स्प्रिंगर ओपन जर्नलको रिपोर्ट अनुसार, इलेक्ट्रोनिक ग्याजेट्सको अत्यधिक प्रयोगले आँखाको समस्या, घाँटी र कम्मर दुखाई तथा लगातार थकानको प्रमुख कारण बन्दै गएको छ ।
What you should know
काठमाडौँ — डिजिटल प्रविधिले जीवनलाई सहज बनाए पनि यसको अत्यधिक प्रयोगले मानिसको स्वास्थ्यमा गम्भीर असर पार्न थालेको विभिन्न अध्ययन र रिपोर्टहरूले देखाएका छन् ।
स्प्रिंगर ओपन जर्नलको रिपोर्ट अनुसार, इलेक्ट्रोनिक ग्याजेट्सको अत्यधिक प्रयोगले आँखाको समस्या, घाँटी र कम्मर दुखाई तथा लगातार थकानको प्रमुख कारण बन्दै गएको छ । दिनभर स्क्रिन हेर्दा आँखा पोल्ने, धमिलो देखिने, टाउको दुख्ने, घाँटी र ढाड दुख्ने समस्या अहिले सामान्य भइसकेको छ ।
रिपोर्ट अनुसार, स्क्रिनबाट निस्कने निलो प्रकाशका कारण मानिसको निन्द्रा दृष्टि र मानसिक शान्ति प्रभावित भइरहेको छ । बिहान मोबाइलको घन्टीसँगै सुरु हुने दिन राति मोबाइल स्क्रिनमै टुंगिने प्रवृत्तिले स्वास्थ्य जोखिम बढाएको विज्ञहरूको भनाइ छ । समयको ठूलो हिस्सा सामाजिक सञ्जालका रील्स र गेमिङमा बित्दा शारीरिक गतिविधि घट्दै गएको छ ।
प्रविधिको संसार : हरेक हातमा स्क्रिन
अध्ययनअनुसार हाल औसतमा हरेक व्यक्तिसँग दुईभन्दा बढी डिजिटल उपकरण–जस्तै स्मार्टफोन, ट्याबलेट, ल्यापटप, स्मार्ट वाच, गेमिङ कन्सोल र स्मार्ट टिभिरहेका छन् । यी उपकरणले पढाई, रोजगारी, मनोरञ्जन र किनमेललाई सजिलो बनाए पनि यसको मूल्य मानिसको स्वास्थ्यले तिर्नुपरेको रिपोर्टमा उल्लेख छ ।
उमेर अनुसार देखिँदै प्रभाव
बच्चा र किशोर (५–१७ वर्ष)
बंगलादेश र भारतमा गरिएको अध्ययनले ३ घण्टाभन्दा बढी स्क्रिन प्रयोग गर्ने बच्चाहरूमा मोटोपना, निन्द्रा समस्या, ध्यानको कमी र सामाजिक अलगाव बढ्दै गएको देखाएको छ । रिपोर्ट अनुसार लगातार गेमिङ र सामाजिक सञ्जाल प्रयोगले डिजिटल लतको जोखिम बढाइरहेको छ ।
युवा र वयस्क (१८–५० वर्ष)
यस उमेर समूहमा आँखाको थकान, घाँटी–ढाड दुखाई, निन्द्राको कमी र मानसिक तनावका समस्या तीव्र रूपमा बढ्दै गएको रिपोर्टमा उल्लेख छ । लामो समयसम्म मोबाइल र कम्प्युटर प्रयोग गर्दा शारीरिक सक्रियता घट्ने र तनाव बढ्ने खतरा देखिएको छ ।
वृद्ध (५० वर्षभन्दा माथि)
रिपोर्ट अनुसार वृद्धहरूमा आँखाको सुक्खापन, निन्द्राको समस्या, शरीर कडापन र एक्लोपनको भावना बढ्दै गएको छ । डिजिटल उपकरणको सीमित र उद्देश्यपूर्ण प्रयोग नगर्दा मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्ने चेतावनी दिइएको छ ।
सन्तुलित प्रयोग आवश्यक
स्वास्थ्य विज्ञहरूका अनुसार प्रविधि आफैंमा खराब नभए पनि यसको असन्तुलित प्रयोगले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । त्यसैले स्क्रिन टाइम सीमित गर्ने, शारीरिक गतिविधि बढाउने र डिजिटल डिटक्स अपनाउने आवश्यकता रहेको रिपोर्टले औंल्याएको छ ।
