने, विषयमा गहिरो ज्ञान राख्ने, प्रतिफलको आशा नराख्ने । ‘मृत्यु संस्कार मन्थन’ को पाण्डुलिपि काठमाडौंको शिखा बुक्सका सञ्चालक पुष्पराज पौडेलको हातमा पर्‍यो । उनी प्रकाशन गर्न तयार भए । भने, ‘घाटा पर्दैन, नाफा भए बाँडौला ।’ २०७५ मा प्रकाशनमा आएको उक्त पुस्तकमा लेखकले आध्यात्मिक दर्शनको चिरफार गरेका छन् । प्रकाशकले प्रकाशन भएको सालमै मदन पुरस्कार गुठीमा पुरस्कारको लागि दर्ता गराएका थिए । तर, मनोनयनमा परेन । किताबबाट लेखकले सुक्को पाएनन् । आफूले लेख्न खोजेको कुरा समाजमा गएकोमा चित्त बुझाए ।

प्रकाशकले लेखकलाई अर्को विधामा कलम चलाउन भने । महारानीको कथा उनको दिमागमा आयो । २०७६ वैशाख १५ मा उनले कलम समातेर खाका बनाए । वैशाख अन्त्यतिरबाट लेख्न सुरु गरे । भदौ १५ मा सकाए । दोहोर्‍याएर नपढी पाण्डुलिपी प्रकाशकलाई पठाइदिए । प्रकाशकले तुरुन्तै छाप्नपर्ने सन्देश पठाए । उनले ४३ खण्डमा थपेर ५४ खण्ड बनाएर पुनः पठाए । पछि प्रकाशकसँगको सल्लाहमा एक खण्ड हटाएर ५३ खण्डमा ३ सय ८६ पृष्ठको उपन्यास तयार भयो । माघमा विमोचन भयो ।

‘इतिहास पुनर्लेखनको कोसिस’

उपन्यासकार बानियाँ ‘महारानी’ इतिहासको पुनर्लेखन भएको बताउँछन् । ऐतिहासिक विषयबस्तुमा आधारित भए पनि केही काल्पनिक कथा भने मिसाएको उनी बताउँछन् ।

‘यसमा ५० प्रतिशतभन्दा बढी तथ्य छ,’ महारानीबारे उनले भने, ‘यो विशुद्ध उपन्यास वा विशुद्ध इतिहास होइन, इतिहास पुनर्लेखनको कोसिस हो ।’

पहिले पर्वत राज्यको राजधानी बेनी बजार थियो । अहिले म्याग्दीको सदरमुकाम । बेनी नजिकै कुरिलाखर्कमा देवीको स्थापना छ । जहाँ अहिले पनि पूजा गरिन्छ । तिनै अलप भएकी महारानीलाई नै देवीको रुपमा पूजा गरिने उनी बताउँछन् । ‘इतिहास विज्ञले पर्वतकी महारानी नाम राख्न सुझाएका थिए । तर ‘पर्वतकी महारानी’ भन्न उनी रानी हुनुपर्थ्यो,’ उनी भन्छन्, ‘महारानी उनलाई राज्यले दिएको पदवी मात्रै थियो । महारानी नै शिर्षक राख्न मेरो अन्तर्मनले उचित ठान्यो ।’

अन्य प्रकृतिका उपन्यासमा कथा आफैं बन्न अरु कुनै पात्रलाई बनाउन सकिन्छ । तर इतिहास समेटिएको उपन्यासमा तत्कालीन भाषा र भाषिका प्रयोग गर्नुपर्छ । भाषिका खोज्न लेखकले दुई दर्जनजति शिलालेख, ताम्रपत्र, बकसपत्रको अध्ययन गरेको बताउँछन् । तिनको भाषा हेरेर त्यसबाट नक्कल गर्ने कोसिस गरेका छन् । पात्रको बीचमा संवाद त्यही भाषामा गराएका छन् । त्यतिबेलाको पर्वतेली भाषा भानुभक्तको रामायणको भन्दा अलि परिस्कृत नेपालीतिर गएको छ । इतिहासविद स्व.मोहनबहादुर मल्लको पुस्तक ‘पर्वतको इतिहास’ लाई पनि उनले सन्दर्भ सामग्रीको रुपमा लिएका छन्, म्याग्दी र पर्वतको पाखापखेरा चहारेका छन् ।

उपन्यासमा जुम्लाका राजकुमारलाई पनि पर्वतको भाषामा बोल्न लगाउनुपर्ने बाध्यता उनलाई आइपर्‍यो । जुम्ली भाषा बोल्ने व्यक्तिको खोजी गरे । कर्णाली प्रदेशमा १८ जना मात्रै जुम्ली भाषा बोल्ने मानिस रहेको तथ्य फेला पारे । उपन्यासमा जुम्ली भाषा राख्न सकेनन् । जुम्लाका राजकुमारलाई पर्वते भाषामै बोल्न लगाउन उनी बाध्य भए ।

‘पर्वतको इतिहास लेख्दा गोरखा, लमजुङ, तनहुँ, कास्की, पाल्पा, प्यूठान, रुकुम, जुम्ला जोडियो । त्यतिबेलाका ती राज्यका इतिहासको जानकारी राख्नुपर्‍यो,’ उनले भने, ‘बाइसे चौबीसेको त्यति राम्रो इतिहास भेटिँदैन । समाजका रीतिथिति, परम्परा, दरबारको व्यवस्था, राज्य सञ्चालनको व्यवस्था त्यहीं बेलाको लेख्नुपर्‍यो । ती सामग्री जुटाउन निकै समय र परिश्रम लाग्यो ।’

पहिलो सहिद ‘तुले पूर्जा’ !

एक साताभित्रै उनको अर्को कृति आउँदैछ, ‘भौँज्याहा’ । खस जातिको समाज, रीतिथिति, समाज, संस्कृतिमाथि आलोचनात्मक ४० निबन्ध पुस्तकमा संग्रहित छन् । महिनावारी बार्ने कुरालाई उनले शास्त्रीय ढंगले नै खण्डन गरेका छन् । महारानीभन्दा कैयौं गुणा मिहिनेत गरेको लेखक बताउँछन् । ‘भौँज्याहा’ उनलाई असाध्यै मनपरेको किताब हो । भन्छन्, ‘यस्तो बेलामा विमोचन गर्न नसकिएला तर बजारमा जान्छ । समाजले पढ्न जरुरी छ भन्ने ठानेको छु ।’

त्यसो त, कोरोना महामारी हुन्थेन भने, उनी यतिखेर म्याग्दीकै पुन मगर गाउँ पाखापानी डुलिरहेका हुन्थे, ‘पहिलो सहिद’ को खोजीमा । विक्रम संवत् १८३९ मा गोरखा राज्यसँग विद्रोह गर्दा मारिएका पाखापानीका तुले पूर्जा नै नेपालको पहिलो सहिद हुन् भन्ने उनको जिकिर छ । त्यसैको प्रमाण खोजेर किताब लेख्ने तयारीमा उनी छन् । ‘उनले पर्वत राज्य ब्यूँत्याउन खोजेका थिए,’ उनले भने, ‘रणबहादुर शाहको पालामा उनी मारिए । त्यसैले पनि लखन थापाभन्दा पहिलेका सहिद उनी हुन् ।’

प्रकाशित : आश्विन ८, २०७७ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?