वैवाहिक कन्टेन्ट क्रिएसन : आवश्यकता कि अनावश्यक खर्च ?

टिकटक र इन्स्टाग्राममा विवाहसम्बन्धी छोटा भिडियो रिल्स अपलोड गर्ने प्रवृत्ति पछिल्लो समय उल्लेखनीय रूपमा बढेको देखिन्छ । ती भिडियो कैद गर्नका लागि कन्टेन्ट क्रिएटरहरू नै व्यावसायिक रूपमा सक्रिय हुन थालेका छन् ।

फाल्गुन ८, २०८२

मोक्षदा थापा

Marriage Content Creation: Necessity or Unnecessary Expense?

What you should know

काठमाडौँ — पहिलेको समयमा विवाहका क्षणहरू दुलाहा–दुलही र उनीहरूका नजिकका आफन्त तथा साथीभाइसम्म मात्र सीमित हुन्थे । सामाजिक सञ्जालको बिस्तारसँगै अहिले भने वैवाहिक समारोह फराकिलो डिजिटल दर्शकमाझ पुग्न थालेको छ । यसको मुख्य कारण सामाजिक सञ्जाल लक्षित फोटो, भिडियो र रिल्स निर्माण गरिनु हो ।

टिकटक र इन्स्टाग्राममा विवाहसम्बन्धी छोटा भिडियो रिल्स अपलोड गर्ने प्रवृत्ति पछिल्लो समय उल्लेखनीय रूपमा बढेको देखिन्छ । 

विशेषगरी विवाहमा आमाले दुलहीको दुपट्टा मिलाइदिएको, साथीहरूले तयारीका बेला गरेको सहयोग, बुबाको भावुक अनुहार, जन्तीका रमाइला दृश्य वा पर्दापछाडिका कुराकानीका दृश्यहरू अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका हुन्छन् । यस्ता दृश्यहरू कैद गर्नका लागि विवाह कन्टेन्ट क्रिएटरहरू नै व्यावसायिक रूपमा सक्रिय हुन थालेका छन् । 

पश्चिमी मुलुकहरूमा पहिले नै लोकप्रिय भइसकेको यो चलन बिस्तारै काठमाडौंलगायत नेपालका सहरी क्षेत्रमा फैलिँदै गएको छ । क्रिएटरहरूले सामाजिक सञ्जालका लागि छोटा, आकर्षक भिडियो तयार गर्छन् । कतिपय भिडियोमा दुलाहा–दुलही वा पाहुनाहरूले गीतहरुमा लिप–सिंकसमेत गर्ने गर्छन्, जसले दृश्यलाई अझ रोचक बनाउने गर्दछ । 

काठमाडौंकी २१ वर्षीया साकुरा बस्याल ‘वेडिङ कन्टेन्ट क्रिएटर’को रूपमा सक्रिय छिन् । विगत दुई वर्षदेखि उनी यस क्षेत्रमा कार्यरत छिन् । उनका अनुसार नेपाली समाजमा विवाहलाई ठूलो उत्सवका रूपमा लिइन्छ र लामो तयारी गरिने भएकाले हरेक जोडी आफ्ना विवाहलाई यादगार बनाउन चाहन्छन् ।

उनी भन्छिन्, ‘विवाहअघि नै ग्राहकसँग छलफल गरेर कस्ता भिडियो खिच्ने भन्ने योजना बनाइन्छ । विवाहको दिन पर्दापछाडिका दृश्यहरू पनि कैद गरिन्छ । ’ छोटा भिडियोले विवाहमा उत्साह थप्नुका साथै सम्झनाहरू सुरक्षित राख्न मद्दत गर्ने उनको भनाइ छ ।

Marriage Content Creation: Necessity or Unnecessary Expense?

फोटोग्राफी र भिडियोग्राफीजस्तो औपचारिक तालिम आवश्यक नपर्ने भएकाले पनि यो पेसा युवापुस्तामाझ आकर्षक बन्दै गएको छ । धेरै दुलहीहरूले सामाजिक सञ्जालमा तुरुन्तै राख्न मिल्ने सामग्री चाहने भएकाले कन्टेन्ट क्रिएटरको माग बढ्दो छ । 

नवविवाहिता लुनिभा रञ्जितकार स्थापितका अनुसार विवाहका बेला दुलाहा–दुलही निकै व्यस्त हुने भएकाले आफैँले सबै क्षण कैद गर्न नसक्ने भएकाले कन्टेन्ट क्रिएटरको सहयोगले रमाइलो वातावरण सिर्जना हुनुका साथै विविध फोटो भिडियोहरू खिच्न सहयोग हुने बताइन् । 

तर सबैले यो नयाँ शैली रुचाएका भने छैनन् । धेरैले यसलाई अनावश्यक लगानी भनेर टिप्पणी पनि गरिरहेका छन् । विवाह बन्धनमा बाँधिन लागेकी २८ वर्षीया शुभेच्छा प्रधान परम्परागत शैलीमै फोटो तथा भिडियो खिच्न रुचाउँछिन् । ट्रेन्ड र रिल्सको प्रयोग नगरी परिवार र साथीहरूले खिचेका तस्बिर तथा भिडियोले भावनात्मक सम्बन्ध अझ गहिरो बनाउने उनको भनाइ छ । 

१८ वर्षीया अनुष्का रेग्मी अनुसार विवाह लक्षित कन्टेन्ट निर्माणले साना विधि–विधानको महत्त्व घटाउन सक्ने बताउँछिन् । उनी भन्छिन्, ‘यदि रिल्स बनाउनकै लागि कसरी उभिने, के गर्ने भनेर निर्देशन दिन थालियो भने विवाहको मौलिकता घट्छ सिन्दूरको क्षण फेरि गरौं, एङ्गल राम्रो आएन’ भन्नु अस्वाभाविक लाग्छ ।’ उनका अनुसार यसले मानिसहरूलाई स्वाभाविक रूपमा रमाउन अवरोध पुर्‍याउन सक्छ साथै अतिरिक्त खर्च गरेर सामाजिक सञ्जालका लागि छुट्टै सामग्री बनाउनु आवश्यक नहुन सक्छ भन्ने उनको धारणा छ । यसले विवाहलाई वास्तविक अनुभव भन्दा बढी ‘हाइलाइट रिल’ जस्तो बनाउन सक्छ ।

यद्यपि, केही युवाहरूले यसको विरोध गरे पनि विवाह कन्टेन्ट निर्माणले धेरैलाई रोजगारी तथा सिर्जनात्मक अवसर प्रदान गरेको छ । भविष्यमा साकुरा बस्यालजस्ता क्रिएटरहरूले यो पेसा अझ विस्तार हुने र युवाहरूका लागि सिर्जनात्मक स्वतन्त्र रोजगारीको माध्यम बन्ने आशा व्यक्त गरेका छन् । 

मोक्षदा थापा काठमाडौं पोस्टमा संस्कृति तथा जीवनशैली बिटकी प्रशिक्षार्थी हुन् ।

Link copied successfully