जाडोमा हिटर तथा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह

जाडोयाममा शरीर र कोठालाई न्यानो राख्न आगो ताप्ने, कोइला बाल्ने, हिटर बाल्ने र गिजरको प्रयोग गरिने हुँदा यस्ता उपकरणहरूको प्रयोगमा आवश्यक सावधानी अपनाउन चिकित्सकले अनुरोध गरेका छन् ।

पुस १९, २०८२

रासस

Caution urged when using heaters and geysers in winter

What you should know

काठमाडौँ — जाडोयाम सुरु भइसकेको छ । तराईमा शीतलहरका कारण जीवनयापन कठिन बनिरहेको छ ।

जाडोयाममा शरीर र कोठालाई न्यानो राख्न आगो ताप्ने, कोइला बाल्ने, हिटर बाल्ने र गिजरको प्रयोग गरिने हुँदा यस्ता उपकरणहरूको प्रयोगमा आवश्यक सावधानी अपनाउन चिकित्सकले अनुरोध गरेका छन् ।

यी उपकरणहरुको प्रयोगमा सावधानी नअपनाउँदा बर्सेनि मृत्यु र अस्पतालमा भर्ना हुने घटनाहरू घटिरहेका छन् । केही दिनअघि मात्र सुर्खेतमा कोइला बालेर सुतेको अवस्थामा एक ३८ दिनको शिशुको मृत्यु भएको छ भने परिवारका तीन जना बेहोससमेत भए ।

न्यानो बनाउने विभिन्न उपकरणहरूको प्रयोग गर्दा घरमा हावा सञ्चालन प्रणाली राम्रो नभएमा कोठामा ‘कार्बन मोनोअक्साइड’ जस्तो विषाक्त ग्यास जम्मा हुन सक्छ । यो ग्यास गन्ध, रङ र स्वादरहित हुन्छ जसको सम्पर्कमा लामो समयसम्म रहँदा गम्भीर स्वास्थ्य समस्या हुने वा ज्यान जान सक्दछ ।

कन्सलटेन्ट जेनेरेल फिजिसियन डा. विवेकराज पौडेल भन्छन्, 'आगो, कोइला बल्न, ग्यास गिजर चलान अक्सिजन चाहिन्छ । त्यसले बलेर निक्लिने बाइप्रोडक्ट चाहिँ ‘कार्बोन डाइअक्साइड’ र कार्बोन मोनोअक्साइड’ हो । यी दुवै ग्यास बाहिर वातावरणमा मिसिन्थ्यो भने खासै फरक पर्थेन । बन्द कोठामा अक्सिजन सकिएर यी दुई ग्यास मात्र हुँदा हाम्रो शरीरले त्यो लिन बाध्य हुन्छ ।' उनका अनुसार यसका कारण मुटुको चालमा गडबड आउने, होसमा नहुने, सास फेर्न नसक्ने, रगतमा समस्या, एसिडको मात्रा बढ्ने जस्ता खालका अवस्थाहरु सिर्जना गर्न सक्छ ।

डा. पौडेल ती अवस्थामा फसेकालाई जति सक्दो छिटो उद्धार गरेर बाहिरी वातावरणमा राख्ने र अस्पतालमा ‘हाइ फ्लो’ अक्सिजनमा राख्नुपर्ने बताउँछन् । उनी भन्छन्, 'घटना थाहा पाइसकेपछि  सकेसम्म छिटो उद्धार गर्नुपर्छ जसले गर्दा तत्कालीनका साथै दीर्घकालीन असरबाट बचाउन सकिन्छ । दीर्घकालीनमा कसैकोमा पहिलाको जस्तो चनाखोपन, मानसिक अवस्था छिटो छरितो नहुने र भुल्ने समस्या देखिन सक्ने हुन्छ ।'

बर्सेनि यस्ता खालका दुर्घटना बढे पनि सर्वसाधारणहरु अझै यसबारे सचेत हुन नसकेको विज्ञ बताउँछन् । 'विभिन्न विद्युतीय उपकरणका साथै कोइला बाल्ने, आगो ताप्ने काम गर्नु छ भने बन्द कोठा राम्रो होइन । कोठा तथा बाथरुममा भेन्टिलेसन हुुनुपर्छ । सकेसम्म शरीर न्यानो राख्न न्यानो कपडा लगाउने, ओढ्ने चिजहरु प्रयोग गर्नुपर्छ । सुत्नुअघि कोइला निभाएर मात्र सुत्ने । यो मात्र नभइ हरेक सामानको प्रयोग गर्दा बन्द गरेर सुत्नु सबैभन्दा उत्तम उपाय हो', डा. पौडेल सुझाउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै जाडोमा आगो ताप्दा, हिटर चलाउँदा वा गिजरको प्रयोग गर्दा निम्न सावधानीहरु अपनाउन आग्रह गरेको छ :

– हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने ।

– कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्ने ।

– आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामाग्री नजिकै नराख्ने ।

– आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउने ।

– हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्ने ।

– सुत्नुअघि अनिवार्य रूपमा हिटर बन्द गर्ने ।

– गिजरको मुख्य मेसिनलाई बाथरूम बाहिर खुला ठाउँमा जडान गर्ने । 

– गिजर खोलेर लामो समयसम्म बाथरूममा नबस्ने ।

– गिजर प्रयोग गरेर नुहाउँदा सम्भव भएसम्म बाथरूमको झ्याल बन्द नगर्ने ।

रासस

Link copied successfully