कविता : सहर गायब भएपछि

वैशाख २१, २०७७

शिवानीसिंह थारू

एकाएक सहर गायब भएपछि, सडकहरू चौबाटोमा जम्मा भए

कहाँ गए ?

छाँया कुल्चिहिँड्‍ने मान्छेहरू

एकाएक हल्ला साम्य भएपछि

ट्राफिक लाइटहरू हरियै सुसेल्न थाले

कता पुगे ?

हतार बोकी हिँड्‍ने स्वाँफ्वाँहरू

एकाएक तँछाडमछाड सुस्ताएपछि

जेब्राका क्रसहरू खुट्टा तन्‍काउन थाले

किन रोकिए ?

वारपार गरिहिँड्‍ने पाइतालाहरू

जवाफ न दोबाटोसित थियो

न ‘वन वे’ सित

न ‘टु वे’ सित

सहरको बुढो गल्ली खोक्दै आयो 

र भन्न थाल्यो,

मान्छेहरू 

छाँयासहित, पाइलासहित, हतारसहित

मावनवता खोज्‍न थुनिए !

शिवानीसिंह

Link copied successfully