सुनको भाउ बढेपछि चाँदीका गहनाको क्रेज

युवापुस्ता, सहरी क्षेत्रका बासिन्दा साथै फेसनप्रेमीबीच चाँदीका गहना नयाँ ट्रेन्डका रूपमा स्थापित हुँदै गएको छ।

माघ १६, २०८२

आरती पौडेल

Silver jewelry craze as gold prices rise

What you should know

काठमाडौँ — सुनको मूल्य बढेपछि बजारमा चाँदीका विभिन्न किसिमका गहना बनाउने र लगाउने क्रेज बढेको छ। पहिलाको तुलनामा चाँदीको मूल्य पनि निकै बढेको देखिन्छ। हरेक उमेरका मानिसहरूले आफ्नो रुचिअनुसारका गहना बनाउँदै गरेको अवस्था बजारमा चाँदी किन्न लागेको भीडबाट अनुमान गर्न सकिन्छ।

सुनको मूल्य बढेसँगै ग्राहकहरू आफ्नो रुचिअनुसारका चाँदीका गहनाहरू बनाउनेतर्फ आकर्षित हुन थालेको सुन व्यवसायीहरू बताउँछन्। युवापुस्ता, सहरी क्षेत्रका बासिन्दा साथै फेसनप्रेमीबीच चाँदीका गहना नयाँ ट्रेन्डका रूपमा स्थापित हुँदै गएको छ। शुक्रबार चाँदीको भाउ तोलाको ७ हजार ६५ रहेको छ ।

किन बढिरहेको छ चाँदीप्रति क्रेज ?

उसो त नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै चाँदीको क्रेज बढ्दो छ। विद्युतीय सवारीसाधनमा चाँदीको प्रयोग हुने र  ईभी सवारीसाधनको बढ्दो प्रयोग तथा मागका कारण मानिसहरूको आकर्षण चाँदीतर्फ बढेको मानिन्छ। त्यसैगरी भविष्यको सोच र योजना साथ चाँदीमा लगानी गर्नेहरूको संख्या पनि निकै बढेको छ।

सेलेब्रिटी, इन्फ्लुएन्सर, पप सिंगरहरूको रोजाइमा चाँदीका गहनाहरू परेपछि युवाहरूमा चाँदीप्रतिको आकर्षण बढेको देखिन्छ। बलिउड अभिनेता सलमान खानले लगाउने चाँदीको ब्रासलेट निकै चर्चित छ। निकै वर्षअगाडिदेखि उनले हातमा लगाउँदै आएको उक्त ब्रासलेट चाँदीका गहना मन पराउने र फेसनमा रुचि राख्नेहरूका लागि निकै महत्त्वपूर्ण मानिन्छ। सलमान खानको हातमा लगाएको उक्त ब्रासलेटको डिजाइन लिएर धेरै ग्राहकहरू आउने गरेको व्यवसायीहरू बताउँछन्।

चाँदीलाई शुद्धताको प्रतीकका रूपमा चिनिन्छ। चाँदीका गहनाले कुनै पनि व्यक्तिलाई सुन्दर र स्टाइलिस देखिन ठूलो मद्दत पुर्‍याउँछ।

नेपाली बजारमा ग्राहकको रोजाइमा कस्ता चाँदीका गहना परेका छन् ?

नेपाली बजारमा चाँदीका ब्रासलेट, औँठी, मुन्द्रा, झुम्का, पाउजु, सिक्री, क्लिप, चाँदीका सिक्का र बिस्कुट किन्ने ग्राहकहरू बढ्दै गएका छन्। त्यसैगरी चाँदीका विभिन्न किसिमका सजावट सामग्री साथै भाँडाकुँडाहरू पनि धेरै मात्रामा ग्राहकको रोजाइमा पर्ने गरेका छन्।

के रुचि तथा परम्परासँग जोडिएको भएर नेपालमा चाँदीको लोकप्रियता सधैं कायम रहिरहेको हो ?

नेपालका विभिन्न जातजातिमा चाँदीका गहना, भाँडाकुँडा साथै धार्मिक सामग्रीका रूपमा चाँदीको प्रयोग गरिन्छ। नेपालमा चाँदी संस्कार, परम्परा र आधुनिक फेसनसँग जोडिएको भएकाले पनि यसको लोकप्रियता कायम रहेको छ।

महिला र पुरुषमध्ये कसको रोजाइमा चाँदी पर्छ ?

चाँदीका गहनाप्रति पुरुषभन्दा महिलाको आकर्षण बढी रहेको व्यवसायीहरू बताउँछन्। तर पुरुषहरू पनि पहिलाको तुलनामा अहिले चाँदीका सामानहरू बनाउने गरेको व्यवसायीहरूको भनाइ छ।

अहिले महिलाहरूको रोजाइमा चाँदीको कुन गहना परेको छ ?

महिलाहरूको रोजाइमा चाँदीको ब्रासलेट, साडी पिन, औँठी, झुम्का, सिक्री, क्लिप, पाउजु, हातमा लगाउने विभिन्न किसिमका बाला तथा घाँटीमा लगाउने साना वा ठूला विभिन्न डिजाइनका नेकलेस पर्दछन्।

सबैभन्दा बिक्री धेरै हुने गहना कुन हो ?

अहिले विवाह गरेका महिलाहरूको रोजाइमा पर्ने चाँदीका गहनामध्ये एक हो—चाँदीको रानीहार। यो टिकटकदेखि फेसबुक र इन्स्टाग्रामसम्म भाइरल भएको चाँदीका गहनामध्ये एक हो।

एक समय सुनको रानीहार बनाउने क्रेज निकै देखिन्थ्यो। सुनको मूल्य आकासिएपछि तथा चाँदी किन्ने ट्रेन्ड चलेपछि अहिले महिलाहरू चाँदीको रानीहार बनाउनेतर्फ आकर्षित भइरहेका देखिन्छन्। मनपर्ने डिजाइन र चाहेको तौलअनुसार रानीहार बनाउन सकिन्छ।

चाँदीको रानीहार कहिले र कुन कपडासँग मिलाएर लगाउन सकिन्छ ?

विवाह, पार्टी, पूजा, ब्रतबन्ध तथा विभिन्न चाडपर्वमा महिलाहरूले सजिलै चाँदीको रानीहार लगाउन सक्छन्। लम्बाइका हिसाबले लामो हुने भएकाले साडी वा कुर्तासँग लगाउँदा निकै आकर्षक देखिन्छ। आफ्नो जातिअनुसारको पोसाकमा लगाउने संख्या पनि बढेको छ। अहिले लेहेंगासँग पनि महिलाहरूले लगाउने गरेको देखिन्छ। तर हरेक कपडासँग भने रानीहार सुहाउँदैन। आफूले लगाएको कपडाअनुसार तथा चाडपर्वलाई ध्यानमा राखेर लगाउनुपर्छ।

कति तौलसम्मको चाँदीको रानीहार बनाउन सकिन्छ ?

रानीहार २ तोलादेखि माथि बनाउन सकिन्छ। ३ देखि ५ तोलासम्मको चाँदीको रानीहार धेरैको रोजाइमा पर्छ।चाँदीको दैनिक मूल्यका आधारमा ज्याला र जर्ती जोडेर तौलअनुसार मूल्य निर्धारण हुन्छ। ३ तोलाको रानीहार बनाउँदा करिब १६ हजारदेखि ५ तोलाको ८० हजार रुपैयाँसम्मको धेरैको रोजाइमा पर्छ। त्योभन्दा कम वा बढी मूल्यमा पनि अर्डरअनुसार सजिलै बनाउन सकिन्छ।

सहरका सुनचाँदी पसलदेखि अनलाइन प्लेटफर्महरूबाट चाँदीका रानीहार तथा अन्य गहनाहरू सजिलै किन्न सकिन्छ। चाँदी मानव सभ्यताले सबैभन्दा पहिला चिनिएको तथा प्रयोग गरिएको धातुमध्ये एक मानिन्छ। चाँदीको शुद्धता, चमक, टिकाउपन, औषधीय गुण र आर्थिक मूल्यका कारण यसले हजारौँ वर्षदेखि मानव जीवनमा महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ।

-काठमाडौं टोखामा रहेको पाल्पा सुनचाँदी पसलकी सुनचाँदी व्यवसायी अस्मिता सुनारसँग गरिएको कुराकानीको आधारमा।

आरती पौडेल

Link copied successfully