खासगरी जाडोमा न्यानो र स्टाइलका लागि उपयुक्त मानिने हूडीका विभिन्न प्रकार र डिजाइनले युवादेखि अन्तर्राष्ट्रिय सेलेब्रिटीसम्मलाई आकर्षित गरिरहेको छ ।
What you should know
काठमाडौँ — जाडोयाममा हूडीको क्रेज बढेसँगै यसको लुक्सलाई कसरी स्टाइलिस बनाउने भन्नेतिर धेरैको ध्यान जान्छ । महिला, पुरुष दुवैको रोजाइमा पर्ने कपडामध्यको एक हो हूडी ।
युवा हुन् वा वयस्क जाडोको समयमा सबैले न्यानोको लागि वा स्टाइलको लागि हरकोहीले हूडी रोज्दै आएका छन् ।
बजारमा विभिन्न डिजाइनका हूडी पाइन्छन् । प्राय: हूडी युनिसेक्स पाइन्छन् । जुन महिला र पुरुष दुवैले लगाउन मिल्छ । रंगहरुमा सबैभन्दा धेरै लगाइने कालो, खैरो, निलो, सेतो, मरुन पर्छन् । त्यसबाहेक अन्य रंगका हूडी पनि बजारमा प्रशस्त पाइन्छन् । क्रिसमसको समयमा सबैभन्दा धेरै रातो हूडीको व्यापार भएको कपडा व्यवसायी बताउँछन् । हूडी चाहेअनुरुपको हरेक रंगमा पाइने भएर पनि यो हरेक उमेर समूहका व्यक्तिको रोजाइमा पर्न गएको हो । हूडीलाई सदाबहार फेसनमा रहिरहने कपडाको रूपमा समेत चिनिन्छ ।
विश्वका धनी व्यक्ति हुन् वा अन्तर्राष्ट्रिय सेलेब्रिटी, पप गायक, इन्फ्लुएन्सरदेखि हरेकको रोजाइमा पर्ने भएर पनि यसले सर्वसाधारणको पनि ध्यान तान्न सकेको बुझिन्छ । सेलेब्रिटीदेखि सर्वसाधारणले गर्मी याममा होस् वा जाडोमा हरेक स्टाइलमा लुक क्रिएट गरेको देख्न सकिन्छ । यसको कपडा फ्लीस वा बाक्लो जाडोको लागि उपयुक्त हुन्छ । हल्का वा पातलो अन्य कपडासँग लेयरिङ गरेर लाउन पनि सकिन्छ । साथै गर्मीमा हूडी मात्र लगाउन पनि सकिन्छ ।
हूडीको रोजाइ जसरी व्यापक छ यसको प्रकार पनि उत्तिकै धेरै छन् ।
जिपअप हूडी
यसमा अगाडिबाट जिप राखिएको हुन्छ । जुन सजिलै खोल्न लगाउन मिल्छ । यो कलेज होस् वा अन्य कुनै काममा सजिलै लगाउन सकिन्छ । यो दैनिक क्याजुअल पहिरनको लागि रोज्न सक्नुहुन्छ ।
पुलओभर हूडी
यो हूडी माथिबाट लगाउने हो । यो साधारण कुनै झन्झट बिना नै सजिलै लगाउन सकिन्छ ।
फ्लीस हूडी
फ्लीस हूडी अहिले युवाको रोजाइमा पर्ने हूडीमध्येको एक हो । भित्र न्यानो हुने गरी फ्लीस राखिएको हुन्छ । जसले तातो बनाइराख्न मद्दत गर्छ । बजारमा यसका विभिन्न डिजाइन र प्रिन्ट सजिलै पाउन सकिन्छ ।
ओभर साइज हूडी
अहिले युवाहरुमाझ ओभरसाइज हूडीको लोकप्रियता बढ्दै गएको छ । उनीहरू ओभरसाइज हूडी लगाउँदा आफूलाई सहज हुनेसमेत बताउँछन् ।
क्रप हूडी
क्रप हूडी महिलाहरुको रोजाइमा पर्ने हूडी हो । उनीहरुले अन्य कपडासँग हूडी मिलाएरसमेत स्टाइल बनाउँछन् ।स्कट,प्यान्ट, ट्रयाकसँग क्रप हूडी मिलाएर लाउन सकिन्छ ।
हूडी धेरै प्रकारका हुन्छन् । हूडीमा प्रयोग हुने (मेटेरियल्स)कपडा पनि फरक फरक हुन्छन् । यसको डिजाइन, प्रिन्ट, खोल्ने शैली क्वालिटी र कम्पनीअनुसार फरक फरक हुन्छ ।
हूडीको सहयोगमा कस्ता लुक क्रिएट गर्न सकिन्छ ?
एयरपोर्ट लुक
हूडी लगाउँदा निकै सहज हुने कुनैपनि प्रकारको अप्ठ्यारो महसुस नहुने भएका कारण आफ्नो पहिरनलाई कम्फर्ट क्रिएट गर्न माथि हूडी लगाएर तल ट्र्याक वा प्यान्ट साथै अन्य कपडासँग लगाउन सकिन्छ । यो लगाएर देश तथा विदेश जानको लागि एयरपोर्ट लुक क्रिएट गर्न सकिन्छ ।
कलेज लुक
ट्रयाक, प्यान्टसँग कलेजको लागि हूडी उपयुक्त हुन्छ । हूडीले क्लासिक क्याजुअल लुक क्रिएट गर्न सकिन्छ ।
कर्न्सट लुक
कुनैपनि कर्न्सट हेर्न जानको लागि हूडी लुक कूल देखिन्छ । त्यसैले बुट, ग्रन्च प्यान्टसाथै अन्य कपडासँग मिलाएर लगाउन सकिन्छ ।
साथीसँग घुम्न जाँदा, साधारण कुनै कार्यक्रममा जाँदा, लामो दुरीको यात्रा गर्दा होस् वा छोटो दुरीको यात्रा गर्दा साथै दैनिक जीवनमा कम्फर्टको लागि लगाउन सकिन्छ ।
हूडी लगाउने तरिका :
लेयरिङ गरेर लागाउने तरिका :
जाडोमा लेयरिङ निकै आवश्यक र महत्त्वपूर्ण हुन्छ ।
–भित्र हूडी लगाएर बाहिर ज्याकेट लगाउँदा आकर्षक देखिनुको साथै कूल पनि देखिन्छ ।
–भित्र हूडी लगाएर बाहिर ओभरकोट लगाउने हूडीको टोपीलाई बाहिर पार्ने यसले न्यानोको साथै स्मार्ट साथै क्याजुअल लुक क्रिएट गर्छ । अन्तर्राष्ट्रिय सेलेब्रिटीले जाडोमा ओभरकोटसँग हूडी लुक क्रिएट गरेको हामीले सजिलै देख्न पनि सक्छौँ ।
हूडी विभिन्न कपडामा मिलाएर लगाउँदा आफूले छानेको अन्य ज्याकेट, कोटसँग आफ्नो हूडीको कलर मिलाउन निकै आवश्यक छ ।
साथै हूडीसँग जुत्ता, बुट कस्ता लगाउने यो कुरा पनि निकै ध्यान दिन आवश्यक हुन्छ । साधारण हूडीमात्र लगाउँदा जस्तो जुत्ता र बुटसँग पनि लगाउँदा राम्रो देखिन्छ । तर हूडी लेयरिङ गर्दा ख्याल राख्नुपर्छ ।
हूडीलाई हामीले लगाउँदा साना कुराले पनि ठूलो प्रभाव पारेको हुन्छ । क्याप, सनग्लास, घडी साथै ब्यागले पनि हामीले लगाएको हूडी आकर्षक देखाउन ठूलो भूमिका खेल्छन् । हूडीसँग क्याप लगाउँदा निकै आकर्षक लुक क्रिएट गर्न सकिन्छ । प्राय: सेलेब्रिटीले हूडीसँग क्याप लगाएरको हामीले सामाजिक सञ्जालमा देख्न सक्छौँ ।
नेपाली बजारमा १ हजार देखि ७ हजारसम्मको हूडीहरु धेरै व्यापार हुने कपडा व्यवसायीहरू बताउँछन् । नेपालमा पनि क्वालीटी र ब्रान्ड अनुसार यो भन्दा धेरै मूल्य पर्ने पनि पाइन्छन् ।
अन्तर्राष्ट्रिय बजारमा यसको ब्रान्ड र क्वालिटीको आधारमा निकै महँगा हूडीसमेत पाइन्छन् ।
हूडीको इतिहास हेर्ने हो भने प्राचीन कालमा हुडयुक्त पहिरन हजारौं वर्ष पुरानो मानिन्छ । ईशापूर्व १३ औं शताब्दीका असिरियन लेखहरुमा टाउको ढाक्ने हूडीजस्ता पहिरनको उल्लेख भएको पाइन्छ । उक्त पहिरन धार्मिक, सांस्कृतिक साथै संरक्षणका उद्देश्यले प्रयोग गरिने गरेको मान्यता छ ।
आधुनिक हूडीको विकास
अहिले फेसनको रूपमा भित्रिएको हूडीको सुरुवात सन् १९३० को दशकतिर भएको मानिन्छ ।
अमेरिकाको एक च्याम्पियन नामक कम्पनीले चिसो मौसममा काम गर्ने कामदारका र मजदुरहरूलाई न्यानो राख्न स्वेटरमा हुड थपेर डिजाइनको विकास गरेको थियो भन्ने मान्यता छ । त्यसपछि विभिन्न खेलकुद टोली, सेनामा कार्यरत, विश्वविद्यालयका विद्यार्थीहरुबीच लोकप्रिय हुँदै गएको थियो । हिप–हप र स्ट्रिट कल्चरले हूडीलाई झन् व्यापक रूपमा चिनाउन मद्दत गरेको थियो ।
–प्रसिद्धि कलेक्सनकी शशी बुढाथोकीसँगको कुराकानीमा आधारित
