हिंसाको अदृश्य घाउ : किन लुकाइन्छ मनोवैज्ञानिक पीडा ?

जब बिस्तारै पारिवारिक र वैवाहिक इतिहासबारे सोधिन्छ, तब इन्टिमेट पार्टनर भायलेन्सको पाटो खुल्दै जान्छ । नेपालमा अझै पनि मानसिक पीडा सिधै व्यक्त गर्न सक्ने संस्कृति बलियो छैन ।

असार २७, २०८३

डा. सगुनवल्लभ पन्त

Invisible Wounds of Violence: Why Is Psychological Pain Hidden?

What you should know

'इन्टिमेट पार्टनर' भायलेन्स भन्नाले नजिकको सम्बन्धभित्र– जस्तै श्रीमान्, प्रेमी वा विश्वास गरिएको व्यक्तिबाट हुने हिंसालाई बुझिन्छ । यस्तो हिंसाले पीडितमा सबैभन्दा पहिले डर र असुरक्षाको भावना पैदा गर्छ ।

जुनसुकै बेला पनि केही हुन सक्छ भन्ने भयका कारण उनीहरू सधैं सतर्क रहनुपर्ने अवस्थाबाट गुज्रिन्छन् । यसका कारण झस्किने, आत्तिने, आत्मविश्वास गुम्ने, दैनिकीप्रति रुचि घट्नेजस्ता लक्षण देखिन थाल्छन् । हिंसा लामो समयसम्म निरन्तर भइरहँदा सहयोग गर्ने व्यक्ति नपाएपछि निराशा, एक्लोपन र भावनात्मक थकान बढ्दै जान्छ । 

कतिपय अवस्थामा अत्यधिक चिन्ता, डिप्रेसन र पोस्ट–ट्रम्याटिक स्ट्रेस डिसअर्डरजस्ता मानसिक स्वास्थ्य समस्या नै देखिन्छन् । पीडितहरूमा निद्राको समस्या, चिडचिडापन, बिनाकारण रिस आउने, लाज र अपराधबोधको भावना पनि देखिन्छ । यी सबैले घरायसी र पेसागत जीवन दुवैमा असर पार्छ । गम्भीर अवस्थामा आत्महत्यासम्बन्धी सोचसमेत देखिने गरेका छन् ।

यस प्रकारको हिंसाबाट पीडित भएर उपचार वा परामर्श लिन धेरै संख्यामा आउनुहुन्छ । केही व्यक्ति सिधै ‘ममाथि हिंसा भयो’ भनेर आउनुहुन्छ भने धेरैजसो पीडित शारीरिक लक्षण लिएर आउनुहुन्छ । टाउको दुख्ने, पेट दुख्ने, झमझम हुने, शरीर थकित हुने जस्ता समस्या देखाएर आउनुहुन्छ ।

जब विस्तारै पारिवारिक र वैवाहिक इतिहासबारे सोधिन्छ, तब इन्टिमेट पार्टनर भायलेन्सको पाटो खुल्दै जान्छ । नेपालमा अझै पनि मानसिक पीडा सिधै व्यक्त गर्न सक्ने संस्कृति बलियो छैन ।

यस्तो हिंसालाई धेरैले सामान्यजस्तो किन ठान्छन् ? यसका धेरै कारण छन् । पहिलो, प्रतिशोधको डर । हिंसाको कुरा बाहिर ल्याए हिंसा झन् बढ्छ कि भन्ने भय धेरैमा हुन्छ । कतिपयले कुरा बाहिर राखेपछि झन् दुर्व्यवहार बढेको अनुभव गरेका हुन्छन् ।

दोस्रो, ‘ट्रमा बन्डिङ’ । जसले हिंसा गरिरहेको हुन्छ, त्यही व्यक्तिसँग भावनात्मक रूपमा बाँधिएको अवस्था हुन्छ । ‘ऊ मेरो श्रीमान् हो’, ‘मेरो दायित्व हो’ भन्ने सोचले पीडितले आफ्नै पीडालाई दबाउँछन् ।

तेस्रो, आत्मदोष । धेरै महिलाले हिंसालाई आफ्नो कमजोरी ठान्छन् । ‘मेरो कारणले भयो’, ‘मैले डिजर्भ गरेँ’ भन्ने मानसिकता देखिन्छ ।

यससँगै सांस्कृतिक प्रभाव पनि गहिरो छ । ‘सबै घरमा अलि–अलि त हुन्छ’, ‘समयसँगै मिल्दै जान्छ’ भन्ने सामान्यीकरण गरिन्छ । विशेषगरी विवाह जोगाउने, परिवार नटुटोस् भन्ने दबाबले पीडित मौन बस्न बाध्य हुन्छन् ।

आर्थिक निर्भरता र सामाजिक दृष्टिकोणले पनि असर गर्छ । आर्थिक रूपमा श्रीमान् वा पार्टनरमा निर्भर महिलामा उजुरी गरे भविष्य झन् असुरक्षित हुन्छ कि भन्ने डर हुन्छ । बालबालिकाको भविष्य, समाजको दृष्टिकोण, डिभोर्सपछि हुने बहिष्कार यी सबैले उनीहरूलाई सहन बाध्य बनाउँछन् ।

अर्को समस्या भनेको सेवा र जानकारीको अभाव हो । कानुनी अधिकार, सहयोगका नम्बर, सुरक्षित आश्रयस्थलबारे जानकारी नहुँदा पनि पीडित मौन बस्न बाध्य हुन्छन् । कतिपय अवस्थामा स्वास्थ्य सेवा प्रदायकले पनि यस्तो हिंसालाई गम्भीर रूपमा नलिने समस्या देखिन्छ ।  सबैभन्दा ठूलो चुनौती भनेकै मौनता हो । हिंसाबारे बोल्न नसक्ने अवस्था, सहयोग खोज्दा उल्टै दोषी ठहरिने डर र अधिकारबारे जानकारीको कमी । जबसम्म पीडित सुरक्षित महसुस गरेर बोल्न सक्दैनन्, तबसम्म इन्टिमेट पार्टनर भायलेन्स अदृश्य नै रहन्छ ।

(त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा कार्यरत पन्त मनोचिकित्सक हुन् ।)

डा.

Link copied successfully