होलीमा प्रयोग हुने रसायन मिश्रित रङले पार्न सक्छ स्वास्थ्यमा असर

होलीमा हुने रमाइलो छुट्टै मानिन्छ । जहाँ हरेक सम्बन्धहरूलाई रङहरूले जोड्ने गर्छ । तर अहिले बजारमा पाइने अनेक प्रकारका रङहरू हाम्रो छालाका लागि हानिकारक पनि हुन सक्छन् ।

फाल्गुन १८, २०८२

कान्तिपुर संवाददाता

Chemically mixed colors used in Holi can affect health

काठमाडौँ — फागु पूर्णिमा अर्थात् होली रङ र उल्लासको पर्व धर्मावलम्बीहरूका लागि महत्त्वपूर्ण मानिन्छ । फागु पूर्णिमालाई रङहरूको पर्व भनेर समेत भन्ने गरिन्छ । जहाँ विभिन्न रङहरूलाई मिश्रण गरी बालकदेखि वयस्क र वृद्धसम्मले एकअर्कालाई रङ लगाएर खुसी साटासाट गरी मनाइन्छ ।

होलीमा हुने रमाइलो छुट्टै मानिन्छ । जहाँ हरेक सम्बन्धहरूलाई रङहरूले जोड्ने गर्छ । तर अहिले बजारमा पाइने अनेक प्रकारका रङहरू हाम्रो छालाका लागि हानिकारक पनि हुन सक्छन् । पर्व मनाउँदै गर्दा छालाको सुरक्षा गर्न पनि उत्तिकै महत्त्वपूर्ण छ । अहिले बजारमा पाइने रङहरूमा विभिन्न रसायन प्रयोग गरिन्छ । जसले हाम्रो छालामा असर गर्न सक्छन् ।

कुन रङमा के मिसाइएको हुन्छ ?

हरियो रङमा कपर सल्फेट, पहेँलो रङमा क्रोमियम यौगिक, सिल्भरमा अल्मुनियम ब्रोमाइड, निलो रङमा प्रसियन ब्लु जस्ता रसायन तत्वहरू पाइन्छन् । जसले हाम्रो स्वास्थ्यमा असर गर्न सक्छन् ।

कस्ता समस्या देखिन सक्छन् ?

रसायन मिश्रित रङहरूले हाम्रो छालामा विभिन्न समस्या आउन सक्छन् । ख्याल नगरेमा आँखाको दृष्टि समेत गुम्न सक्ने, एलर्जी हुने, आँखा सुन्निने, पोल्ने र श्वासप्रश्वासमा धेरै असर पर्न सक्छ । रङले दमका रोगीलाई धेरै असर गर्ने विशेषज्ञहरूको भनाइ छ । अझ धेरै असर सेन्सेटिभ स्किन हुनेहरूमा देखिन सक्छ । जसमा रङको प्रयोगले अनुहारमा एलर्जी हुने, पिम्पल आउने, अनुहार पोल्ने र रातो हुने, मुख सुनिने, छाला सुख्खा हुने, आँखा फुल्ने, सास फेर्न गाह्रो हुने तथा छालासम्बन्धी विभिन्न समस्या देखिन सक्छन् ।

बजारमा पाइने कृत्रिम रङहरूले छालामा असर मात्र गर्दैनन्, लामो समय शरीरमा रहँदा रगतले सोस्दा मिर्गौला, कलेजोलगायत अन्य अङ्गलाई समेत असर गर्ने छालारोग विशेषज्ञहरू बताउँछन् ।

छालाको सुरक्षा गर्न साथै विभिन्न समस्याबाट बच्न खुसीसाथ होली मनाउन बजारमा पाइने रङहरू प्रयोग नगरी प्राकृतिक रङहरूको प्रयोग गर्न सकिने छाला विशेषज्ञहरू बताउँछन् । प्राकृतिक रङहरूको प्रयोग गरेर हामीले रङहरू घरमै बनाउन सक्छौँ । जसमा विभिन्न फूलको रस, चुकन्दरको रस, बेसार, नीमका पात जस्ता फलफूलबाट हामीले प्राकृतिक रङ बनाउन सक्छौँ । जसको प्रयोगले हाम्रो शरीर र स्वास्थ्यलाई कुनै पनि असर गर्दैन । छालामा लागेको रङ पनि सजिलै पखाल्न सकिन्छ ।साथै होलीमा कपाल र छाला जोगाउनु अति नै आवश्यक हुन्छ ।

यदि रसायन मिश्रित रङहरूको प्रयोग गरिएको छ भने, छाला र कपाललाई कसरी जोगाउने ?

– नरिवल वा ओलिभ तेल छाला र कपालमा लगाउँदा यसले रङको असर निकै कम हुन्छ ।

– रङ लगाएर धेरै समय घाममा बस्नु हुँदैन ।

– रङ नगएमा छालालाई असर हुने गरी रगड्नु हुँदैन ।

– छालामा लागेको रङ धुँदा सफा पानीको प्रयोग गर्ने, सफा र नरम कपडाले पुछ्ने ।

– अनुहार र शरीरमा मोइस्चराइजर र सनस्क्रिनको प्रयोग गर्नुपर्छ ।

– बालबालिका र गर्भवती महिलाले होली खेल्दा बजारमा पाइने कृत्रिम रङको प्रयोग नगर्ने ।

यसरी रसायन मिश्रित रङहरूबाट बच्न सकिन्छ । यदि छाला र शरीरमा कुनै असर देखियो भने तत्काल चिकित्सकसँग परामर्श लिनुपर्दछ ।

कान्तिपुर संवाददाता

Link copied successfully