१५ वर्ष नपुग्दै गाँजा सेवन गर्नेहरूलाई १९ पछि समस्या देखिने

बारम्बार सेवन गर्ने किशोरकिशोरीमा १८-२५ उमेरबीच मानसिक स्वास्थ्य समस्याका कारण उपचार खोज्ने सम्भावना करिब ५१ प्रतिशतले बढी देखिएको छ ।

फाल्गुन १०, २०८२

कान्तिपुर संवाददाता

People who use marijuana before the age of 15 are more likely to experience problems after the age of 19.

What you should know

काठमाडौँ — १५ वर्षको उमेर नपुग्दै गाँजा सेवन गर्ने किशोरकिशोरीमा पछि मानसिक तथा शारीरिक स्वास्थ्य समस्याको जोखिम उल्लेखनीय रूपमा देखिने एक अध्ययनले देखाएको छ ।

यस्ता किशोरकिशोरी विशेषगरी १९ देखि २५ वर्षको बीच स्वास्थ्य उपचारका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा पुग्ने सम्भावना अरूको तुलनामा धेरै देखिएको छ । यो अनुसन्धान क्यानडाको म्याकगिल विश्वविद्यालयका मनोवैज्ञानिक मासिमिलियानो ओर्री नेतृत्वमा गरिएको हो ।

यो अनुसन्धानमा जन्मदेखि युवावस्थासम्म पछ्याइएका करिब एक हजार पाँच सय बालबालिकाको तथ्यांक विश्लेषण गरिएको थियो । अनुसन्धानमा उनीहरूको पारिवारिक अवस्था, सामाजिक सम्बन्ध, व्यवहार र स्वास्थ्यसँगै १२ देखि १७ वर्षको उमेरबीच गाँजा सेवनको अवस्थालाई अध्ययन गरिएको हो । 

अनुसन्धानअनुसार करिब ६० प्रतिशत किशोरकिशोरीले किशोरावस्थामा गाँजा सेवन गरेका थिएनन् । बाँकी ४० प्रतिशतमध्ये आधाले ढिलो गाँजा सेवन सुरु गरेका थिए । उनीहरुले १७ वर्ष पुग्दासम्म महिनामा एक पटकभन्दा कम सेवन गर्ने गरेको अध्ययनका क्रमममा पाइएको थियो । 'करिब २० प्रतिशतले १५ वर्ष नपुग्दै गाँजा सेवन सुरु गरेका थिए, उनीहरुले १७ वर्ष पुग्दा महिनामा कम्तीमा एक पटक सेवन गर्ने गरेका थिए,' अध्ययनमा भनिएको छ । 

१५ वर्षअघि नै गाँजा सेवन सुरु गरी बारम्बार सेवन गर्ने किशोरकिशोरीमा १८-२५ उमेरबीच मानसिक स्वास्थ्य समस्याका कारण उपचार खोज्ने सम्भावना करिब ५१ प्रतिशतले बढी देखिएको छ । यो नतिजा पारिवारिक निगरानीको कमी, पारिवारिक तनाव, साथीसँगको सम्बन्ध, दुर्व्यहारको अनुभवजस्ता अन्य प्रभाव पार्ने कारणलाई ध्यानमा राखेर निकालिएको बताइएको छ । विशेषगरी श्वासप्रश्वाससम्बन्धी समस्या, दुर्घटना तथा अनिच्छित चोटपटक बढी देखिएका छन् । चिन्ता, तनाव वा मनोदशा नियन्त्रण गर्न गाँजामा निर्भर हुन थालेका किशोरकिशोरीहरूमा यही बानी समस्या सामना गर्ने मुख्य उपाय बन्दै जान सक्ने विज्ञहरू बताउँछन् । 

मानसिक स्वास्थ्य विशेषज्ञहरूले गाँजा सेवन कम्तीमा २५ वर्षको उमेरसम्म टार्न सुझाव दिँदै आएका छन् । उनीहरूका अनुसार यसले भविष्यमा देखिन सक्ने मानसिक, शारीरिक तथा व्यवहारजन्य जोखिम घटाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ । 

कान्तिपुर संवाददाता

Link copied successfully