सानो कफी सपको आकर्षक डिजाइन

कफीको स्वादसँगै समय बिताउने संस्कृतिले पछिल्लो समय टोल–टोलमा कफी सपहरूको संख्या बढ्दो छ । सानो देखिए पनि कफी सपको डिजाइन र बनावटले ग्राहक आकर्षणमा ठूलो भूमिका खेल्छ ।

माघ १३, २०८२

कान्तिपुर संवाददाता

Attractive design of a small coffee shop

What you should know

काठमाडौँ — कफी सप भन्नासाथ साथीभाइसँग भेटघाट गर्ने, हल्का कुराकानी गर्ने वा औपचारिक–अनौपचारिक मिटिङ बस्ने आरामदायी स्थानको तस्बिर आउँछ ।

 कफीको स्वादसँगै समय बिताउने संस्कृतिले पछिल्लो समय टोल–टोलमा कफी सपहरूको संख्या बढ्दो छ । सानो देखिए पनि कफी सपको डिजाइन र बनावटले ग्राहक आकर्षणमा ठूलो भूमिका खेल्छ । सीमित स्थानलाई समेत सृजनात्मक रूपमा प्रयोग गरेर आकर्षक कफी सप बनाउन सकिन्छ ।

भुइँको सजावट र लेआउट

कफी सपमा प्रवेश गर्नेबित्तिकै ग्राहकले बस्ने ठाउँ, अर्डर गर्ने काउन्टर र आवतजावतको बाटो सजिलै बुझ्ने गरी भुइँको लेआउट तयार गर्नुपर्छ । पहिलो नजरमै कफी सपको वातावरणले ग्राहकलाई आकर्षित गर्नुपर्छ । ग्राहक मात्र होइन, कर्मचारीहरूलाई पनि सहज रूपमा काम गर्न मिल्ने गरी डिजाइन गर्नु आवश्यक हुन्छ । प्रयोग हुने सामग्रीहरू व्यवस्थित र साइज मिलाएर राख्दा स्थानको सदुपयोग हुन्छ ।

फर्निचर र सामग्रीको उपयुक्त छनोट

कफी सपको आकारअनुसार फर्निचर तथा अन्य सामग्री छनोट गर्नुपर्छ । धेरै ठूला वा भारी फर्निचरले सानो स्थान झनै साँघुरो देखाउन सक्छ । त्यसैले सफा गर्न सजिलो, किफायती र आवश्यक पर्दा सजिलै फेर्न मिल्ने फर्निचर उपयुक्त हुन्छ । डिजाइन र प्रयोग दुवै हिसाबले व्यवहारिक सामग्री रोज्नु राम्रो हुन्छ ।

भण्डारणका लागि ठाडो स्थानको प्रयोग

सानो कफी सपमा भुइँको ठाउँ बचाउन ठाडो (भर्टिकल) स्थानको प्रयोग अत्यन्त उपयोगी हुन्छ । भित्तादेखि सिलिङसम्मका सेल्फ, र्‍याक वा क्याबिनेट प्रयोग गर्दा धेरै सामग्री सजिलै भण्डारण गर्न सकिन्छ । यसले ठाउँ मात्र बचत गर्दैन, कफी सपको समग्र डिजाइनलाई पनि आकर्षक बनाउँछ ।

लाइटिङको सही व्यवस्थापन

कफी सपमा सोझै घाम पर्ने ठाउँमा उपकरण वा सामग्री राख्दा तापक्रम बढ्न सक्छ । त्यसैले प्राकृतिक उज्यालो र कृत्रिम लाइटिङको सन्तुलन मिलाउनुपर्छ । काम गर्दा आँखालाई असहज नहुने, वातावरणलाई न्यानो र आरामदायी बनाउने खालका बत्ती जडान गर्नु उपयुक्त हुन्छ । सही लाइटिङले ग्राहकको बसाइलाई थप सुखद बनाउँछ ।

वालपेपर र भित्ताको सजावट

सानो कफी सपलाई आकर्षक देखाउन वालपेपरको प्रयोग प्रभावकारी हुन्छ । क्यानभास प्रिन्ट गरिएको वालपेपरले सानो स्थानलाई पनि ठूलो र खुला देखाउन सहयोग गर्छ । यसका अतिरिक्त, सादा पेन्टिङ, कलात्मक चित्र वा थिमअनुसारका सजावटले कफी सपलाई फरक पहिचान दिन सक्छ ।

रंगको मनोवैज्ञानिक प्रभाव

कफी सप डिजाइनमा रंग छनोट अत्यन्त महत्त्वपूर्ण हुन्छ । रंगले ग्राहकको मनोविज्ञान, बसाइको समय र अनुभवमा प्रभाव पार्छ । नेचुरल टोन, सेतो, पहेंलो र लाइट ग्रे रंगले सानो स्थानलाई फराकिलो देखाउँछ ।

–पहेंलो रंगले खुसी र सकारात्मक ऊर्जा दिन्छ

–ब्राउन रंगले आराम र आनन्दको अनुभूति गराउँछ

–सेतो रंगले सफा, स्वच्छ र खुला वातावरण देखाउँछ

आर्किटेक्ट इन्जिनियर लैला श्रेष्ठसँगको कुराकानीमा आधारित ।

कान्तिपुर

Link copied successfully