२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

भद्राधिवासमा टेड रिकार्डी

लिच्छविकालीन सभ्यताको अन्वेषण गर्न मानगृह, कैलाशकुट र भद्राधिवास दरबारको उत्खनन जरूरी छ भन्थे मानवशास्त्री रिकार्डी
देवेन्द्र भट्टराई

काठमाडौँ — अमेरिकी प्राध्यापक थियोडोर (टेड) रिकार्डी ८३ वर्षको आयु बाँचेर यो साता बिते । उनी आफ्नो उमेरमा ५५ वर्षभन्दा बढी नेपाल–नेपालीको सान्निध्यमा रहे । नेपाल सरोकारका अध्ययन, अन्वेषण र उत्खननमा उनी रमे–रमाए । रिकार्डीको नेपाल–नेपाली साइनो अचम्मकै छ । अमेरिका छँदा रिकार्डीका नेपाली भाषा शिक्षक थिए– डोरबहादुर बिष्ट, सन् १९६० को दशकमा ।

भद्राधिवासमा टेड रिकार्डी

पछि डोरका भाइ खेमबहादुर पनि रिकार्डीका ‘रुममेट’ र भाषा प्रशिक्षक बने । रिकार्डीलाई संस्कृत साहित्यका ज्ञाता जयराज आचार्यले संस्कृत व्याकरण बुझाए । इतिहासका जानकार रमेश ढुंगेल रिकार्डीका विद्यार्थी बने, कोलम्बिया युनिभर्सिटीमा पीएचडी गर्ने क्रममा । काठमाडौं आएपछि प्रयागराज शर्मा, मोहनप्रसाद खनालहरू उनका सोध–अनुसन्धान कर्मका सहयात्री बने, निकटस्थ पनि ।

रिकार्डीले अमेरिकाको पेन्सिलभेनिया युनिभर्सिटीबाट मास्टर्स गरेपछि काठमाडौं आएर राष्ट्रिय अभिलेखालयमा काम गरेका थिए । लगत्तै १९६८ मा उनी फुलब्राइट कमिसनको आवासीय प्रमुख भएर फेरि काठमाडौं उत्रिए । संस्कृत साहित्यका विशिष्ट कृतिहरूमाथिको आलोचनात्मक अध्ययनमा पीएचडी गर्नुअघि रिकार्डी बंगाली भाषा–साहित्यमा अध्ययन गर्न चाहन्थे । तर, नेपाली भाषा–संस्कृति र सभ्यतामा रुचि बढेपछि उनी नेपाल फर्के ।

रिकार्डीको कामसँग परिचित न्युयोर्कका लागि पूर्वस्थायी प्रतिनिधि जयराज आचार्यले सन् १९८७ मा पहिलो पटक अमेरिकामा भेट गर्नासाथै उनको सोध–अनुसन्धान, संस्कृत भाषा र नेपाली मामिलामा जोडिएको चासो थाहा पाएका थिए । ‘मैले त्यही बेला उनलाई आफूले गरेको स्कन्ध पुराणको नेपाल महात्म्यको अंग्रेजी अनुवाद देखाएको थिएँ,’ आचार्यले सम्झिए । पछि सन् १९९१ मा आफू न्युयोर्कमा स्थायी प्रतिनिधि बनेर गएपछि उनीसँगको संगत लामै समयसम्म कायम रहेको आचार्यले सुनाए ।

‘नेपाली समाज र परिवर्तन, राजनीतिक क्रान्ति र यहाँको पछौटे स्थितिबारे रिकार्डी निकै राम्रोसँग जानकार थिए,’ आचार्यले भने, ‘राष्ट्रसंघीय महासभा बैठकमा भाग लिन सन् १९९३ अक्टोबरमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला न्युयोर्क पुग्दा स्थानीय कोलम्बिया युनिभर्सिटीमा बीपी कोइरालाको सालिक अनावरण समारोह राखिएको थियो । त्यहाँ उपस्थित विशिष्ट अतिथिमाझ प्राध्यापक रिकार्डीले बोलेको कुरा पछिसम्म प्रशंसित भएको थियो ।’ आचार्यका अनुसार उनले भनेका थिए, ‘एउटा समाजमा क्रान्ति भन्ने चिज कसरी हुँदोरहेछ भन्ने सोच्दा मात्रै पनि म कृष्णप्रसाद कोइरालासमक्ष पुग्छु जसले तत्कालीन श्री ३ महाराज चन्द्रशमशेरलाई आफ्ना थोत्रा लुगाको पार्सल पठाएर संकेतमा क्रान्तिको बिजारोपण गरेका थिए ।’

***

सन् ८० को दशकमा लिच्छविकालीन सभ्यता अन्वेषण गर्ने क्रममा रिकार्डी अर्का अन्वेषक मोहनप्रसाद खनालको साथ लागेर मनहरा नदी किनारको दुमाखाल पुगेका थिए । पुरातत्त्व विभागले अह्राएको त्यो काममा लिच्छविकालीन दरबार ‘भद्राधिवास’ चाँगुनारायण छेउछाउमै रहेको अनुमानमा त्यो खोज सुरु गरिएको थियो । केही पुरातात्त्विक सामग्री पनि संकलन भयो तर त्यस क्षेत्रमा भएको उत्खनन केही विवादमा समेत परेको थियो । विशेषतः सहअन्वेषक खनालकै घरगाउँ क्षेत्रमा नियोजित ढंगबाट उत्खनन भरहेको भन्ने विवाद प्राज्ञिक तप्काबाट बाहिर आएको थियो । उक्त कामबारे ‘आर्कियोलजिकल एक्सकाभेसन्स इन द काठमाडौं भ्याली’ प्रकाशित छ । दुमाखेल उत्खनन सन् १९८४–८५ र १९८९ मा भएको थियो ।

त्यसबेला उत्खनन भएर भेटिएका मुद्रा, मूर्ति, ढुंगाको चक्र अहिले पनि पुरातत्त्व विभागमा सुरक्षित छन् । उत्खननमा भेटिएको मानदेव अभिलेख (वि.सं. ५२५) लाई उनले अंग्रेजी अनुवाद गरेका छन्, यो अमेरिकी ओरिएन्टल सोसाइटीको जर्नलमा छापिएको छ । उक्त अभिलेखमा मानदेवका पिता धर्मदेवको एकाएक निधन भएपछि रानी राज्यवतीले सती जान चाहेको तर नदिइएको र छोरा मानदेव नाबालक घडीमा उपत्यकाको राजा बनेको वृत्तान्त छ । ‘यो इतिहासमा शासनभित्रको षड्यन्त्र र सत्तालिप्साको अस्पष्ट रहस्य भेट्न सकिन्छ,’ केही वर्षअघि कान्तिपुरसँग रिकार्डीले भनेका थिए ।

***

पछिल्ला वर्षमा भने अंग्रेजी लेखक सर अर्थर कोनन डोयलले जन्माएका जासुसी पात्र सरलक होम्सको ‘पुनर्जन्म’ गराउने स्रष्टाका रूपमा रिकार्डी चिनिएका थिए । एक जना ब्रिटिस मेडिकल डक्टर सर अर्थरले जन्माएका ‘सरलक होम्स’ र ‘डा.वाट्सन’ जस्ता पात्रहरू अंग्रेजी साहित्य पढ्ने वा बुझ्ने सबै तह–उमेरका पाठकका अहिले पनि मनमै गढेर बसेका छन् । डोयलले आफ्ना जासुसी नायक सरलक होम्सलाई सन् १८७८ मा जन्माएर झन्डै सन् १८९१ सम्म (१३ वर्ष) त्यही पात्रका वरपर कथाहरू बुनेका थिए । त्यसमाथि एकाएक त्यो जब्बर पात्र सरलक होम्स हराएपछि र पाठकको आग्रहमा लेखक सर अर्थरले फेरि यो पात्रलाई सन् १८९४ मा जन्माएका थिए । उसो भए सन् १८९१ देखि ९४ सम्ममा ती पात्र कता हराए त ? त्यही बेपत्ता पात्रलाई रिकार्डीले तानेर काठमाडौं असनका गल्लीसम्म ल्याए । ल्हासाको पठार हुँदै कोदारी राजमार्गबाट काठमाडौं छिरेका सरलक होम्स वीरशमशेरकालीन उपत्यकामा घुमिरहेका थिए । यहाँबाट जनकपुर हुँदै र भारतका विभिन्न सहर हुँदै श्रीलंका र इन्डोनेसियासम्म त्यो पात्र पुगेको रमाइलो किस्सा रिकार्डीले जोडेका छन्, ‘द ओरिएन्टल केसबुक अफ सरलक होम्स’ कृतिमा । यसमा रोचक के छ भने नेपालसँग सम्बन्ध भएका

बेलायतका ब्राइन हड्सनदेखि फ्रान्सेली सिल्भिया लेभीसम्म सरलकको काठमाडौं यात्रामा जोडिएका छन् । न्युयोर्कको र्‍यान्डम हाउसबाट छापिएको यो केसबुक पढेर केही सनकी पर्यटक असनका गल्ली खोज्नैका लागि काठमाडौं यात्रामा आएको किस्सा सुनाइरहेका हुन्थे, रिकार्डी । ‘यसरी रिकार्डी आफ्नो रुचिको प्राच्य सोध–अनुसन्धानको कर्मबाट उत्तरआधुनिक सोचको साहित्यिक लेखाइमा रमाइरहेका थिए,’ रिकार्डीका विद्यार्थी ढुंगेलले भने, ‘मेरो गुरुले राख्ने विषयको ज्ञान र गहिराइमा जोकोहीलाई पस्नै मुस्किल हुन्छ ।’

अमेरिका छँदा बीपी कोइरालादेखि मातृका कोइरालासम्म र पछि ०४६ सालको आन्दोलनताका गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, किसुनजीसमेतलाई भेटेर गरेको कुराकानीसहितको डायरीलाई पुस्तक रूपमा निकाल्ने तयारीमै थिए रिकार्डी । तर, पछिल्ला ७ वर्षयता पार्किङ्सन रोगले निकै च्यापेपछि उनको दिनचर्या सुस्त बन्दै गएको थियो ।

उनको ५ सय पृष्ठ मोटो नेवारी–इटालियन शब्दकोश ‘अ डिक्सनरी अफ नेवारी ल्याङ्वेज ः विद अ ग्रोसरी इन इटालियन’ पनि प्रकाशित छ । इतिहासअनुसार मल्लकालीन समयमा रोमका केही धर्मगुरु नेपाल आएका थिए । नेपाल बसाइकै क्रममा उपत्यकाका स्थानीय नेवार समुदायसँग उनीहरूको घुलमिल बढ्यो । आइपर्ने कुराकानी र संवाद क्रममा उनीहरूले नेपाली कागजमा नेवारी तथा इटालियन भाषाको शब्दकोश तयार पारे । यसमा शब्द जतिलाई नेवारी मौलिक लिपिमा र अर्थ इटाली भाषामा राखिएको छ । यो शब्दकोश इटाली (रोम) को एउटा पुरानो पुस्तकालयमा भेटिएपछि अन्वेषक रिकार्डीले ५ वर्ष समय खर्चेर थप सम्पादन र व्याख्यासहित शब्दकोश निकालेका थिए । यसमा काठमाडौं उपत्यकामा २ सय ३५ वर्षअघि बोलिने नेवारी भाषाको स्थानीय लवज र लिपि समेटिएका छन् । यो शब्दकोश काठमाडौंको बज्र बुक्सले प्रकाशन गरेको हो ।

***

जे विषयमा सोध–अनुसन्धान गर्ने हो, त्यसमा साँच्चै काम गर्ने हो भने त्यसको भाषा, शिल्पी र स्थानीयताबारे पनि जानकार हुनैपर्छ भनेर रिकार्डीले आफ्ना विद्यार्थीलाई सम्झाइरहेका हुन्थे । कोलम्बिया युनिभर्सिटीबाट ‘मुस्ताङको इतिहास’ माथि पीएचडी गरेका प्राध्यापक ढुंगलका अनुसार ‘गाइड’ रिकार्डी स्थानीय भाषा, संस्कृति, सम्पदा आदिबारेमा चित्तबुझ्दो व्याख्या नदिलाइकन सोधलाई अघि बढाउन दिँदैनथे । ‘छानिएको विषयको गहिराइ र त्यसमा अध्ययनको निचोड नभेटिन्जेल सोधमा लगाइरहनुहुन्थ्यो,’ उनले सम्झिए ।

जस्तो, उनी आफैंले नेवारी–इटालियन शब्दकोशमा काम गर्ने क्रममा त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल तथा एसियाली अध्ययन केन्द्र सिनासबाट नेवारी भाषासम्बन्धी प्राचीन शब्दमाथि पोस्ट डक्टरल रिसर्चसमेत गरेका थिए । कतिसम्म भने इतिहासको सोधखोज गर्न ‘संस्कृत अनिवार्य चाहिन्छ’ भनेर रिकार्डी संस्कृत भाषाका विद्यार्थी बनेका थिए । उनी भन्थे, ‘पश्चिमा इतिहासको खोजी र त्यसबारेको ज्ञान त्यति क्लिस्ट र असहज छैन । पूर्वीयबारे भने संस्कृत भाषा र सभ्यताको जानकार भएर मात्रै गहिराइमा पुग्न सकिन्छ । जस्तो– रोमन सम्राट्ले के खाए, के गरे, कहाँ–कसरी बसे भन्ने सहजै थाहा हुन्छ । तर, अशोक सम्राट्का बारे थाहा पाउन निकै मुस्किल छ । यसकारण पनि संस्कृत, पाली जस्ता भाषाको आधार बनाउनैपर्छ ।’

सम्पदाविद् रविन्द्र पुरीका बुझाइमा आफ्नै स्वार्थ र सरोकार बोकेर आउने विदेशी विद्वान् वा अनुसन्धाताका सामु रिकार्डी ‘अपवाद’ झैं थिए । काठमाडौं उपत्यकाको सभ्यता पहिल्याउन यहाँ रहेका लिच्छविकालीन सम्भावित सम्पदाबारे उत्खनन हुनु जरुरी रहेको भन्दै आफू ‘भद्राधिवास’ (मनहरा नदी किनारा, चाँगुनारायण छेउ) उत्खननमा गएको रिकार्डीले बताउने गरेका थिए । मानदेव मानगृह (मंगहिटी, पाटन) र अंशुबर्माको कैलाशकुट दरबार (हाडीगाउँ) बारे पनि सोध–अनुसन्धान जरुरी रहेको भन्दै रिकार्डीले यसबारेका विभिन्न पुरातात्त्विक सामग्रीबारे सोधखोज गरिरहेका हुन्थे । ‘हाम्रो पुरातत्त्व र हामी सम्पदाविद् भनाउँदाले गर्न चाहेर पनि नसकेको केही काम रिकार्डीले गरेका छन् । मानदेव अभिलेखको अंग्रेजी अनुवाद गर्दै बाहिरी विश्वलाई देखाइदिएर हाम्रो प्राचीन जग र सभ्यताबारे उनै रिकार्डीले अरूलाई बताइदिएका हुन्,’ पुरीले भने ।

रिकार्डीको जीवनमा रम्ने–रमाउने अर्को पाटो थियो– पियानो । पेन्सिलभेनिया छँदै विद्यार्थीकालमा अतिरिक्त कमाइको उनको बाटो थियो– विभिन्न बार रेस्टुराँमा ज्याज पियानो बजाउने । अन्ततः यो ‘सौख’ उनका लागि नसाझैं बन्यो । छाउनीको घरमा पनि एउटा ठूलो साइजको पियानो राखिएको थियो, उनको बिहानी यही ज्याजको धुनबाट सुरु हुन्थ्यो ।

अर्कातिर, रिकार्डीको काम र अन्वेषणबारे नेपाली विद्वान्को एउटा सानो समूह विरोधमै हुन्थ्यो, यो सबै रिकार्डीले चाल पाइरहेका हुन्थे तर भन्थे, ‘यो स्वाभाविक हो । राजनीति नै हेर्नुस् न, यता तपाईंको सरकारलाई हेर्नुहोस् । सत्तापक्ष र विपक्ष हुन्छन् नै । नभए आफ्नो कमजोरी र आफ्नैबारेको आलोचना कसरी पो थाहा पाउने र ?’

प्रकाशित : आश्विन ३, २०७७ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?