कफी-चिया पिउँदा स्मरणशक्ति कमजोर हुने जोखिम घट्न सक्ने अध्ययनको निष्कर्ष

नतिजामा सबैभन्दा धेरै क्याफिनयुक्त कफी पिउने समूहमा डिमेन्सिया जोखिम १८ प्रतिशत कम देखिएको थियो ।

फाल्गुन १४, २०८२

प्रकृति दाहाल

Study concludes that drinking coffee and tea may reduce the risk of memory loss

What you should know

काठमाडौँ — क्याफिनयुक्त कफी र चिया पिउने मानिसमा स्मरणशक्ति कमजोर हुने (डिमेन्सिया) जोखिम कम हुनसक्ने संकेत एक अध्ययनले देखाएको छ ।  

चिकित्सा जर्नल जामा मा हालसालै प्रकाशित अध्ययनका अनुशार सन् १९८६ देखि २०२३ सम्म सञ्चालन भएका दुई अध्ययनमा सहभागी १ लाख ३१ हजार ८ सय २१ जनाको तथ्यांक विश्लेषण गरेको थियो । अध्ययन अवधिमा तीमध्ये ११ हजार ३३ जनामा स्मरणशक्ति कमजोर हुने समस्या देखिएको थियो । 

अनुसन्धानकर्ताहरूले सहभागीहरूको कफी, क्याफिनयुक्त चिया र डिक्याफ कफी सेवनसम्बन्धी तथ्यांक र समयक्रममा संज्ञानात्मक स्वास्थ्यको अभिलेख तुलना गरे। नतिजामा सबैभन्दा धेरै क्याफिनयुक्त कफी पिउने समूहमा डिमेन्सिया जोखिम १८ प्रतिशत कम देखिएको थियो । 

अनुसन्धानकर्ताहरूका अनुसार दिनमा २–३ कप क्याफिनयुक्त कफी वा १–२ कप क्याफिनयुक्त चिया पिउनेमा फाइदा बढी देखिएको छ ।  तर डिक्याफ कफी र डिमेन्सिया जोखिमबीच कुनै महत्वपूर्ण सम्बन्ध देखिएको छैन । 

Study concludes that drinking coffee and tea may reduce the risk of memory loss

सिबीएस न्युजकी मेडिकल विशेषज्ञ तथा हेल्थ न्युजकी स्वास्थ्य सम्पादक डा.सेलिन गाउन्डरले नतिजालाई धेरै ठूलो सावधानीका साथ लिनुपर्ने बताएकी छन् । उनले अध्ययनले जोखिममा सानो मात्र कमी देखाएको र तथ्यांकले केवल सम्बन्ध देखाएको भन्दै कफीले नै डिमेन्सिया रोक्छ भन्ने निष्कर्ष निकाल्नु उचित नभएको बताएकी छन् ।

गाउन्डरले स्मरणशक्ति कमजोर हुने जोखिममा कफी सेवन बाहेक अन्य कारणहरू पनि असर गर्न सक्ने जिकिर गरेकी छन् । उदाहरणका लागि, उच्च रक्तचाप भएका व्यक्तिहरूले स्वास्थ्य कारणले क्याफिनयुक्त पेयबाट टाढा रहन सक्छन्, जबकि उच्च रक्तचाप आफैं पनि स्मरणशक्ति कमजोर हुने जोखिम कारक हो । 

अल्जाइमर एसोसिएसनका अनुसार ७० लाखभन्दा बढी अमेरिकीहरू अल्जाइमर रोगबाट प्रभावित छन्, जुन स्मरणशक्ति कमजोर हुने सबैभन्दा सामान्य कारण हो । 

गाउन्डरले अध्ययनका आधारमा मानिसहरूले आफ्नो  आहारमा ठूलो परिवर्तन नगर्न सुझाव दिँदै स्मरणशक्ति कमजोर हुने जोखिम घटाउन नियमित व्यायाम, सन्तुलित आहार, तौल नियन्त्रण र श्रवणशक्ति जाँच गर्नुपर्ने बताएकी छन् । 

प्रकृति दाहाल कान्तिपुरमा प्रशासन, महिला, बालबालिका र सामाजिक विषयहरुमा लेख्छिन् ।

Link copied successfully