काठमाडौं — अमेरिकाको मिनिसोटा राज्यमा वैद्धिक धर्म समाजले ज्येष्ठ नागरिक सम्मान तथा पाठयपुस्तक विमोचन गरिएको छ ।
अमेरिकाको मिनिसोटा राज्यमा वैद्धिक धर्म समाजले ज्येष्ठ नागरिक सम्मान तथा पाठयपुस्तक विमोचन गरिएको छ ।
सेन्ट पलमा आयोजित कार्यक्रममा समितिका सल्लाहकार तथा वरिष्ठ मनोचिकित्सक डा. छविलाल शर्मा तिम्सिना, मिनिसोटा राज्यका सिनेटर फंग हावज तथा डा. लक्ष्मीनारायण ढकालले खिम खतिवडा लिखित पाठयपुस्तक ‘हाम्रो नेपालीभाषा, भाग १’ को लोकार्पण गरे । मिनिसोटामा बसोबासरत भुटानी–अमेरिकी ज्येष्ठ नागरिकहरूलाई सम्मान पनि गरियो ।
२०–३० वर्षपछि अमेरिकामा नेपाली भाषा हराउने देखेर आफूले पाठयपुस्तक लेखेको खतिवडाले बताए । ‘तेस्रो मुलुकमा बसोबास गर्ने भुटानी अमेरिकी वा अन्य नेपाली समाजका हजुरबुबा र नाति पुस्ताबीच बोलचाल बन्द हुने अवस्था छ, पहिलो पिँढीलाई अंग्रेजी आउँदैन अनि तेस्रो पिँढीलाई नेपाली,’ उनले भने, ‘त्यस्तो नहोस् भन्नलाई मैले यो किताब लेखेको हुँ ।’ सिनेटर हावजले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण–सम्वर्धन गर्न राज्यका तर्फबाट आफूले सक्दो सहयोग गर्ने आश्वासन दिए ।
डा. ढकाल, क्रिस्टिना राबर्टसन, डा. माइकम्याक्कलन, मेनुका भण्डारी, खेम पोखरेल, राकेश काफ्ले, पद्मलाल ढकाल, पं. उपेन्द्र प्याकुरेल, श्रीमती सीता कोइरालाले पनि आफ्ना धारणा राखेको विज्ञप्तिमा उल्लेख छ ।
‘हामीले नै नानीहरूलाई भाषा, संस्कृति र संस्कार सिकाएनौं भने भोलि हाम्रो अस्तित्व कहीँ पनि रहँदैन,’ डा. शर्माले भने । होलीको अवसर पारेर गरिएको कार्यक्रममा कुशल पौडेल, विनोद श्रेष्ठ, सुमन दाहाललगायतले गीत र बालबालिकाले नाच प्रस्तुत गरेका थिए ।
